फेसबुकमा स्टाट्स राख्न खासै जागर चलाउने मान्छे त होइन, म। हिजो साँझ आमाले फोन गरेर भन्नुभयो–‘मैले सम्झेनी, यो वर्ष सबैले फेसबुकमा आफ्नो फोटो राखेका छन्। त पनि राख न।’
फोटो राख्न खासै जागर चलेन्। तर आमाको भनाईले मनमा एक किसिमको उमंग तरंगीत भएको अनुभव गरेँ। रात छिपिदै थियो, त्यो दिन सपरिवार खाना खाएर सुतियो। आज बिहान फुर्सद भएपछि फेसबुक खोल्न पुगे, जहाँ धेरैले एउटा अप्रिय दुःखद खबरबारे स्टाट्स लेखेको देखे। जसको बारेमा लेखिएको थियो, उहाँको अनुहार मेरो स्मृतिमा धुमिल भएको रहेछ। दिनभरी मानसपटलमा उही व्यक्ति र उहाँले गरेको काम घुमिरह्यो र यो स्टाट्स लेख्न मन लाग्यो।
समय यकिन भएन। कुरा २०४७–४८ साल तिरको हुनुपर्छ। तत्कालीन साब्ला गाबिसमा एकाद वर्ष भएको थियो, स्थानीय खोरुङ्गा खोलाबाट विद्युत उत्पादन गरी बिक्रि बितरण भएको। एकदिन तत्कालीन स्थानीय पिप्ले गाबिस निवासी ज्ञानबहादुर खत्री मेरो बुवा स्वर्गीय ज्ञाननाथ सुवेदीलाई भेट्न घरमै आउनुभयो। उहाँले एउटा प्रस्ताव लिएर आउनुभएको रहेछ। प्रस्ताव थियो, गाउँमा मिल सञ्चालन गर्ने।
उहाँको प्रस्ताव सुनेपछि बुवा तत्कालै सकारात्मक हुनुभयो। स्थान छनोटमा भने प्रारम्भमा बुवा र आमाको संयुक्त जोड गाबिस भवनभन्दा एक किलोमिटर तलको जग्गामा जोड थियो। तर, बाटोघाटोको असुविधा र अन्य कारण ज्ञानदाईले बुवाकै अधिनमा रहेको कान्छी आमाको परिवारले भोगचलन गरिआएको गाबिस भवनसँग जोडिएको स्थानलाई प्रस्ताव गर्नुभयो।
मलाई आर्थिक जानकारीको पूर्ण ज्ञान त भएन तर जहाँसम्म लाग्छ, यो जग्गा बुवाले निश्चित समयका लागि निःशुल्क दिनुभएको थियो। कालान्तरमा परिवारका जेठा दाईले के–कसो गर्नुभयो जानकारी भएन्।
सामान्य रुपमा हेर्दा उहाँले व्यवसाय गर्नुभएको थियो। केही आर्थिक आर्जन पनि गर्नुभयो होला। तर, तत्कालीन समयमा त्यो स्थानमा मिल सञ्चालन गरेर हाम्रो साब्ला गाबिस लगायत, तत्कालीन आम्बुङ्ग, ओयाक्जुङ्ग, जलजले लगायतका स्थानीय वासिन्दाले भने निकै ठूलो राहत र परिवर्तन महसुस गरेका थियौं। विषेशगरी स्थानीय आमा, महिला, दिदीबहिनी र केही हदसम्म दाजुभाईले समेत रातदिनको झन्झटबाट राहत महशुस गरेको मैले अनुभव गरेको थिए। ढिंकी, जातो र कोल (तेल पेल्ने) मिल सञ्चालनले स्थानीय स्तरमा ठूलै परिवर्तन भएको थियो। त्योभन्दा बढी यसले स्थानीय सबैको समय बचत गराएको थियो भने अर्कोतर्फ सामाजिक रुपान्तरण पनि ल्याएको थियो। यो एउटा सानो काम भएपनि आफ्नै चौकोसभित्र ढिंकी जातोमा अल्मलिएका महिला दिदीबहिनी घरबाट बाहिर निस्कने सूवर्ण अवसर पनि जुरेको थियो।
प्रजातन्त्रपछि समाजमा बढेको बेमेलको अवस्थालाई केही हदसम्म सामाजमा मेलमिलाप कायम गराएको थियो। यो विन्दुले वैचारिक रुपमा समाजिक दुरी कम गर्न र स्थानीय वासिन्दामा विकासको सञ्चार गर्ने काम भएको थियो। यसरी व्यवसाय गरेर पनि सामाजमा सकारात्मक असर छोड्यो भने सामाजिक महत्व राख्छ भन्ने उदाहरण दाई ज्ञानबहादुर खत्रीले प्रमाणित गर्नुभएको थियो।
हो, उहाँ दाई ज्ञान बहादुर खत्री हिजोबाट हामी माझ रहनुभएन। उहाँ एक सामाजिक अभियन्ता पनि हुनुहुन्थ्यो। पेशागत रुपमा मलाई जानकारी भएसम्म २०३९–४० सालमा खोरुङ्गा खोला जलविद्युतको सर्भेक्षण ओभरसियर भएर काम पनि गर्नुभएको थियो। उहाँ भिजन बचत तथा ऋण सहकारी संस्थाका सस्थापक शेयर सदस्य एवम् सल्लाहकार समितिका संयोजक तथा तत्कालीन पिप्ले गाविसमा २ पटक अध्यक्ष पनि हुनुभयो। जिल्लाका बरिष्ठ नेतामध्ये एक मेरा अग्रज काल्दाईको निधन ६२ वर्षमा भएको हो।
व्यक्तिगत रुपमा उहाँसँग मेरो भेट नभएको केही दशक नै भएको रहेछ। मेरा यिनै शब्दमार्फत उहाँको आत्माको चीरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दुछ।