विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठ पुग्दा सेवाग्राहीको गुनासा नै गुनासा 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षतर्फको श्रम डेस्कको अनुगमन गर्दा सेवाग्राहीले गुनासो नै गुनासो गरेका छन्।

‘आबुधाबी डाइलग’ मा सहभागी हुन दुबई प्रस्थान गर्नुअघि मन्त्री श्रेष्ठले श्रमडेस्कका साथै विमानस्थल परिसरमा राखिएको कोरोना द्रुत परीक्षण स्थलको समेत अनुगमन गरेका थिए।

कामका लागि खाडी मुलुक जान लागेका नेपाली श्रमिकहरूले मन्त्री श्रेष्ठसमक्ष दुई पटक कोरोना भाइरसको द्रुत परीक्षण गर्नुपरेको गुनासोसमेत गरेका थिए।

चार घण्टाअघिको द्रूत परीक्षण रिपोर्ट ल्याएकाहरूले समेत विमानस्थल परिसरभित्रै परीक्षण गर्नुपर्ने नियमले झञ्झट भएको गुनासो श्रमिकहरुले गरेका थिए।

विमानस्थल परिसरभित्र हुने एन्टिजन परीक्षणमा महङ्गो शुल्क तिर्नुपरेको गुनासो पनि सेवाग्राहीले गरेका थिए। विमानस्थल परिसरमा राखिएको कोरोना द्रुत परीक्षण स्थलमा गरिएको निरीक्षणका क्रममा कतिपय बिनाअनुमति सञ्चालन गरिएको समेत पाइएको थियो।

विमानस्थलमा गरिने एन्टिजन परीक्षणलाई व्यवस्थित बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित अन्य निकायसँग समन्वय गरिने मन्त्री श्रेष्ठले बताए।

अध्यागमन‚ भन्सार‚ श्रम डेस्क‚ सुरक्षालगायतका विषयमा आइपर्ने समस्या तत्काल सम्बोधन गर्न र सेवा प्रवाहमा सुधार ल्याउन विमानस्थलमा कार्यरत सबै निकायहरुलाई मन्त्री श्रेष्ठले निर्देशन दिएका थिए।

प्रकाशित मिति: : 2021-10-25 14:08:00

प्रतिकृया दिनुहोस्