'कल ब्वाय' बन्दाको अनुभव

बिहान त्यस्तै १० बजेको हुनुपर्छ। छोरी भर्खर उठेकी थिइन। उनलाई बिहानको खाजा खुवाउदै थिए। फोनले म्यासेज आएको सङ्केत गर्याे। व्यस्त भएपनि म्यासेज आएको आवाजले मेरो ध्यान त्यता मोडियो। 

मोबाइल उठाएर हेरे। लेखिएको रहेछ– ‘हे बेबी, आर यु एभेलेबल दिस इभिनिङ्। ह्वाट इज योर सर्भिस चार्ज?’ 

पढेर झसङ्गै भए।

करिब ९ वर्षअघिको घटना हो, यो। क्यानडा आएको त्यस्तै २/३ हप्ता मात्र बितेको थियो। भर्खर अपार्टमेन्ट भाडामा लिएर सरेका थियौं, ओन्टारियोको सानो सहर किचनरमा। त्यसमा पनि व्यक्तिगत फोन लिएको त्यस्तै ८/१० दिन बितेको हुनुपर्छ। 

नयाँ  ठाँउ। नयाँ परिवेश। नया नम्बर। एक दुई साथीबाहेक कसैको नम्बर सुरक्षित थिएन। मेरो नम्बर थाहा पाउने पनि १/२ जना मात्र साथीभाई थिए। 

नयाँ परिवेशमा कसैले जिस्काउन ठट्टा गरेका होलान्, सुरुमा मलाई यस्तै लाग्यो। तर, अर्कोतर्फ यो मान्छे को होला? किन यसरी वाहियात म्यासेज गरेको होला? मनमा कौतुहता भने जागिरह्यो। तत्काल कुनै प्रतिक्रिया जनाइन। अर्को उपाय पनि त थिएन नि। त्यसैले सुरुमा वास्ता गरिन। 

क्यानेडेली सरकारको कागजी प्रक्रियामा नाममा एकरुपता नहुँदा कामका लागि मैले यहाँ अनुमति पाइसकेको थिइन। श्रीमती (विनु)ले भने काम सुरु गरिसकेकी थिइन। उनी काममा गएकी थिइन। म छोरी हेर्दै घरायसी काम गर्थे। बिहानको खाना बनाउने, लुगा धुने, ओछ्यान मिलाउने, सरसफाई र भाडा माझ्नेलगायतका काम मेरो जिम्मा थियो। त्यसैले मनमा कौतुहलता भएपनि म्यासेजलाई वास्ता नगरी कामतर्फ लागे । आफ्नै तालमा मस्त थिए, म।

खाना बनाइसकेपछि फेरि फोनले ध्यान तान्यो। यस अवधिमा २ वटा नयाँ नम्बरबाट फोन आइसकेको रहेछ। सेभ भएका नम्बर थिएनन् ती पनि। अब मनमा थप शंका-उपशंका बढेर गयो।

कसले? किन? कहाँबाट फोन गर्याे? मनोबाद सुरु भयो– कतै सर्भिस क्यानडाले (क्यानडाको सरकारी अफिस) त गरेन? फेरि मेरो नम्बर उसलाई दिएकै छैन, कसरी गर्छ? हैन यहाँको सिस्टमले त नामका आधारमा पत्ता लगाउन सक्छ होला? हैन त्यसो भए एउटै नामका फरक फरक व्यक्ति पनि त हुन्छन? त्यस्तो अवस्थामा सही व्यक्तिको नम्बर कसरी पत्ता लगाउँछ त? यस्तै–यस्तै जिज्ञासा र समाधानको दोहोरी मनमा निकैबेर चलिरह्यो। 

यसैबीच विनुको फोन आयो, खाजाखाने समयको छुट्टिमा। त्यतिबेला उनलाई घटना सुनाउन मन लागेन। आफै स्पष्ट भइसकेको थिइन। नया“ नम्बरमा रिडाइल र म्यासेज रिप्लाई गर्ने हिम्मत पनि जुटिरहेको थिएन। कारण, पहिले त अङ्ग्रेजीमा आफू ‘टाइटाइ फिस’। दोस्रो– नचिनेको नम्बरबाट आएको कल र तेस्रो विनु घरमा थिइनन्। तुलनात्मक रूपमा अङ्ग्रेजीमा उनी मभन्दा जान्ने थिइन। हरेक अङ्ग्रेजी भाषाका संवादमा उनले मलाई भपर्दो साहारा दिन्थिन्। दिइरहेकी पनि छन्। हुनचाहि हामी दुवैको निम्न औषतकै अंग्रेजी बोलाई हो। मभन्दा उनी बुझाईमा अलि अघि हुन्।  

