चुनावी चर्चा–

चर्चामाः मुकुन्देकाे ‘गणतन्त्र’देखि, रवि लामिछानेकाे ‘स्वतन्त्र’सम्म

जताततै स्वतन्त्रको खुब चर्चा छ। खासगरी राजनीतिक वृत्तभन्दा बाहिर रहेका चर्चित तथा गुमनाम पात्रहरूले यतिबेला प्रतिनिधिसभाका लागि धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्।

तर, मंगलबार दिउँसाेदेखि स्वतन्त्र व्यक्ति मात्रै हाेइन पार्टी नै स्वतन्त्र बनेकाे छ। पूर्वसञ्चारकर्मी रवि लामिछानेले 'राष्ट्रिय स्वतन्त्र पार्टी'को घोषणा गरेका छन्।

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह भारी मतले निर्वाचित भएपछि चुनावमा थप स्वतन्त्रकाे आकर्षण बढेको छ। मेयर बालेनसँगै धरानमा हर्क साङपाङ, जनकपुरमा मनोज साह र धनगढीमा गोपाल हमालकाे जीतले थप उत्साह थपेकाे छ।

आउँदो प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक पार्टीका उम्मेदवारहरूलाई स्वतन्त्रहरूले अनेकौं चुनौती थपिरहेका छन्। सामाजिक सञ्जाल तथा सभा–समारोहमार्फत् आकांक्षीहरूले निर्वाचन क्षेत्र रोज्दै प्रचारप्रसार थालिसकेका छन्।

मतदातालाई आफूतिर तान्न स्वतन्त्र उम्मेदवारहरूले थुप्रै तानाबाना बुनिरहेको काठमाडौंमा स्वतन्त्र अभियान चलाइरहेका अभियन्ताहरू बताउँछन्।

काठमाडौं क्षेत्र–१ बाट विवेकशील साझा पार्टीका पूर्व नेता पुकार बम र नेपाल प्रहरीका पूर्व डीआईजी तथा नेपाल सुशासन पार्टीका संयाेजक रमेश खरेलले औपचारिक रूपमै आ-आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। सामाजिक तथा राजनीतिक अभियन्ता हुन्, बम।

बम र खरेल एउटै क्षेत्रबाट चुनाव लड्न नहुने बताउँछन्, स्वतन्त्र अभियानमा लागिरहेका भीम उपाध्याय। यी दुबै जनालाई फरक–फरक निर्वाचन क्षेत्रबाट चुनावमा लड्न अभियन्ताहरूले आग्रह गरेका छन्।

त्यस्तै, काठमाडौं क्षेत्र–३ बाट सञ्चारकर्मी हरिशरण लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख रवि लामिछानेकाे पनि उत्तिकै चर्चा छ। खासमा हरिशरण र रवि दाजुभाइ हुन्। हरिशरणले काठमाडौं–३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि भर्खंरै पार्टी खाेलेका रवि असन्तुष्ट बनेका छन्। 

काठमाडौं क्षेत्र–४ बाट इन्जिनियर आकर्षक पोखरेलले मंगलबार आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको क्षेत्रसमेत रहेको काठमाडौं–४ लाई विशेष रूपमा हेरिएको छ। पोखरेललाई अभिनेता आर्यन सिग्दलले समर्थन गरेका छन्।

काठमाडौं–४ बाट सामाजिक सञ्जालका चर्चित पात्र मुकुन्द घिमिरे ‘मुकुन्दे’ले चुनाव लड्ने दाबी गरिरहेका छन्। तर उनको उम्मेदवारीलाई खासै चुनौतीका रूपमा हेरिएको छैन। उनी आफूलाई राष्ट्रिय गणतन्त्र पार्टीकाे अध्यक्षका रूपमा चिनाउँछन्।

काठमाडौं क्षेत्र–५ बाट साझा विवेकशील पार्टीकी नेत्री रञ्जु दर्सनाले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरिसकेकी छन्। उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौं महागरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार पनि बनेकी थिइन्।

त्यस्तै, काठमाडौं क्षेत्र–६ बाट गायक सञ्जय श्रेष्ठ पनि स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका छन्। स्वतन्त्र उम्मेदवारहरूलाई एकठाउँमा जम्मा गराइरहेका अर्का पात्र सुमन सायमीले काठमाडौं क्षेत्र–८ बाट चुनाव लड्ने बताएका छन्। उनी काठमाडौं महानगरपालिकाको मेयर पदमा पनि स्वतन्त्र उम्मेदवार बनेका थिए।

त्यस्तै, आउँदो प्रतिनिधिसभाको निर्वाचन केन्द्रीत काठमाडौंमा उम्मेदवारी घोषणा भइरहेका बेला यो क्रम राजधानी बाहिरसम्म पुगेको छ। दाङ क्षेत्र–३ बाट बहुदलवादी नेता तथा वरिष्ठ अधिवक्ता हेमन्त मल्लको पनि चर्चा थालिएको छ। साइकल यात्री पुष्कर शाह पनि दोलखाबाट निर्वाचन लड्ने बताइएको छ।

प्रकाशित मिति: : 2022-06-21 14:26:00

प्रतिकृया दिनुहोस्