
डिल्ली पाण्डे
राम्रै नाम चलेको एक प्राइभेट कम्पनीकी सञ्चालिका २८ वर्षीया महिलाले आफ्नो साथीलाई फेसबुकको म्यासेन्जरमा एउटा सन्देश पठाउँदै सोधिन्,‘फ्रेस हुन नगरकोट जाने हो?’
त्यो म्यासेजले पुरुष साथीको होसै उड्यो। लामो समयदेखि संगत गर्दै आएकी मेनुका (परिवर्तन गरिएको नाम) ले यस्तो म्यासेज पठाउँलिन् भन्ने कल्पना पनि गरेका थिएनन्, ती पुरुष साथीले।
उनले तत्कालै कुनै निर्णय गर्न सकेनन्। केही दिन यो म्यासेज गुपचुप राखेपछि उनको मन हलचल हुन थाल्यो। मिल्ने साथीलाई भन्न मात्र के लागेका थिए, त्यस्तै म्यासेज अर्को साथीलाई पनि गएछ। उनीहरूबीच गहन छलफल भयो। दुबै अचम्म परे, ‘मेनुका यस्तो बिग्रिएको त थिइनन्? फेरि लोग्ने पनि सँगै छ।’ यस्तै भलाकुसारीपछि उनीहरू छुटिए।
प्रहरीको लामो अनुसन्धानपछि केटा साथीहरूलाई यस्तो म्यासेज पठाउने व्यक्तिको पोल खुलेको छ। मेनुकाले पठाएको भनिएको त्यो म्यासेज उनको श्रीमानले पठाउने गरेका रहेछन्।
एक वर्षसम्म मेनुकाका श्रीमानले दर्जनौ साथीलाई यस्तै म्यासेज पठाइरहे। जसको म्यासेन्जरमा म्यासेज गयो, उनीहरूका नजरमा मेनुकाको चरित्र खराब भयो।
श्रीमतीको फेसबुक पेज ह्याक गरी उनैका श्रीमानले अमानवीय काम मात्र गरेनन्, परपुरुषसँग रात काट्न गएको भन्दै प्रत्याडित पनि गर्न थाले। श्रीमतीसँग रकम पनि असुले।
मेनुकाको एउटा मिल्ने साथीलाई पनि उनले यस्तै म्यासेज पठाएका रहेछन्। तर, मेनुकाको साथीलाई खुल्दुली भएछ। उनले म्यासेज पढेपछि आफैसँग सोध्न थालेछन्, ‘मेनुका त यस्ती थिइनन्? कसरी यस्तो म्यासेज आयो?’
उनले मेनुकालाई हपार्दै भनेछन्, ‘कस्तो म्यासेज पठाएको?’ यसपछि मात्र मेनुकाको श्रीमानको पोल खुल्यो। पहिले त मेनुका अतालिइन्, आफ्नो फेसबुकको म्यासेन्जरबाट कसरी यस्तो सन्देश साथीहरूलाई गयो?