त्यही दिन दिउ“सो २ बजेतिर फोनको घण्टी फेरि बज्यो। यसो हेरे, पुनः नयाँ नम्बरबाट आएको छ। के गर्ने, कसो गर्ने? मनमा द्वविधा भयो। हिम्मत गरेर फोन रिसिभ गरे। 

हल्लो भन्न सकिन। उतैबाट प्रश्न आयो। सबै प्रश्न स्पस्टसँग बुझिन् तर आशय र भाव भने केही बुझेजस्तो अनुभव भयो। टुटेफुटेको भाषाका कारण दोहोरो संवाद गर्न कठिन भएको थियो। मनका थुप्रै जिज्ञाशा थिए। तर, गलत नम्बर भनेर फोन काटे। 

मन झन् अशान्त भएर आयो। नताव एक्कासी बढ्यो। जे भइरहेको छ, त्यो गलत छ। यसरी फोन र म्यासेज आउनुको कारण के त? अनि समाधान? गहिरो चिन्तामा डुबेछु। छोरी रुएको आवाजले एकाग्रता भङ्ग भयो। अनि कामबाट विनु फर्किने प्रतिक्षामा बसे। 

केही समयपछि कामबाट विनु फर्किइन्। मैले राहतको स्वास फेरे। निकै थकित थिइन। सुरुमा घटनाक्रम सुनाउन चाहेको थिइन। तर मन मानेन, सुनाए। म्यासेज देखाए। उनले पढिन। पढेर उनी पनि ट्वा परिन। 

म्यासेज थिएनै त्यस्ता। के भइरहेको छ, उनलाई पनि थाहा हुने कुरा भएन। केहीबेरको शान्त तथा अन्यौलको वातावरणलाई चिर्दै उनले भनिन्–‘के हो, नयाँ व्यवसाय कहिलेदेखि हो?’ गतिलै छड्के दनक दिइन् मलाई। उनी पछिसम्म पनि जिस्काइरहन्थिन् यो विषयमा मलाई। 

छलफल र सल्लाह भयो। किन यस्ता म्यासेज र कल आइरहेका छन्, पत्ता लगाउनु पर्याे भन्नेमा दुवैजना सहमत भयौं। निश्कर्ष निकाल्यौं, रिप्लाई गर्ने। दुवैले फोनलाई हैन म्यासेजलाई रिप्लाई गर्ने निर्णय गर्याै। किनभने बोल्नभन्दा लेख्न सहज लाग्थ्यो, हामीलाई। 

प्रायः म्यासेजमा एउटै भाव थिए। हामीले पहिलो म्यासेजमा अलि नम्रता र सरलता पायौं। अनि त्यसैलाई आफ्नो परिचय दिएर केही जिज्ञासा राख्दै रिप्लाई गर्याै। केही समयपछि उताबाट पनि आफुले नम्बर, सर्भिस र विवरण कसरी कहाँबाट प्राप्त गरेको सबै जानकारी दिए। जे भएपनि रिप्लाई गर्ने निर्णय सहि सावित भयो। उसैले दिएको जानकारीलाई हामीले फलो गर्ने निर्णय गर्याै। उसले कानूनी प्रक्रियामा जानेसम्मको सल्लाह नदिएको होइन। 

क्यानडामा यौनजन्य गतिविधि शर्तात्मक रूपमा कानूनी छुट छ। तर, सन् २०१४ मा कन्जरभेटिभ सरकारले यसमा परिमार्जित नियम ल्याएको छ। जस अनुसार यौन किन्न र विज्ञापनलाई गैरकानुनी बनाएको छ। यद्यपि यौनजन्य सेवालाई अझै कानुनी मान्यता छ र यौन बेच्न पाइन्छ। यस्ता गतिविधिमा संलग्न हुन सम्बन्धित निकायबाट अनुमति र लाइसेन्स लिएको हुनुपर्छ। सन् २०१४ अघि यौन व्यवसायमा तुलनात्मक रूपमा कानुनत खुलापन अधिक थियो। 

