रास्वपा नेताहरूलाई मुकुलको आग्रह- रवि दाइ आफैं लड्न सक्षम हुनुहुन्छ, हामी पार्टीको काममा फर्कौं

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछाने अदालती प्रक्रियामा व्यस्त भएपछि पार्टी सदस्यहरूलाई पार्टीको काममा फर्कन सुझाव दिएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत मुकुलले पार्टीले आफ्नो नियमित काम बिर्सिएको जस्तो आभाष भइरहेको भन्दै कुनै बहाना नबनाइ पार्टी र जनताको काममा फर्कन आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘म तपाईंहरू सबैलाई आग्रह गर्न चाहन्छु- आ-आफ्नो तह र समितिमा छलफल गर्न बैठक बोलाउनुहोस्। तपाईंको क्षेत्रका जनताको मुद्दाहरूलाई उठाउने विषयमा स्थानीय बुद्धिजीवी र जनतालाई पनि समेटेर छलफल गर्नुहोस्। त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउनुहोस्।’

उनले केन्द्रीय कार्यालयले ती मुद्दाहरूलाई संसदीय दलमार्फत छलफल गरी संसदमा उठाउने सिस्टम यसअघि नै बनाइएको उल्लेख गर्दै उक्त सिस्टमलाई फेरि जाग्रित गर्न र जनताको आवाज संसदमा लैजानु पर्ने बताए।

राजनीतिक  परिस्थितिका कारण औपचारिक च्यानलमार्फत काम गर्न नसकेको उनको दुःखेसो छ। उनले अहिलेको अवस्थामा इगो लिएर बस्न नहुने पनि बताए।

सभापति रवि लामिछाने आफैं लडाईं लड्न सक्षम भएकोले पार्टीका नेता कार्यकर्ताहरूले जनताको मुद्दा उठाउने काम जारी राख्नुपर्ने बताएका छन्।

उनी भन्छन्, ‘रवि दाइ आफ्नो अदालती लडाईं आफैँ लड्न सक्षम हुनुहुन्छ। यति बेला हाम्रो कर्तव्य भनेको पार्टीलाई जीवन्त राख्दै जनताको मुद्दा उठाउनु हो। यो जिम्मेवारी हामीले कुनै हालतमा बिर्सनु हुँदैन।’

मुकुलको भनाइ जस्ताको तस्तैः

प्रिय रास्वपा सदस्यहरू,

पार्टी सभापति अदालती प्रक्रियामा व्यस्त रहँदा पार्टीले आफ्नो नियमित काम बिर्सिएको जस्तो आभाष भइरहेको छ। सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ। त्यसैले कुनै पनि बहाना नबनाइ जनताको काममा हामी फर्कनै पर्छ।

म तपाईंहरू सबैलाई आग्रह गर्न चाहन्छु- आ-आफ्नो तह र समितिमा छलफल गर्न बैठक बोलाउनुहोस्। तपाईंको क्षेत्रका जनताको मुद्दाहरूलाई उठाउने विषयमा स्थानीय बुद्धिजीवी र जनतालाई पनि समेटेर छलफल गर्नुहोस्। त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउनुहोस्। 

केन्द्रीय कार्यालयले ती मुद्दाहरूलाई संसदीय दलमार्फत छलफल गरी संसदमा उठाउने सिस्टम पहिल्यै बनाइएको थियो। यो सिस्टमलाई पुनः जाग्रित गर्नुहोस् र संसदमा जनताको आवाज पुर्‍याउन आजैबाट पहल थाल्नुहोस्। 

राजनीतिक परिस्थितिका कारण यो आग्रह पार्टीको औपचारिक च्यानलमार्फत राख्न सकिनँ। अहिले इगोमा बसेर केही हुँदैन। देश र जनताको मुद्दामा पार्टी कसरी अघि बढ्नुपर्छ भनेर विचार मात्र राखेको छु। के उचित के अनुचित भनेर नसोची, कृपया यो विषयलाई गम्भीरतापूर्वक लिनुहोस्। 

रवि दाइ आफ्नो अदालती लडाईं आफैँ लड्न सक्षम हुनुहुन्छ। यति बेला, हाम्रो कर्तव्य भनेको पार्टीलाई जीवन्त राख्दै जनताको मुद्दा उठाउनु हो। यो जिम्मेवारी हामीले कुनै हालतमा बिर्सनु हुँदैन।

आशा छ, तपाईंहरूले मेरो यो आग्रहलाई सकारात्मक रूपमा लिँदै जनताको पक्षमा आवश्यक कदम चाल्नुहुनेछ।

प्रकाशित मिति: : 2025-01-19 14:29:00

प्रतिकृया दिनुहोस्