दिनदहाडै उर्लाबारीमा हत्या भएपछि स्थानीय त्रासमा, शान्ति सुरक्षाको चिन्ता 

मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा छुरा प्रहार गरेर सोमबार दिउँसो एक किशोरको हत्या भएपछि स्थानीय त्रसित भएका छन्।

सात जनाको समूहमा आएका युवाहरुले छुरा प्रहार गरेर १७ वर्षीय अभिशेक चौधरीको हत्या गरेका थिए। अहिले गाउँमा एक किसिमको पुरै डर पैदा भएको स्थानीय सुरेश ठाकुरले बताए।

प्रहरीका अनुसार ढाडमा गरिएको छुरा प्रहारबाट गम्भीर घाइते भएपछि उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्‍याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।

उक्त समूहको आक्रमणमा परेर अभिशेषसँगै रहेका २१ वर्षीय सुशन धामी घाइते भएका छन्। शरीरका विभिन्न भागमा छुरा प्रहार गरिएको चोट रहेका धामीको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको जानकारी उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए। घटनास्थलमा पुगेर इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिहेको छ।

घटनामा संलग्न भएको आशंकामा कदम टोलका १८ वर्षीय निशान राई, राकेश कार्की र पवन कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए। घटना के–कति कारणले भएको र कसको चक्कु प्रहारबाट अभिषेकको मृत्यु भएको लगायत विषयमा अनुसन्धानपछि मात्रै भन्न सकिने प्रहरी निरीक्षक खड्काले बताए। घटनामा संलग्न अरु युवा फरार रहेका कारण खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

युवाहरुबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद एवं झगडा भएको खुलेको छ। विवाद त्यतिबेलै मिलाइएको भएपनि रिसइबी साँधेर बसेको समूहले भने भोलिपल्ट अर्को पक्षका किशोरको हत्या नै गरिदिएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक खड्काले घटनाका बारेमा गम्भीर ढंगले अनुसन्धान थालिएको बताए।

प्रकाशित मिति: : 2021-07-27 12:16:00

प्रतिकृया दिनुहोस्