केही दिनपछि उनले अठोट गरिन्, यो घटनाको छानवीनका लागि प्रहरीको सहयोग लिने।
पहिले त उनले आफ्नो फेसबुक खेल्ने प्रयास गरिन्, त्यो खुलेन। त्यसपछि साथीलाई पठाएको म्यासेजको स्कीनसट लिएर नेपाल प्रहरीको साईबर ब्यूरो पुगिन्। ब्यूरोले अनुसन्धान सुरु गर्यो।
अनुन्धानकै क्रममा प्रहरीको शंका उनकै श्रीमानतर्फ तेर्सियो। र श्रीमतीको फेसबुक चलाएर श्रीमानले लामो समयदेखि धन्दा चलाइरहेको प्रमाणित भयो।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार मेनुकालाई वेश्याबृत्तिमा लागेको जस्तै गरी उनको श्रीमानले म्यासेन्जरमा संवाद गरेको देखिन्छ। उनले कैयनलाई रात बिताउन जाने भन्दै अग्रिम रकम माग गरेको र केहीले दिएको समेत पुष्टि भयो।
अनुसन्धानमा श्रीमाननै यस्तो कार्यमा संलग्न भएको खुलेपछि श्रीमती विछिप्त भइन्। श्रीमानलाई ‘डिभोर्स’ गर्नेसम्मको स्थिति बनिसकेको थियो। तर ब्यूरोका अधिकारीको ‘काउन्सिलिङ’ पछि ‘डिभोर्स’ भने हुन पाएन।
प्रहरीका अनुसार मेनुका आफ्नै प्राइभेट कम्पनी चलाउदै आइरहेकी थिइन। श्रीमान पढेलेखे पनि बेरोजगार थिए। उनलाई मेनुकाले मासिक ५० हजार कमाई हुने गरी आफ्नो कम्पनीमार्फत विदेश पठाइन्। सुरुमा ५० हजार बुझ्ने मेनुकाका श्रीमानको तलब पछि बढेर २ लाख ५० हजारसम्म पुग्यो।
विदेश गएको २ वर्षसम्म उनले श्रीमतीलाई शंका गरेनन्। आर्थिक अभाव पनि टर्दै गयो। तर, पैसा कमाउन थालेपछि उनले श्रीमतीलाई शंकाको दृष्टिकोणले हेर्न थाले।
मेनुका बेलाबेला विदेश गइरहन्थिन्। त्यो देखेर उनको पतिलाई झनै जलन भयो र उनी नेपाल फर्किए। नेपाल फर्किएपछि श्रीमतीसँग दैनिक झगडा मात्र गर्थे। यसैबीच उनले श्रीमतीको फेसबुक पेज ह्याक गरे। सोही पेजमार्फत श्रीमतीको चरित्र हत्या गर्न थाले।
अनुसन्धान अधिकारीका अनुसार सुरुमा मेनुकाका श्रीमानले को-कोसँग कुरा गर्छिन् भन्ने सुराकी गर्न श्रीमतीको फेसबुक ह्याक गरेका थिए। तर बीचमा उनको मन फेरियो। श्रीमतीको फेसबुक प्रयोग गरी सहजै पैसा कमाउन सकिनेरहेछ भन्ने उनलाई लाग्यो। यसैले उनले त्यो धन्दा अघि बढाए। यसरी कमाएको पैसाले पाँच तारे होटलमा बसेर सकाएको ब्युरोको अनुसन्धानमा पत्ता लागेको छ।
‘केही दिनको काउन्सिलिङपछि श्रीमान-श्रीमतीको सम्बन्ध राम्रो भयो। उनीहरूले मुद्धा मामिलामा नजाने निधो गरे। हासीखुसी ब्युरोका अधिकारीलाई धन्यवाद दिँदै घर लागे। अहिले उनीहरुको सम्वन्ध राम्रो छ,’ ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बिएल नेपाली सेवालाई बताए।
उनी विगतमा पनि प्रहरीले यस्ता कैयौं घटनामा मेलमिलाप गराएको बताउँछन्। उनी भन्छन्, ‘साइबर अपराध गने धेरैजसो भोलिको दिनभन्दा पनि तत्कालको समय हेर्दा रहेछन्। उनीहरू अघिपछि केही नहेरेर अपराध कर्ममा लागेको देखियो। हामी अपराध रोक्नेभन्दा पनि निर्मुल पार्नेतर्फ लाग्नुपर्छ।’
पटके अपराधी बनाउने की एक पटक अपराध गरेकालाई फेरी अपराध कर्म छाड्न प्रोत्साहित गर्ने यसमा विचार पुर्याउनुपर्ने एसएसपी अर्यालको भनाई छ।
ब्यूरोले पक्राउ परेका सबैलाई मुद्धा चलाएको छैन। उनीहरूको अपराध हेरेर भोलिको दिन सप्रिने सम्भावनाकाबीच प्रहरीले व्यवहार गरेको छ।
पक्राउ परेका कतिपय युवायुवतीमा चेतनाको कमि देखिन्छ। ‘हाम्रोबाट कारवाही भोगेर गएकाहरूले अहिले आफै अपराध गर्नुहुदैन भन्ने कुराको पाठ समाजलाई सिकाउन थालेका छन्’, अर्याल भन्छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया