साइबर अपराधको मारमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्म

Breaknlinks
Breaknlinks

केही समयअघि एक व्यक्तिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत् तथानाम गालीगलौज गरे।

‘हेड अफ दि स्टेट’ अर्थात् राष्ट्रपतिमाथि सार्वजनिक रुपमै गालीबेइजत गर्नेलाई कानूनी दायरामा नल्याई त्यसै छाड्न पनि मिलेन।

राष्ट्रपति कार्यालयले नेपाल प्रहरीको साइबर व्यूरोलाई कारवाही गर्न पत्राचार गर्यो। व्यूरोले पनि प्रमाण जुटाएर तत्कालै अमेरिकास्थित फेसबुक मुख्यालयलाई पत्र लेख्यो।

साइबर व्यूरोलाई लाग्याे– राष्ट्रपतिलाई गाली बेइजत गर्नेको ‘ओसीकपी’ (फेसबुक खोल्नेको विवरण) कसो नपाइएला! तर, फेसबुक कार्यालयले भने राष्ट्रपतिमाथिको गाली बेइजतलाई सामान्य रुपमा लियो। त्यसपछि सुरु भयो, साइबर व्यूरोको टाउको दुखाई।

फेसबुक मुख्यालयको तर्क थियो, 'राष्ट्रपति भण्डारी राजनीतिज्ञ हुन्, राजनीतिज्ञको आलोचना हुनु ठूलो कुरा हैन।'

साइबर व्यूरोलाई भने त्यो तर्कले उन्मुक्ति मिल्दैनथ्यो। जसरी पनि ‘आरोपी’ पत्ता लगाएर कानूनको दायरामा ल्याउनु थियो।व्यूरोले भरपुर उपाय लगाएर फेरि फेसबुकलाई अर्को पत्र पठायो। जसोतसो फेसबुकले विवरण उपलब्ध गरायो। अनि ती व्यक्तिलाई व्यूरोले कानूनी दायरामा ल्याएरै छाड्यो।

उक्त घटना राष्ट्रपति भण्डारीमाथिको गालीगलौजको एउटा उदाहरण मात्र हो। राष्ट्रपतिमाथिको गालीगलौजका यस्ता दर्जनौँ घटना व्युरोमा पुगेका छन्, जसको अनुसन्धान प्रहरीले गरिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्धाधुन्ध गालीगलौज गरेका घटनाहरु पनि व्यूरोमा दर्जनौँ पुगेका छन्। सम्बन्धित कार्यालयले जानकारी पठाएपछि व्यूरोले यसबारे अनुसन्धान प्रक्रिया अघि बढाउँछ।

यस्ता कैयौँ घटना छन्, जसका दोषीलाई कानूनी कठघरामा ल्याउन व्यूरोलाई निकै मुस्किल परेको छ।

राष्ट्रप्रमुख र देशको कार्यकारी प्रमुखलाई मात्र हैन, मन्त्रीहरु, राजनीतिक दलका नेताहरु, कलाकार, पत्रकार, डाक्टरदेखि वकिलसम्मले सामाजिक सञ्जाल फेसबुक,युट्युब, टिकटक लगाएतका कारण तनाब व्यहोर्नुपरेको छ।

एक वर्षको अवधिमा साइबर व्यूरोमा करिब दुई हजार सात सय जना सामाजिक सञ्जालबाट पीडित भएकाहरुले उजुरी गरिसकेका छन्।

उक्त उजुरीमाथि अनुसन्धान गर्दै जाँदा एक सय १६ ओटा मुद्दा चलाइएको छ। बाँकीलाई पीडितसँग समन्वय गरी सम्झाई–बुझाई भविष्यमा साइबर अपराधको कसुरमा सजाय हुनसक्ने कार्य नगर्ने शर्तमा छाडिएको प्रहरीले जनाएको छ।

सङ्ख्यागत हिसाबमा व्यूरोमा उजुरी बढी परेता पनि अधिकांश उजुरी नक्कली आईडीहरु बन्द गर्न भनिएको हुन्छ। कतिको त मुद्दा चलाउन प्रमाण पुग्दैन। कतिले उजुरी गरेर आफै सम्पर्कबिहिन भइदिन्छन्।

