सर्वोच्चले भन्यो : मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु दु:खद् र खेदजन्य 

फाइल तस्वीर
फाइल तस्वीर

सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडेर प्रचार हुनु दु:खद् भएको बताएको छ।

मन्त्रिपरिषदमा प्रधानन्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएपछि सोमबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिएको बताएको छ।

‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दु:खद् र खेदजन्य विषय हो’ विज्ञप्तिमा भनिएको छ।

नेपालको संविधानबमोजिम न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने विषयमा प्रधानन्यायाधीश स्पष्ट प्रतिबद्ध रहेको उल्लेख गर्दै सर्वोच्च अदालतप्रतिको जनआस्था र नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दूषित मनसायले समाचार आएको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: : 2021-10-04 15:40:00

प्रतिकृया दिनुहोस्