सुदूरपूर्वको ताप्लेजुङ जिल्ला अवस्थित पाथीभरा नेपालकै प्रसिद्ध मन्दिर हो। यो मन्दिरलाई लिम्बू समुदायले मुक्कुमलुङ भनेर मान्दछन्। सदरमुकाम फुङलिङ बजारबाट करिब २० किमी पूर्वमा पर्ने यो ठाउँ समुन्द्र सतहबाट ३७९४ मिटर उचाइमा छ। अलौकिक शक्ति भएको विश्वास गरिने पाथीभरा देवीको मन्दिर छ। पाथीभरा ताप्लेजुङमा छ तर यो पूर्वाञ्चलभरि संस्कृतिकै रुपमा विकसित हुँदैछ। झापा, इलाम, पाँचथरका ठाउँ–ठाउँमा पाथीभरा देवीको मन्दिर बनेका छन्।
यो मन्दिर दर्शन गर्न नेपाललगायत छिमेकी देशबाट हजारौँ तीर्थालु वर्षेनी पुग्छन्। तीर्थालुले भाकल गर्छन्, मनोकामना पूरा हुने कडा विश्वासका साथ। पूर्वी नेपालको सबभन्दा सुन्दर क्षेत्रमध्ये एक। ७ हजारभन्दा अग्लो हिमश्रृंखलाको सुन्दर दृश्य। वनस्पति र जीवजन्तु पाइने ठाउँ हो– पाथीभरा। अल्पाइन घाँसेभूमि, चट्टानी डाँडाकाँडा, घना शीतोष्ण, वनजंगलको धनि क्षेत्र पनि हो। हिन्दु, बौद्धमार्गी र किराँतहरुविशेष अवसरमा पूजाआजा गर्न यही मन्दिर धाउने गर्छन्। यो यात्राले प्राकृतिक र सांस्कृतिक अनुभवसँगै अनौँठो उत्साहजनक अनुभव दिलाउँछ।
८ वर्षअघि कावेली खोलामा हाइड्रोपावर निर्माणको लागि रिसर्च गर्न पुगेका थिए, दोलाखाका युवक लीलाराम खड्का। सात महिना त्यहाँ अध्ययन गर्ने क्रममा ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरको दर्शन गर्ने उनको चाहना अधुरै रह्यो। मैले यसपल्ट हिउँद महिनाभरि तराईको भू–भाग चहारे।
केही सातादेखि पूर्वी नेपालतिर थिए। त्यही बेला लीला भाइको फोन आयो– आठ वर्षदेखि अधुरो रहेको पाथीभरा मन्दिरको दर्शन गर्न जाने कि भनेर।
चार वर्षअघि मैले फिक्कल र श्रीअन्तुसम्मको यात्रा गरेको थिए। मलाई योभन्दा माथि उक्लिने अवसर प्राप्त भएको थिएन। लीलाजीको प्रस्ताव खास्सा लाग्यो। यसै पनि नेपाली डाँडाकाँडा घुम्दा दङ्ग पर्ने आफ्नो स्वभाव, लीला भाइको प्रस्ताव मन नपर्ने कुरै भएन। पाँचथर र ताप्लेजुङ गरेर थप दुई जिल्लाको भू–भाग टेक्ने कल्पनाले त्यसै मन फुरुङ भयो।
भनिन्छ– योजना र अनियोजित घटनाहरूले भरिएको यात्रा हो जीवन। योजनाबद्ध घटनाभन्दा अनियोजित घटनाले छुट्टै अनुभव दिन्छ। साथीभाइ, प्रियजन तथा परिवारसँगको अनियोजित यात्रा सधैँ रमाइलो हुन्छ- अविस्मरणीय पनि।
लीला भाइसँग यस्तै अकस्मात भ्रमण जुर्यो– पाथीभरा अर्थात् मुकुम्लुङको। आकस्मिक बनेको यही योजनाअनुसार दुई साताअघि बिहीबारको दिन लीला भाइ काठमाडौंबाट बेलुकी ४:३० बजेको उडान समातेर भद्रपुर ओर्लिएँ। म भने दमकबाट बसमा हानिँदै बिर्तामोड लागेँ।
