शनिबार, ०८ नोभेम्बर २०२५

चन्द्रगिरी केबलकार र रिसोर्ट पुन: सञ्चालन

News Image
• • •

चन्द्रागिरी केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। जेनजी आन्दोलनपछि लगभग ६० दिनदेखि यो केबलकार पूर्णरुपमा बन्द भएको थियो।

केबलकारसँगै त्यहाँको चन्द्रागिरी हिल्स (रिसोर्ट) पनि सञ्चालनमा आएको छ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेको थियो। त्यसपछि पछि चन्द्रागिरी केबलकार तथा रिसोर्टका सेवा अवरुद्ध भएका थिए।

त्यसपछि केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक झिकाएर आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो।

चन्द्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालले सेवा पुनः सुचारु हुने अवस्थामा ल्याउन खटिएको प्राविधिक टिमलाई निरन्तर कडा मेहनत तथा उत्कृष्ट कार्यका लागि धन्यवाद दिँदै भक्तजन र पर्यटकहरूको धैर्यता प्रति आभार व्यक्त गरेका छन्। अध्यक्ष ढकालले सेवा पुनः सुरु भएपछि काठमाडौँ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालुहरू सबैलाई पुनः स्वागत गर्ने पनि बताएका छन्।

केबलकार सेवा पुनः सुरु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु प्राप्त गर्न सक्नेछन्।

सेवा बन्द हुनु अघि, चन्द्रागिरी केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए। चन्द्रागिरी हिल्स व्यवस्थापनले सेवा सञ्चालन तथा सुचारु बनाउन स्थानीय समुदायले देखाएको निरन्तर सहयोग प्रति पनि धन्यवाद दिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!