धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग ‘फेस गर्न नसकेको’ प्रतिक्रिया दिएका छन्।
मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका उनले प्रधानमन्त्रीसँग भेट्न नपाएपछि साम्पाङले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओलीले फेस गर्न सकेनन्, मलाई।’
प्रधानमन्त्री ओलीले मेयर सम्पाङलाई भेट्न अस्वीकार गरेका थिए। धरानको खानेपानी समस्यालाई लिएर मंगलबार प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका साम्पाङलाई प्रधानमन्त्रीले भेट्न समय नदिएका हुन्।
खानेपानीमन्त्री प्रदीप यादवसँग भेटवार्ता गरेर प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका साम्पाङलाई प्रधानमन्त्रीको कार्यालयले एक घण्टा कुराएर फर्काइदिएको थियो।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री व्यस्त रहेकाले ५ बजेपछि मात्र भेट्न मिल्ने बताएपछि साम्पाङ फन्किँदै हिँडेका थिए। उनी भन्छन्, ‘मेयर हो र जतिबेला भन्यो भेट्नलाई? प्रधानमन्त्रीको निर्धारित कार्यतालिका मिलाउनुपर्छ।’
सचिवालय स्रोतका अनुसार रित्तो गाग्री बोकेर अराजक गतिविधि गरेका साम्पाङसँग प्रधानमन्त्री रुष्ट बनेका छन्। थोत्रो गाग्री बोकेर सिंहदरबार छिर्न लागेका साम्पाङलाई प्रहरीले गेटमा रोकेर गाग्री खोसेको थियो।