एमाले अध्यक्ष ओलीको अपील– ‘देश विकासको तथ्याङ्क उपलब्ध हुने जनगणनालाई पूर्ण रुपमा सफल पारौँ’

File Photo
File Photo

नेकपा एमालेले बिहीबार (कात्तिक २५) बाट देशव्यापी रुपमा सुरु हुने राष्ट्रिय जनगणनालाई सघाउन आफ्ना नेता–कार्यकर्तासहित देशवासीलाई आह्वान गरेको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एक सन्देश जारी गर्दै यस्तो अह्वान गरेका हुन्।

राष्ट्र विकासका लागि आवश्यक पर्ने महत्वपूर्ण तथ्यांक उपलब्ध गराउने जनगणनाजस्तो महाअभियानको पूर्ण सफलताको कामना गर्दै उनले भनेका छन्, ‘राणाकालिन समयमा राज्यलाई कर तिर्ने नागरिकहरुको सूची तयार गर्नका लागि सुरुवात गरिएको जनगणनाको व्यापकता अहिले धेरै बढेको छ। नेपालमा जनगणना सुरुवात भएको १ सय १० वर्षको अवधिमा जनगणनामा लिइने सूचनामा धेरै परिवर्तन भइसकेको छ।’

ओलीका अनुसार, जनगणनाले कुन ठाउँमा कति मानिसको बसोबास छ। कुन समुदायका र कुन उमेरका मानिसको बसोबास छ। शिक्षा, स्वास्थ्य र मानव विकासको अवस्था के छ भन्ने देशैभरिका नागरिकको सुचना एकै पटक उपलब्ध गराउँदछ। त्यति मात्र होइन देशमा रोजगार, बेरोजगार नागरिक कति छन्, वैदेशिक रोजगारीमा छन्यी सबै जानकारी जनगणनाबाट नै प्राप्त हुन्छ। 

केन्द्रीय तथ्यांक विभागले मूल तथा सहायक गरी ८० वटा प्रश्नहरुमार्फत् समाजका विभिन्न अवस्थाहरुको बारेमा एकीकृत रुपमा जानकारी लिँदैछ। ‘यिनै जानकारीका आधारमा निर्माण भएका तथ्यांकको प्रयोग गरेर हामीले लक्ष्यित वर्गको उत्थानका लागि यथार्थपरक योजना बनाउन सक्दछौँ’, ओलीले भनेका छन्, ‘त्यति मात्र होइन, पन्ध्रौँ योजनामार्फत् नेपाल सरकारले लिएको लक्ष्य र सन् २०३० सम्म नेपालले हासिल गर्नुपर्ने शसहस्राब्दी विकास लक्ष्यको कुन चरणमा हामी पुग्यौं भन्ने कुरा स्पष्ट तस्विर प्राप्त गर्ने आधार पनि जनगणनामार्फत् आउने छ।’

ओलीले भनेका छन्,‘यसपालिको जनगणनामा सामुदायीक प्रश्नावली मार्फत पनि हाम्रा वडाहरुमा भएका सामुदायिक भवन र अन्य भौतिक पूर्वाधार र सरकारी सेवामा पहुँचको अवस्थाको पनि जानकारी लिइँदैछ। यसले हाम्रा स्थानीय तहहरुलाई आफ्ना नागरिकलाई सहज सेवा प्रवाह गर्नका लागि अहिलेको पूर्वाधारलाई कसरी विस्तार गर्ने भन्ने महत्वपूर्ण जानकारी पनि उपलब्ध हुनेछ।’

१२ औं राष्ट्रिय जनगणना संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो जनगणना पनि भएको उल्लेख गर्दै भनेका छन्,‘हामीले संघीयता अवलम्बन गरिसकेपछि यसले जनतालाई राज्यले उपलब्ध गराउने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन के कस्तो रणनीति अपनाउनु पर्दछ भन्ने मार्ग निर्देशन जनगणनाको तथ्यांकबाट उपलब्ध हुनेछ। त्यसैले जनगणना प्रयोजनका लागि तपाईं हाम्रो घरमा आउने गणकलाई सही विवरण टिपाएर सबैले सहयोग गरौं।’

उनले पार्टीपंक्तिलाई समेत यसमा लागि पर्न अपील गरेका छन्। उनले भनेका छन्,‘म सम्पूर्ण नेकपा (एमाले) का नेता, कार्यकर्ता, जनप्रतिनिधीहरु लगायत सम्पूर्ण दिदिबहिनी तथा दाजुभाईहरुलाई जनगणनामा खटिएका कर्मचारी (गणक)लाई पूर्ण रुपमा सहयोग गर्न, सबैलाई सही विवरण टिपाउने सन्देश प्रवाह गर्न र जनगणनालाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्न हार्दिक अपील गर्दछु।’

प्रकाशित मिति: : 2021-11-11 07:00:00

प्रतिकृया दिनुहोस्