प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका छाेरा जयवीरसिंह देउवालाई डडेल्धुरामा क्रियाशील सदस्यता दिइएपछि जिल्लाकाे कांग्रेसभित्रै आन्तरिक विवाद सुरु भएकाे थियाे। यही विवादकाे बाबजुद् पनि डडेल्धुरा वडा अधिवेशन सम्पन्न भएकाे छ।
यसैबीच देउवाकी पत्नी आरजु राणा देउवा क्षेत्रीय प्रतिनिधि बनेकी छन्। उनी गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट क्षेत्रीय प्रतिनिधि बनेकी हुन्।
केही दिनअघि क्रियाशील सदस्यता लिइसकेपछि जयवीरसिंह पनि राजनीतिमा सक्रिय हुन लागेकाे धेरैकाे अनुमान थियाे। तर उनी भने तत्काल पार्टी राजनीतिमा क्रियाशील नहुने भएका छन्। कमजाेर राजनीति चेतका कारण उनी डराएर पछि सरेकाे कांग्रेस नेताहरूकै टिप्पणी छ।
भदौ २५ मा भएको वडा अधिवेशनमा जयवीरसिंहले आकांक्षा नराखेपछप क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी नै दिएनन्।
वडा सभापतिमा ज्ञानुकुमारी सेठ्ठी चयन भएकी छन्। वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन हाे।
सभापति देउवाले भने क्रियाशील सदस्यता केन्द्रबाटै लिएका छन्।