केन्द्रीय कमिटी बैठकमा सहभागी भएका एमाले उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूलाई पार्टी एकता गराउने जिम्मा दिन माग गरेका छन् तर ओलीले भने गौतम एक्लैलाई उक्त जिम्मेवारी दिन नसक्ने बताउँदै एकताको पक्षमा लाग्न आग्रह गरे।
०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादीकेन्द्र अलग भएपछि गौतम पहिलोचोटी पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी भएका हुन्। बैठकमा बोल्दै गौतमले अध्यक्ष ओलीलाई भने, '‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न। मलाई पार्टी एकता गराउने जिम्मा दिनुहोस्।'
गत माघमा 'नेकपा एकता राष्ट्रिय अभियान' भनेर बेग्लै समूह बनाएर अघि बढेका गौतम शुक्रवार एमाले बैठकमा सहभागी भएका हुन्। उनले भने, 'म पार्टीमा फर्किसकेँ। अब पार्टी एकताका लागि पहल गर्नुपर्छ। मलाई जिम्मा दिनुस्। म आएपछि पार्टी एकताले पूर्णता पाउँने छ।’
एक सहभागीले दिएको जानकारीअनुसार, प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्ने क्रममा गौतमका भनाइको सम्बोधन पनि गरे। उनले गौतमलाई भने, 'तपाईं पार्टीमा आउनुभो राम्रो भो। पार्टी एकताको जिम्मा तपाईं एक्लैलाई दिन मिल्दैन। तपाईं पनि पहल गर्नुस्, म पनि पहल गर्छु।'