एमालेबाट माधव नेपालसहितका नेताहरू अलग्गिएसँगै बागमतीमा १३ जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी राेजे। यसकाे प्रत्यक्ष प्रभाव पर्याे बागमती प्रदेशकी मुख्यमन्त्री- अष्टलक्ष्मी शाक्यलाई। शाक्य अहिले अल्पमतमा छिन्।
शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धन सरकार बन्ने सम्भावना छ। यहीबीच सरकारको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी)ले त दाबीसमेत गरिसकेकाे छ। समाजवादीबाट दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने दाउमा छन्।
प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ सांसद एकठाउँमा उभिँदा बहुमत पुग्छ। १०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५५ सांसद चाहिन्छ, पाँचदलीय गठबन्धनसँग ५८ सांसद छन्।
राेचक कुरा त के छ भने, बागमतीमा नेकपा (एस)ले सरकार नेतृत्वकाे दावी गरेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भने ढाइ महिनामात्र भए पनि बागमतीमा आफूहरुलाई नेतृत्व दिन नयाँ प्रस्ताव अघि बढाएका छन्।
प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशनअघि नै बागमतीमा प्रदेश सभाका दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन चाहन्छन्। देउवाकाे याे निर्णयसँग पार्टीका अन्य नेताहरु भने आक्राेशित छन्।
साढे दुई महीनाका लागि बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन नेकपा (एकीकृत समाजवादी)लाई गरिएको प्रस्तावप्रति कांग्रेसकै नेता डाक्टर शेखर कोइरालाले आपत्ति जनाएका हुन्।
उनले देउवाकाे यस्ताे कदमले पार्टीलाई कमजोर बनाउने टिप्पणी गर्दै प्रश्न गरेका छन्, ‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ?’