सूचना प्रविधिको विकाससँगै साइबर अपराध बढ्न थाल्यो। त्यस्ता अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले ‘साइबर व्यूरो’ नै स्थापना गरेको छ। व्यूरो स्थापनाअघि उक्त कार्य केन्द्रीय अनुसन्धान ब्यूरो र महानगरीय अपराध महाशाखाले गर्दै आएको थियो।

नेपाल प्रहरीको ‘साइबर व्यूरो’ स्थापनापछि  साइबर अपराध रोकथाममा उल्लेखनीय काम भएको देखिएका छन्, तर ती काम गर्दा-गर्दै पनि प्रहरीका बेग्लै दुःख छन्।

‘कोही एक जना भीआईपीको विद्युतीय माध्यामबाट चरित्र हत्या हुन्छ। उक्त व्यक्तिलाई ‘पक्राउ गरी कारवाही गर्नू’ भन्ने आदेश हुन्छ, तर त्यस्तो व्यक्ति पक्राउ गर्न सहज हुँदैन’, साइबर अपराधको अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘फेसबुकसँग विवरण माग्यो, दिँदैन। तर पीडितको सोचाइ हुन्छ, भन्नासाथ कारवाही हुनुपर्छ।’

राज्यले सामाजिक सञ्जाल प्रदायक निकायसँग गर्नुपर्ने कानूनी सम्झौता नगरेका कारण सामाजिक सञ्जालमार्फत् हुने साइबर अपराध रोक्न निकै समस्या पर्ने गरेको छ। सामाजिक सञ्जालबाट हुने अपराध रोकथाम गर्न साइबर व्यूरो र व्यूरोमा कार्यरत केही यस्ता अधिकारी छन्, जसका कारण सामाजिक सञ्जालबाट हुने गरेको अपराध रोकथामसँगै पीडितको भविश्य पनि बनेकाे छ।

हाम्रो जस्तै समस्या छिमेकी मुलुकहरू भारत, थाइल्याण्ड र श्रीलङ्कालगायतका देशमा थियो। त्यहाँको सरकारले फेसबुकसँग समन्वय गरी सम्बन्धित देशमै शाखा खोल्न लगायो। जसका कारण सामाजिक सञ्जालबाट हुने अपराध रोकथाममा निकै सहज भएको छ। तर नेपालमा त्यो व्यवस्था छैन, जसका कारण साइबर अपराध रोकथाम गर्न निक्कै मुस्कील हुने गरेको छ।

भारतले फेसबुक कार्यालय खोल्न बाध्य बनायो, त्यसैले कुनै व्यक्तिले सामाजिक सञ्जालमार्फत् अपराध गर्यो भने त्यो देशको प्रहरीले तत्काल पत्ता लगाउँछ।

तर नेपालमा त्यस्तो व्यवस्था छैन, त्यो सन्धि नभएका कारण नेपाल प्रहरीलाई काम गर्न निक्कै मुस्कील छ। ‘नेपाललाई फेसबुकले सहयोग नै गरेन भन्ने हैन’, व्यूरो प्रवक्ता अर्यालले भने, ‘उसले पनि आफ्नो व्यापार हेर्छ होला, हामीसँग यदि सन्धि थियो भने उसले व्यापार हेर्न पाउँदैनथ्यो। हामीलाई चाहिएको विवरण तत्काल दिनुपर्थ्यो। सन्धिका लागि हामीले पहल गरेका छौ, यसलाई छिटो छरितोको आवश्यक छ।’

फेसबुकले महिला बालबालिका, आत्महत्या, लागूऔषध र यौनहिंसाका मुद्दालाई तत्काल ‘रेस्पोन्स’ गरे पनि अन्य राजनीतिक विषयमा भने वास्ता गर्दैन, जसका कारण धेरै समस्या हुन्छ।

पछिल्लो एक महिनायता सामाजिक सञ्जालबाट हुने विभिन्न अपराधले प्रहरी समेत हैरान भएको छ। नक्कली फेसबुक आईडी बनाएर अर्काको नाङ्गो फोटो राख्नेदेखि तथानाम गालीगलौज र फेसबुकबाटै ठगी बढेको छ। त्यसविरुद्ध साइबर व्यूरोले हप्तैपिछे चेतनामूलक सूचना निकाल्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई चलाउँदा विचार पुर्याउन अनुरोध गर्दै आएको छ।

समाधान के त ?