हाम्रो भेट पनि बिर्तामोडमा भएको थियो। त्यही दिन फिक्कलको चिसोमा बास बस्ने सल्लाहबमोजिम चारआली आइपुग्दा साँझको ६ बजिसकेको थियो। यहाँबाट अगाडि बढ्न हामीले कुनै गाडी भेटाएनौँ।
बल्लतल्ल ७ बजेतिर इलाम जाने एउटा जीप भेटियो। स्थानीयबासी त्यसलाई 'ट्याक्सी' भन्छन्। त्यो पनि खटारा। 'ट्याक्सी' को हर्नबाहेक सबै बज्छ।
फिक्कलसम्मको हाम्रो यात्रामा अर्का एक यात्री पनि थपिए। दुवैले मिलेर २५०० रुपैयाँमा जीप रिजर्व गर्यौँ र गन्तव्यतर्फ लाग्यौँ।
झापाको चारआलीदेखि समथल भू–भाग छिचोल्दै अध्यारोमा करिब २० मिनेट यात्रा गरेपछि पहाडी बाटो सुरु भयो। बाहिर निष्पट अध्यारो थियो। जीपको हेड्लाइटबाहेक कुनै दृश्य देखिएन।
थोत्रे जीप, उकालो बाटो। ड्राइभरले जति एक्सिलेटर दबाउँछन्, स्पीडमा कुद्ला भनेको त आवाज मात्र ठूलो।
फिक्कल पुग्दा रातीको १० बजिसकेको थियो। यसै पनि फिक्कलको चीसो मौसम, त्यसमा पनि जाडोको सिजन, अत्याधिक चीसो नहुने कुरै भएन। थकाइले लखतरान परेको हाम्रो जीउ १/१ भाडो तोङ्बा तानेर शरीरको तापक्रम बढायौँ।
पहिलो सूर्योदय हेर्ने श्रीअन्तु डाँडा नजिकै थियो। सूर्योदय खिच्ने रहर मभित्र तीव्र थियो। म फिक्कलबाटै सूर्योदय खिच्न लालायित थिएँ। राति यो कल्पना गरेर सुतेँ– भोलि चाँडै उठेर सूर्योदय खिच्नु छ।
यही लोभले हामी सूर्यले धर्तीमा च्याउनुअघि नै होटलबाट उठेर फोटो खिच्न कुदिसकेका थियौँ। तर, हाम्रो योजना हुस्सु र कुहिरोका कारण फेल खायो। पूरै फिक्कललाई त्यो दिन हुस्सु र कुहिरोले ड्याम्मै ढाकेको थियो।
एकछिनमा सामी पालुहाङ (भाइ) सित भेट भयो। सामी भाइसँग मेरो पुरानै चिनजान। चार वर्षअघि पूर्वका युवा अभियन्ता लाजेहाङजीको पहलमा म र सामी भाइसहितको एउटा टोलीले बाहुनडाँगी हुँदै मेची नदीको किनारैकिनार समालबुङ, शान्तिबजार, श्रीअन्तु भएर फिक्कलसम्मको पदयात्रा गरेको थियो। यसको उद्देश्य यस क्षेत्रको पर्यटन अध्ययन गर्नु थियो। चार वर्षपछि सामी भाइसँगको भेट धेरै अर्थमा लाभदायक रह्यो। उनीसँग तातो चिया पिउने क्रममा पूर्वको पर्यटनबारे थप भलाकुसारी भयो।
यति बेला हाम्रो यात्राको उद्देश्य पाथीभरा माईको दर्शन थियो। त्यसैले फिक्कलमा बस्ने कुरै भएन। एकछिनपछि रिजर्व गरेको जीप पनि आइपुग्यो र हामी सामी भाइसँग बिदा माग्दै आफ्नो गन्तब्यतर्फ हानियौँ।
