विनायक कार्की
पुरुष हुँ म। एउटा पुरुषमा हुनु पर्ने सम्पूर्ण शारीरिक गुण छन् ममा।
सानोतिनो तनावबाहेक दिमाग अहिलेसम्म ठीकै छ। तर, 'पुरुष' भएर जन्मनुको गर्व छैन, मलाई। फिट्टिकै छैन त कसरी भनौँ? तर दिनानुदिन शुन्यतिर लम्कँदै छु।
जसरी 'डिप्रेसन' कुनै एक घटनाको मात्र कारण नभई थुप्रै अनपेक्षित पिडादायी क्षणको परिणाम मानिन्छ, त्यसैगरी कसैले अरुको अस्तित्वप्रति औँला ठड्याउनुमा एउटा मात्र निर्मम् घटनाको हात हुँदैन।
उमेरले १८-२० को सेरोफेरो मात्र पुगेपनि संसारलाई नजिकबाट नियाल्दै हुर्केको हुनाले सही गलत के हो? ठम्याउन सक्छु। अलिअलि विवेक पनि छ र अपनाउनु पर्ने सावधानी तथा अपेक्षित दुर्धटनाबारे केही ज्ञानपनि छ ममा।
विकासको घडीमा झुन्डिएर घरि यता, घरि उता घुमिरहेको पेन्डुलम देश हो नेपाल। यहाँ नीति नियमको प्रस्तावना र फेरबदल यति सिघ्र हुन्छ कि औसत मान्छेले ५ पटक आँखा झिम्क्याउँदा ऐनमा बदलाव आइसकेको हुन्छ। सकरात्मक परिवर्तनलाई त अँगाल्न सकिएला तर भाइ-भतिजलाई जोगाउन हुने यस्ता फेरबदललाई के नाम दिने हो, खोई?
राजनीतिक अस्थिरतालाई एकछिन विश्राम दिँदै पुनः पुरानै शिर्षकमा घोतलिने प्रयास गरिरहेको छु। यो पढ्नुहुने महानुभावले मलाई थुक्नसक्नु होला अथवा बढीमा 'तेस्रोलिङ्गी' को दर्जा पनि दिन सक्नुहोला। मलाई यसले तात्विक फरक पार्दैन।
एकछिन ऐनामा नियालेर आफैलाई सोध्नुहोस् त- कति पवित्र छ तपाईँको मन।
कुनै रुपवती युवती देख्दा कति वेविचारी भावना दौडिन्छन् तपाईको मनभित्र। ठीकै छ, सुन्दरताकाे साक्षी हुन पाउँदा मन डगमगाउनु गलत कुरा होइन। तर मनको साथसाथै तपाइको दिमागपनि अचेत हुन थाल्छ र शरीरमा चरम उर्जाको विकास भई असन्तुलित शरीरलाई जब तपाई जबरजस्ति घिस्याउनुहुन्छ, यसले ठूलै समस्या निम्त्याउने गरेको छ।
‘हामी पुरुष हौँ। महिलाभन्दा हरेक कुरामा अगाडी छौँ। हामीलाई जे मन लाग्छ त्यो गर्न पाउनुपर्छ’ भन्ने सोच तपाईँभित्र छ भने त्यसलाई तुरुन्तै मारिहाल्नुहोस्।
पुरुष भएर किन म आफैप्रति घृणा व्यक्त गरिरहेको छु? यसको कारण छ। कुरा करिब ६ महिना पहिलेको हो। फेसबुकजस्तो सर्वव्यापी सामाजिक सञ्जालमा बलात्कारी संगठन भन्ने पेज केहि महान 'पुरुष'हरुले चलाइरहनु भएको रहेछ। त्यो सुनेर मेरो मनमा केही डर पलायो, साथ साथै कौतुहलता पनि जाग्यो।
सँगै छरेका डर र कौतुहलताका बिउ कतिबेला मनमा पालुवा पलाएर हुर्किसकेको रहेछ मलाई थाहा नै भएन। तर जित कौतुहलताको बोटैको भयो।
उत्सुकतापूर्वक मैले समूह बनाएर पोष्टहरुलाई आफ्ना औँलाले केलाउन थालेँ। मलाई १ प्रतिशत पनि अपेक्षा थिएन कि मजस्तै मजत्रै 'पुरुष' भनाउँदाको सोच यति बिघ्न दुषित रहेछ। दिनहुँ रुद्रमती (धोबिखोला) किनारै-किनार हिँड्ने मलाई त्यस दिन रुद्रमतीभन्दा नमिठो मेरो मोबाइल गनाइरहेको भान भयो।