सामाजिक सञ्जालबाट हुने साइबर अपराधको न्यूनीकरण गर्न अब सरकारले सामाजिक सञ्जालका सेवा प्रदायक निकायसँग कानूनी साहयता पारस्परिक सम्झौता (सन्धि) नगरी हुँदैन। 

पीडित नागरिक जसोतसो साइबर व्यूरोमा पुगेका हुन्छन्। उनीहरुको चाहना हुन्छ, तत्काल आफ्नो समस्या समाधान होस्। तर त्यसो हुन सक्दैन। किनभने, नेपाल प्रहरीले चाहेर पनि सामाजिक सञ्जालबाट तत्कालै आफूलाई आवश्यक सुचना निकाल्न सक्दैन।

पीडकको विवरण माग्दा सामाजिक सञ्जालले दिन ढिला गरिदिन्छ। उसको विवरण आउञ्जेलसम्म यता समय धेरै बितिसकेको हुन्छ। व्यूरोका प्रवक्ता एसएसपी अर्यालका अनुसार देशमा सामाजिक सञ्जालका सम्पर्क कार्यालय भएको भए व्यूरोले पीडकलाई तत्काल पत्ता लगाएर नियन्त्रण लिन सक्थ्यो।

केही घटनामा देशबाहिर सामाजिक सञ्जालका कार्यालयले ‘लेटर अफ रोगेटरी’ (नेपालको अदालतले अन्तर्राष्ट्रिय अदालतलाई पत्र लेख्नु) हो। यो प्रक्रिया पूरा गर्न गृह मन्त्रालयमार्फत् परराष्ट्र हुँदै जाँदा महिनौ लाग्ने गर्छ।

तत्काल नियन्त्रण लिनुपर्ने मान्छेको विवरण आउन महिनौ लाग्ने भएपछि पीडितको अवस्था के हुन्छ? त्यसैले यी र यस्ता समस्याको सामाधान गर्न तत्काल सन्धिको जरुरी देखिन्छ।

कतिय घटनामा व्यूरोमा कार्यरत अधिकारीको आफ्नो व्यक्तिगत सम्बन्धका कारण अनुनय–विनय गरी विवरण माग्ने कामसमेत भएका छन्, तर यसरी लामो समयसम्म चल्न सक्दैन। 

घरबाटै गरौँ उजुरी

कोरोना महामारीका कारण अहिले सबै जना घरभित्रै छन्। फुर्सदका बेला सबैले सामाजिक सञ्जाल चलाउँछन्। त्यही मौका छोपेर अपराधिक मनसाय भएकाहरुले फाइदा उठाउँदै आएका छन्।

उजुरी गर्न प्रहरी कार्यालयमा आउन सम्भव छैन, गर्ने के?

त्यसका लागि नेपाल प्रहरीको ‘साइबर व्यूरो’ले पटक-पटक भन्दै आएको छ, ‘सकिन्छ नजिकको प्रहरी कार्यालयमा पुगौँ, सकिँदैन घरबाटै उजुरी गरौँ।’

प्रवक्ता अर्यालले भने, ‘सामाजिक सञ्जालबाट कसैले दुःख दियो भने उसका बारे उजुरी गर्न सके कार्यालयमा आउनुहाेस्, यदी कार्यालयसम्म आउन सकिने अवस्था छैन भने, जहाँ हुनुहुन्छ, त्यहीँबाट हामीलाई इमेलमार्फत् उजुरी गर्नुस्, हामी त्यसको सुनुवाई गर्छौँ।’

व्यूरोले देशका कुनाकाप्चाबाट आउने उजुरीलाई पनि सुनुवाई गर्दै आएको छ। व्यूरोमा केही यस्ता उजुरी पनि परेका छन्, जसमा पीडितको परिचय पनि गोप्य राखिएको छ। परिचय खुलाउँदा समाजमा भोलि समस्या हुनसक्ने भएका कारण उनीहरुको परिचय लुकाएरै व्यूरोले पीडितको गुनासो सुनुवाई गर्दै आएको प्रवक्ता अर्यालले जानकारी दिए।