चारआलीबाट फुङलिङबजार २३१ किमीको दूरीमा पर्छ। फिक्कलसम्म जम्मा ४८ किमी हो। हाम्रो यात्रा अझै डल्लै थियो। हामीले फिक्कल छोड्दा बिहानको ८ बजेको थियो।
गाडी ड्राइभर मालिक आफैँ थिए– मलेसिया र कतारमा वैदेशिक रोजगारी गरेर फर्किएका अधवैंशे देवासिस गुरुङ। हँसिलो अनुहार। ज्यान पनि हट्टाकट्टा। उनी यात्राको क्रममा भन्दै थिए, 'विदेश भनेको त्यस्तै हो दाइ, दुःख गरियो। अब आफ्नै देशमा पसिना बागाउने हो।'
चीसो मौसम, हुस्सु र कुहिरोबीच इलामको नागबेली छिचोल्दै १२ घुम्ति, दर्जनौँ खोलानाला, गाउँ, बजार, डाँडाकाँडा छिचोल्दै खाना खान रक्से भन्ने ठाउँमा उत्रिँदा ठ्याक्क १२ बजिसकेको थियो।
कहिले ओरालो बाटो छिचोल्दै खोलामा। कहिले डाँडैडाँडा हुँदै पाँचथरको राँकेबजार पुग्दा हुस्सुले पूरै बजार आफ्नो घुम्टोमा छोपेको थियो। बजार लाम्चो, राम्रो रहेछ। छुर्पी,गेडागुडी, डल्ले खुर्सानीको अचार, जडिबुटी, सुन्तला, फलफुल, सागसब्जीले लटरम्म सज्जाएको पसल हेर्दै रहरलाग्दो। पहाडीबाटो घुम्ति मोड्डै ओरालो लाग्दै गर्दा फिदिम बजार पनि देखियो। सञ्चारकर्मी मित्र माधव ढुङ्गेलजीले फोनमा फिदिम बजारको सुन्दरताको वर्णन गरेको झल्यास्स याद आयो।
अहो, क्या गज्जब– फिदिम बजार ! पाँचथर जिल्ला सदरमुकाम। एकछिन गाडी रोकेर लीला भाइ र मैले मोबाइल र क्यामेरामा फोटाहरु कैद गर्यौँ। मौसम धुम्म परेकोले फोटो त्यति चित्त बुझ्दो त भएन तर ठीकै छ, जस्तो भए नि नेचुरल खिचियो !
अनगिन्ति उकालो र घुम्ति काट्दै केही छिनमा सिंघपुर हुँदै काबेली पनि पुगियो।आठ वर्षअगाडि कावेली हाइड्रोपावर निर्माणको लागि प्रारम्भिक अध्ययन गर्न रिसर्चरको रुपमा सात महिना लीला भाइ बसेको ठाउँ। गाउँका प्रत्येक घर, गल्ली, कान्ला, खेतसँग उनी परिचित थिए। पुलिस चेकपोइन्ट नजिक बायाँपट्टि एउटा पसल अगाडि टक्क रोकियो।
लीला भाइ निकै भावुक भए। 'करिब सात महिना यही घरमा बसेको, आफ्नै परिवारजस्तै बसेको, खाएको हो दाइ,' उनले भावुक हुँदै बिगत सम्झिए।
फरासिली, मीठो बोली वचन भएकी साहुनी जुनु दिदीसँग भाइको केहीबेर भलाकुसारी गरे। हामीलाई फुङ्लिङ बजार हुँदै काफ्लेपाटी पुग्न ढिला भइसकेको थियो। त्यसैले फर्किने बेला चर्चित काबेलीको माछासहित भोजन गर्ने वाचासहित छुट्टियौँ।
एकैछिनमा काबेली पुल तरेपछि ठूलो गेट आइपुग्यो। जसमा लेखिएको थियो- वेलकम टु ताप्लेजुङ। करिब १ घण्टाको अन्तिम उकालो यात्रापछि फुङ्लिङ बजार ( १८२० मी) पुगियो।