भएको के रहेछ भने, स्थानीय सहरमा एउटा दैनिक पत्रिका रहेछ। पत्रिकाको नाम थाहा भएपछि हामीले त्यो पसल (स्टोर) मा गएर पत्रिका लिएर आयौं। त्यहाँ एउटा वर्गिकृत विज्ञापन छापिदो रहेछ। त्यसमा नाम उल्लेख नगरी एक यौन सेवाका लागि विज्ञापन प्रकाशित भएको रहेछ। सम्पर्क नम्बर मेरो व्यक्तिगत नम्बर परेछ। हामीले तनावको जड पत्ता लगायौं। अब ध्यान समस्या समाधानतर्फ मोडियो।

पत्रिकाको कार्यालयमा सम्पर्क गर्ने निर्णय गरियो। पहिले पत्रिका बजार व्यवस्थापकसँग सम्पर्क गरे। त्यसपछि सम्पादकलाई म्यासेज छोड्यौं। यहाँ पनि समस्या आयो। म एउटा भन्छु, उता बुझाउन समस्या। केही समयको प्रयासपछि आफूले भन्न खोजको बुझाउन सफल भए। आफ्नो विवरण टिपायौं। एउटा कुरा के हो भने- उनीहरूलाई थाहा छ, इमिग्रेन्ट मानिसको भाषामा समस्या हुन्छ। त्यसैले भाषातर्फ लाग्नेभन्दा पनि के भन्न खोजेको भन्ने बुझ्ने प्रयास गर्छन। यसरी सम्बन्धित व्यक्तिलाई समस्या पुर्याउने आश्वासनपछि फोन राखियो। 

त्यसको १५ मिनेट भित्रनै फोन आयो। उठाउने–नउठाउने दोधारमै फोन उठाएँ। फोनमा आफ्नो नाम बताउदै सम्बन्धित पत्रिकाको सम्पादक भएको बताए। उनले आफ्नो कुनै मनसाय नभएको र गल्तीका कारण भोग्नु परेको मानसिक तनावको क्षमा माग्दै गल्तीका लागि माफी मागे। उनले एक पटक होइन, पटक-पटक क्षमा मागे। 

सायद उनले आंकलन गरे होलान, गल्ती सुधारिएन भने यसले ठूलै कानुनी समस्या निम्त्याउन सक्छ। अहिले आएर सोच्छु-मेरो त्यतातिर जाने कुनै मनसाय थिएन, त्योबेला। कारण हामी नितान्त नौलो थियौं, यहाँको समाज र कानुनसँग।

मैले नेपालमा प्रिन्ट मिडियामा एक दशकभन्दा बढी समय बिताएको थिए। त्यसमा पनि प्रिन्ट मिडियाका सबैपक्ष नजिकबाट बुझेको थिए। नेपालीमै टाइपिङ ‘इरर’ भएर शब्दको गलत अर्थ लागेका कैयौं घटना थिए। कतिपय अवस्थामा सहकर्मीबाट भएका यस्ता घटनाका कारण जागीरबाटै हात धुनुपरेको थियो। आफैबाट पनि बुझाइमा फरकपन भएका कारण कतिपय गल्ती नभएका होइनन्। यही कारण मैले यसलाई सामान्य रुपमा लिए। 

मलाई यहा फरक अनुभूति भएको कुरा, समस्या चाँडै सुनुवाई भयो र सम्बन्धित प्रकाशनका सम्पादकले नै फोन गरेर दोहोर्याइ- तेहेर्याइ माफी मागे। जसको गल्ती भएपनि आफैले फोन गरेर गल्ती स्वीकार गर्नु चाही सह्रनीय थियो। मेरो बुझाइमा टाइपिङ ‘इरर’ या भनौं मानवीय गल्ती थियो, त्यो । 

नेपालमा म आवद्ध पत्रिकाका यस्ता विवरणका विज्ञापन प्रकाशन हुँदैन थिए। या भनौ कानुनत स्वीकृत पनि थिएन। मेरा लागि यो समस्या नितान्त नौलो थियो।

दिनभरको तनावपछि मन केही हल्का भएको थियो। मोबाइल स्वीच अफ गरे, दुई दिनसम्म। अन गर्दा थप केही म्यासेज आएका रहेछन्। जे भएपनि तनावबाट मुक्त भइसकेका थियौं, हामी। त्यसपछि ठगीका अनेकौ कल आइलागे पनि कल गर्ल÷वा व्यायका लागि म्यासेज र कल आएको छैन, आजसम्म।



एक गुमनाम अभियन्ताको दुःखद निधन

के केपी ओलीले त्यागको राजनीति गर्लान? 

नेपालमा अपराध गरेर अमेरिकामा 'डिङ' हाक्ने नेपालीहरु

प्रकाशित मिति: : 2021-05-15 13:06:00

प्रतिकृया दिनुहोस्