डाँडाहरूलाई बाक्लो तुँवालोले ढपक्क ढाकेको थियो। बाहिरी जिल्लाबाट झिकाइएका कामदारहरूले छेउछाउका ढुंगा फोर्दै छप्पनी छापेर बनाएका नयाँ सिँढीहरू सेतै कुहिरोमा गएर टुंगिन्थे। आफूसँगै हिँडेको साथी चार पाइला अघि हिँडे कुहिरोमै बिलाउँथ्यो। धुँवाजस्तै रगमगिएको कुहिरो आँखैअघिबाट बाँकटे हानेर जान्थ्यो बटुवालाई जिस्क्याउँदै।
यत्तिकैमा छक्याएजसरी कुहिरो स्वाट्टै हट्यो। अहिलेको अहिल्यै कुहिरो कता गयो भनेर सोच्न नपाउँदै आँखैअघि १८० डिग्रीमा हिमाल खुल्यो।
'माई... गड...!' हत्केलाले वाल्ल परेको मुख छोप्दै गर्दा मेरो मुखबाट आश्चर्यको आलाप फुत्कियो।
त्यसपछि चउरको घाँसमा थचक्कै बसेर मैले पहिलोपटक आफैंलाई सोधेँ – हिमालमा के छ? हिमालमा के छ, हँ?
हिमालमा के छ र! म जन्मेको ठाउँमा बार्दलीको खाटबाटै हिमाल देखिन्थ्यो। दैलो,
आँगनीको डिल, भैंसीको भकारो, सुन्तलाको रूख जताततैबाट हिमाल देखिन्थ्यो। हामीले झप्प परेको सिमालीको कुचोले सिनित्त पारेर आँगन बढार्दै गर्दा घामका सुन्तले किरण हिमालको चुचुरोबाट तल झर्दै हुन्थे।
हामी चिचिला कल्याङबल्याङ गर्दै कक्षाबाट खाजा खान निस्कँदा हिमाल आफ्ना वरपर टुक्राटाक्री बादलका गुच्छा भेला पारेर घाममा मस्त पहार ताप्दै हुन्थ्यो।
हामीले बडहरको रूखबाट घाँसका डाली झार्दै गर्दा घामका किरण हिमालसित बिदा मागेर घर जाने तरखर गर्दै हुन्थे।
हामीले दिनहुँ आँगन बढार्नु र घाम लाग्नुजस्तै सामान्य थियो हिमाल त्यहाँ हुनु र देखिनु।