त्यसपछि आठ किमी सुकेटारसम्म पिच बाटोमा गुडियो। अगाडि अध्यारोमा करिब १२.५ किमी कच्ची बाटो गुड्दै ठूलोफेदी पुग्दा रातको आठ बजेको थियो।
ठूलोफेदी गाडीको अन्तिम गन्तव्य हो। गुरु र गाडी त्यही छोडेर, बाटो छोट्याउन ठूलोफेदीको पैदल यात्रा सुरु भयो। मौसम निकै चीसो थियो। टर्चलाइटको सहयोगमा उकालो पैदलयात्रा पनि सुरु भयो।
यहाँ हामीले काफ्लेपाटीबाट गुराँसेडाँडा, वल्लुडाँडा हुँदै बिस्तारै उकालो पैदलमार्ग पहिल्यायौँ। चौँडा गोरेटो भएको र ढुंगाले छापेको हुनाले हिँड्न निकै सजिलो भयो। यतिबेला थकाइ मार्दै सुस्तसुस्त पाइला चाल्दै तीन किमी पैदलमार्ग हिँडेको चालै पाइएनँ।करिब एक घण्टाको अध्यारो गोरेटोमा हिँडेपछि ठूलोफेदीमा बास बस्न पुग्यौँ।
ढिला भएकोले हामीले बूक गरेको होटलवाला सुतिसकेका रहेछन्। बिचरी माइजू उठेर तातोपानी तताएर हाम्रोलागि खाना तयार पारिदिइन्। मेरो पेट अलिक खराब थियो। त्यसैले लीला र दीपेश भाइले तातो खाना खाँदा पनि टुलुटुलु हेर्नुबाहेक मेरो अन्य विकल्प थिएन।
साढे २ घण्टा पैदल
माघको महिना ! समुन्द्र सतहदेखि ३२०० मिटरमा अवस्थित ठूलोफेदी निकै चिसो थियो। यहाँ दर्जनौँ होटल तथा खाजा पसल छन्। पाथीभरा दर्शन गर्न आउँदा बास बस्ने अन्तिम ठाउँ पनि यही हो। राती भर्खर हिउँ परेकोले चीसो अत्यन्तै बढेको थियो। पानी जमेर हिउँको ढिक्को बनेको थियो। बिस्तरा अत्यन्तै चिसो थिए। तात्न निकै बेर लाग्यो।
राती उठेर पिसाब फेर्न गएको थिएँ। जाडोमा कठ्याङ्ग्रिदै फर्किएँ– कोठा भुलेर १५ मिनेट जति ३–४ वटा कोठा चाहारेँ। धन्न कोठा खाली रहेछन्। कतै नवदम्पती बास बसेको कोठा थिए भने कत्रो पाप लाग्दो हो ! सम्झेर अहिले हाँस उठ्छ।
केही क्षण निदाएँ, ब्युँझदा बिहान ६ बजिसकेको रहेछ। हैट ! सूर्योदयको फोटो खिच्न हिँडेको, बाटैमा घाम झुल्कियो। हतारमा दुई थर्मस तातो पानी, चिया र बिस्कुट झोलामा प्याक गरेर यात्रा सुरु गर्यौँ। माथि चढ्दा बिहानको ६.३० बजिसकेको रहेछ।
पाथीभराको अन्तिम उकालो ठाडो छ। करिब तीन किलोमीटर ठाडै चढ्नुपर्छ तर गोरेटो सार्है राम्रो- चौडा र ढुङ्गेसिँढी भएका कारण उक्लिन सजिलो रहेछ। हाम्रो यात्रा गफिँदै अगाडि बढ्यो।
घुमाउरो, ढुङ्गेसिढी , गुराँसे जङ्गल, झाडी वनको भित्रीबाटो हुँदै हामी पनि बिस्तारै उक्लियौँ। बाटामा तीन जना कलिला स्कुले बालकहरु निश्चल शेर्पा, प्रेम शेर्पा र दावा शेर्पा भेटिए। उनीहरु ५० केजी बालुवाको बोरा बोकेर उकालो उक्लिँदै रहेछन्। उनीहरु एक पटकमा ७५० रुपैयाँ ज्याला कमाउन श्रम गरिरहेका थिए। दिनमा दुई खेप गर्ने दावाले बताए।
