‘दुखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दयाराखी अझ मलाई दुःख दे’ बालकृष्ण समको मुकुन्द ईन्दिरा नाटकको यो अंश मोरङको पथरीशनिश्चरे ३,सङ्गम चौकका मिर्गौला पीडित २९ वर्षीय सुजन दर्जीको जीवनसँग ठ्याक्कै मेल खाएको छ।
घरको सबै सिरिखुरि बटुल्दा जम्मा भएको २०/२२ हजार रुपैयाँ सकिसक्यो। त्यो बाहेक अस्पतालमा लागेको थप १८ हजार रुपैयाँ तिर्न नसकेपछि यतिबेला उनी घरमै मृत्युसँगै जुधिरहेका छन्।
६९ वर्षीया हजुरआमा र श्रीमतीसँग बस्दै आएका सुजन बसेको घर पनि दाताले बनाइ दिएको हो। सम्पतिका नाममा १५ धुर जग्गा बाहेक उनीसँग केही छैन। त्यही जग्गामा पथरीशनिश्चरेबाट तेस्रो देश पुनर्वास गएका भूटानी शरणार्थीहरूले घर बनाइदिएका हुन्।
सुजनका बुबालाई मिर्गौला रोगले नै लग्यो। आमा ब्रेनट्युमरको उपचार गर्न नसकेर बितिन्। सुजनले हजुरबालाई देख्नै पाएनन्। एकपछि अर्को पारिवारीक पीडाले यतिबेला सुजन दर्जीको परिवार इन्तु न चिन्तु भएको छ। श्रीमानको उपचारका लागि अस्पताल बस्दा बस्दै सुजनकी पत्नी पूजा पनि बिरामी परिन्। पूजाको अहिले पथरीमा उपचार भइरहेको छ।
सुजनको घरमा एकपछि अर्को विपत्ति आउँदा स्थानीय छिमेकीहरू समेत चिन्तित छन्।छिमेकी रेणुका काफ्लेले भनिन्, 'सबैले सहयोग गरेर सुजनलाई बचाउनु पर्यो। सुजनकी आमा मधुमेह, उच्च रक्तचाप र दमले सिकिस्त छिन्। घरमा सामान्य काम बाहेक केही गर्न हात पाखुरा लाग्दैनन्, सुजनकी आमाका।'
स्थानीय सरकारले अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा नगरिदिँदा त्यस्ता परिवार स्वास्थ्य सेवा बञ्चित भएको स्थानीय टिएन खतिवडाले बताए।
सुजन गाउँघरमा कृषि मजदुरी र निर्माण क्षेत्रमा काम गर्ने श्रमिक हुन्। उनले भने, 'डाक्टरले मिर्गौला प्रत्यारोपण अन्तिम बिकल्प हो भनेका छन्। मिर्गौला दिने दाता फेला परिसकेका छन्। तर, प्रत्यारोपण खर्च छैन।त्यसैले सहयोगको याचना गरेको हुँ।'