त्यस्तै, कतिपय त परिवारकै सदस्यबाट पनि साइबर अपराध भएका छन्। त्यति मात्रै हैन, सम्बन्ध विच्छेद गर्न ठिक्क परेका कैयौँ दम्पतीलाई व्यूरोका अधिकारीले सम्झाई–बुझाई गर्दा उनीहरुको सम्बन्ध पूर्ववत अवस्थाभन्दा राम्रो भएका पनि छन्।

व्यूरोप्रति बढ्दो क्रेज

करिब तीन महिनाअघि काठमाडौंकी एक नाम चलेकी व्यवसायी महिला पतिसँग सम्बन्ध विच्छेद गर्ने तर्खरमा थिइन्। पत्नीको फेसबुक ‘ह्याक’ गरी पतिले तथानाम गर्न थाले। 

हुँदा–हुँदा ती पुरुषले पत्नीका साथीलाई रात बिताउन जाने भन्दै प्रस्ताव समेत गरे। उक्त कुरा पछि पत्नीलाई थाहा भयो। उनी साइबर व्यूरोमा पुगिन्। व्यूरोले अनुसन्धान गर्दै जाँदा पछि उनैका पतिले त्यो दुष्कर्म गरेको पत्ता लाग्यो। व्यूरोका अधिकारीले सम्झाई–बुझाई गरेपछि छुट्नै लागेको उनीहरुको घरबार फेरि पूर्ववत अवस्थामा जोडियो।

त्यसको पूरा समाचार पढ्न यहाँ क्लिक गरौँ  फेसबुकले झण्डै ‘डिभोर्स’ गरायो

छ महिनाअघि एक जना गायकले केही रकम गाउँबाट ऋण गरी काठमाडौं आए। उनले गीत रेकर्ड गराए। ऋण गरेको रकम खर्चेर बनाएको गीत विमोचनको साइत जुराएर बसे। 

भोलिपल्ट गीतको विमोचन हुँदै थियो, राति एकाएक सबै गीत कसैले उडाइदियो। भोलिपल्ट बिहान रुँदै उनी साइबर व्यूरोमा पुगे। व्यूरोका अधिकारीले अनुसन्धान गर्दै जाँदा कुनै एक व्यक्तिले ह्याक गरेका रहेछन्। बेपत्ता भएको गीत पाएपछि ती कलाकार दङ्ग हुँदै फर्किए।

उक्त दुई घटना त उदाहरण मात्र हुन्। व्यूरोका अधिकारीले यस्ता कैयौँ मुद्दाको समाधान गरेका छन्। 

नामी डाक्टर, नाम चलेका कलाकार, वकीलदेखि पत्रकारसम्मका साइबर समस्या व्यूरोका अधिकारीले समाधान गरेका छन्, त केही मुद्दाहरु प्रक्रियामै छन्। जसका कारण पनि साइबर व्यूरोको लोकप्रियता समाजमा बढ्दै गएको छ।

व्यूरोले पनि आफूलाई शहर मात्र हैन, गाउँमा हुने साइबर समस्यालाई हल गर्न प्रविधिको सहयोगमा अनुसन्धान प्रक्रियालाई अघि बढाउने तयारी गरेको छ।

त्यसका लागि व्यूरोले स्थानीय स्तरका प्रहरीलाई साइबर समस्याका उजुरी आए पक्रियागत ढंगबाट सिधै व्यूरोको कार्यालयमा पठाइदिन परिपत्रसमेत गर्दै आएको छ।



एक नाबालिकाको अभियुक्त पहिचान गर्ने यस्तो 'ट्रिक' : जसले प्रहरी नै चकित

दिपाश्रीलाई सुत्न नदिएका १४ वर्षीय ह्याकर: जो ९ कक्षामा पढ्छन् 

मलेसिया बसेर नेपालका युवतीलाई उनीहरूकै नाङ्गो फोटो पठाउने खजुमको साइबर आतङ्क 

प्रकाशित मिति: : 2021-06-21 22:43:00

प्रतिकृया दिनुहोस्