कोरोनाले यहाँ पनि पढाइ रोकिएको रहेछ। उनीहरु फक्तालुङ गाउँपालिकाका रहेछन्। किताब, कलम र खेल्ने उमेरमा गह्रौँ भारी थाप्लोमा बोकेको देख्दा मन कुटुक्क खायो।
पढ्ने, लेख्ने , खेल्ने उमेर हो– यो। देश गणतन्त्र भएको दशकौँ भयो। नेताहरु ठूलाठूला भाषण गर्छन्- देशमा समृद्धिका गफ लगाउँछन्। गाउँघर घुम्दा यस्ता हजारौँ बालश्रमिक देखेर मन अमिलो हुन्छ। शिक्षा, स्वास्थ, रोजगारीको सरकारले ग्यारेण्टी गर्नुपर्ने यहाँ भाषणमा मात्रै सीमित छ।
पाथीभरा पुग्न जति उकालो हिँड्यो, उति लामो–लामो सास फेर्दै पाइला अगाडि बढ्यो। उचाइ अक्सिजनको कमि भएकोले हिँडाइको गति कम हुन्छ।
ठाउँ–ठाउँमा विश्रामपाटी थिए। लीला र दिपेश अगाडि थिए। दुईतिहाइ बाटो काट्दा बाटाभरि सेताम्मे हिउँका बिस्कुन थिए। अघिल्लो दिन मात्र हिउँ परेको रहेछ। बाटाको छेउमा पाइपको रेलिङ बनाएकोले समात्दै उक्लिन सजिलो भयो।
दक्षिणतिर हेर्दा टाढा–टाढासम्म ताप्लेजुङ, पाँचथर, संखुवासभा, इलामका डाँडाकाँडा, बस्तीहरु भुइँकुहिरोले रमणीय देखिन्थ्यो। पूर्वतिर भारतका सिक्किम राज्यका भू–भाग र उत्तरतिर हिमालको दृश्य।
अन्तिम उकालो सकेर केहि बेर तेर्सो गोरेटो हिँड्दा अगाडि हिमालको दृश्यले थाकेको शरीरमा बेग्लै फूर्ति जगायो। करिब साढे २ घण्टाको यात्रापछि पाथीभरा पुगियो।
पाथीभरा अर्थात् मुक्कुमलुङ पुग्दाको क्षण
आकाश खुलेको थियो। जमीनभरि छप्पक्कै हिउँ। उत्तरतर्फ सेताम्मे हिमालको लहर। ८५८६ मिटर अग्लो विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गासहित पाँचौ अग्लो मकालु ९८४४५ मिटरलगायतका हिमालहरु आँखा अगाडि देख्दा मनै फुरुङ्ग भयो। हामीले त यात्राको सबै थकान बिर्सियौँ। केहीमाथि छेउमा पाथीभरा मन्दिर। त्यहाँ बस्छिन्, अलौकिक शक्तिकी देवी। अलिकमाथि टुप्पामा मुक्कुमलुङ युमा माङहिम। लीला भाइ भाकल पूरा गर्न पाएकोमा औधि खुशी देखिए। उनी मन्दिरमा पूजा गर्न व्यस्त भए। म भने खुशीले गदगद हुँदै मन्दिर आसपासका फोटाहरु भटाभट कैद गर्न थालेँ।
कोरोना महामारीका कारण मन्दिर सात-आठ महिना ठप्पै भएको रहेछ। पाथीभरा मन्दिरका पुजारी टीकाराम पौडेल भन्दै थिए, ‘पुस महिनाको अफ–सिजनमा पनि यसपल्ट दिनको एक–डेढ सय तीर्थालु पूजा गर्न आए।’
अहिले माघ महिना लाग्दासम्म पनि भक्तजनहरु बढ्ने क्रम जारी छ। ‘यसपल्ट कम मात्रामा हिउँ पर्यो, चीसो मौसम वास्ता नगरी भक्तजनहरु नियमित आइरहेका छन्,’ उनले बताए। लकडाउन खुल्ला भएसँगै तीर्थालु नियमित आउने क्रम बढ्दो रहेछ तर छिमेकी भारतको सिक्किम,दार्जीलिङ, असम,बंगालका भक्तजन भने आउन पाएका छैनन्।
तिर्थालुहरुको ईच्छा, आकांक्षा र मनोकामना पूरा हुने विश्वासले भाकल गर्न, देवीको दर्शन गर्न र पूजा गर्न यहाँ आउने गर्दछन्। श्रद्धाभक्तिसहित पूजाआजा गर्नेलाई देवीले आशीर्वाद दिने विश्वास छ।
'किराँतीहरु पाथीभरालाई मुक्कुमलुङ भन्छन्,' सेवासावा (लिम्बु पुजारी) अनिस थलङले बताए। उनका अनुसार, किराँतेश्वर धर्ममा बलि, हत्याहिंसा निषेध गरिएको छ। ‘मुक्कुमलुङको सेवा दर्शन गर्न फूलपाति, अक्षेता, फलफूल, दियो। धूप, धजा, त्रिशुल, दीप प्रज्ज्वलन चढाउने गर्छौं’,उनले भने, ‘मुक्कुमलुङको दर्शन सेवा गर्नाले मनोकामना पूरा हुन्छ।’
हामी त्यहाँ पुग्दा ३–४ हुल तीर्थालु पूजा गरेर फर्किंदै थिए।
हामीले त्यहाँबाट कञ्चनजङ्गा श्रृङ्खला, कुम्भकर्ण (फक्तालुङ), यालुङ, ल्होत्से, चोयु, मकालुदेखि चाम्लाङ हिमालको लर्कन हेर्ने अवसर पायौँ। यो अवसर धेरै कमलाई मात्र प्राप्त हुन्छ। जसमा हामी पनि दरियौँ।
करिब २ घण्टा मन्दिर र यसको सेरोफेरोमा दृश्यवलोकन गरेर ठूलोफेदि हुँदै काफलपाटी फर्किँदा हामी तृप्त भइसकेका थियौँ। बाटोमा फर्किँदै गर्दा हाम्रो भेट काठमाडौंबाट मन्दिरको दर्शनका लागि उक्लिरहेको २ दर्जन तीर्थालुको जम्बो टोली भेटियो।
पाथीभरा अर्थात् मुक्कुमलुङको यात्रा दर्शन गर्न सफल भएकोमा लीला भाइ प्रफुल्लित देखिन्थे भने म दर्जनौँ हिमाल र मन्दिर सेरोफेरोको तस्वीर आफ्नो क्यामेरामा कैद गर्न पाएकोमा मक्ख थिए।
फर्किंदा कावेलीमा रोशनी होटल एण्ड लजमा चर्चित कावेली खोलाको माछा सहित खाजा खाएर कन्यामतिर फर्कियौँ।
कसरी पुग्नेः
काठमाडौंदेखि भद्रपुर या सुकेटारसम्म हवाइमार्ग । काठमाण्डौ विर्तामोड, इलाम , फुङलिङ बजारसम्म वसयात्रा। चारआली, विर्तामोडदेखि इलाम, फिदिम, हुँदै फुङलिङ बजार (ताप्लेजुङ), सुकेटार एयरपोर्टसम्म २४५ किमी गाडी यात्रा ९-१० घण्टा। सुकेटार एयरपोर्टदेखि देउराली, छाते ढुंगा, भालु गौडे, काफ्लेपाटी ९.५ किमि कच्ची गाडीको सडक। काफ्लेपाटी, गुराँसेडाँडा, वलुडाँडा, ठूलोफेदी हुँदै पाथीभरा या मुक्कुमलुङसम्म ५ किमी पैदल मार्ग ३-४ घण्टा।
Amazing dai
गज्जब 'सुरेन्द्र राना 'घुमफिरे'' जी । पढ्दा र हेर्दा आन्नद आयाे । जय पाथिभरा माता ।।