भर्खर १६-१७ लाग्दै गरेका कलिला केटाहरुले पोष्ट गरेका रहेछन्। नानाभाति। घिनलाग्दो। सम्झँदै उल्टि आउने। कोही राष्ट्रपतिका सम्पूर्ण परिवारलाई ‘बलात्कार’ गर्न तम्सिरहेका थिए त कोही ‘नेपालका सबै केटीलाई बलात्कार गर्छु’ भन्न समेत पछि हटेका रहेनछन्। जुँगाका रेखीसमेत नबस्दै पुरुषको लिंग हुँदैमा मात्र भावनात्मक बहकाउमा आएर यतिविधि असामाजिक र अमानवीय कल्पनाको खाडलमा फसेंका 'पुरुष'लाई पूर्ण अचेत अवस्थाबाट होसमा ल्याइउन कानूनी प्रकृया अपनाउनै पर्छ भनि मैले तुरुन्त साईवर व्यूरो र केहि साथीको सहयोग मागेँ।
नेपाल प्रहरी (साइवर व्यूरो)को सहयोगमा ती सबै पक्राउ परे। सायद उनीहरुले कानून बमोजिम सजाय र आवश्यक सुझाव पनि पाए होलान्।
एउटा अनजान ग्रूपको च्याटमा मैले यस्तो पनि देखेँ, समयलाई उल्ट्याउन मिल्ने भए म त्यस दिनमा फर्किएर मेरो जीवनबाट त्यो दिन नै 'डिलिट' गरिदिन्थे। त्यो भिडियोलाई सम्झँदा अहिले पनि मेरा हाँत काम्ने गर्छ।
घटना भारतको हो। एउटा जोडी प्रेमिल भावना व्यक्त गर्न कुनै शान्त, एकान्त ठाउँमा बसेका रहेछन्। केटी सायद अपाङ्ग थिइन्। स्थानीय 'पुरुष'को समुह आई दुईजनालाई कुटपिट गर्छन् अनि ती युवतीका प्रेमीलाई घुँडा टेक्न लगाउँछन्। तिनको ज्यान मार्ने धम्की दिँदै ती महिलालाई सर्वाङ्ग पार्छन्। ती महिला लाचारीको हुरीमा रुमल्लिँदै, रुँदै, आफ्ना प्रेमीलाई केहि नगर्न अनुरोध गर्दै उनीहरुले भनेजसो गर्छिन्।
बेलाबेला ती 'पुरुष'हरु भनेको नमाने ज्यान मार्ने धम्की पनि दिइरहेका हुन्छन्। करिब ८ देखि १० जनाले पालैपालो ती महिलाको बलात्कार गर्छन्। तिनका प्रेमी अलि परतिर आँशुमा मुछिएका चामलका टीकासरि अड्नु न ढल्नुको हालतमा विवशतामा चुर्लुम्म डुबेका आँखाले प्रेमिकालाई झकझकाइरहन्छन्। सायद उनी भन्न खोजिरहेका थिए, ‘केहि छैन, म तिमीलाई माया गर्नेछु। सबै ठीक हुन्छ, चिन्ता नलेऊ।’
भगवान जानून- सबै ठीक भयो या दुवैको चिहान त्यही क्रूरतामा निसास्सियो। दैनिक असंख्यक रुपमा यस्ता अपराधका घटना हाम्रै आसपासमा घटिरहेका छन्। यौन शोषणको हिसाबै नगरौँ। गिन्तीभन्दा बाहिरका कुराको हिसाब गर्ने पनि कसरी?
यहाँ पुरुष यस्ता अपराधको सिकार हुँदैनन् भन्न खोजिएको होइन। तर समग्रमा हेर्दा महिलाको संख्या असामान्य भएको हुनाले महिलाको विषयमा मात्र चर्चा हुनेगर्छ। समस्याको समाधान खोज्नसकिन्छ, आउन सक्ने समस्याको होइन। समाधान खोज्ने क्रममा पनि समस्याको जरोको आकार हेरिकन अघि बढ्नसकिन्छ।
नेपाली समाजमा बच्चैदेखि लैङ्गिक असमानताको पाठ पढाई विभेदको सिर्जना गरिन्छ। जब बालकलाई सानैदेखि तँभन्दा तेरी दिदी कम भन्ने कुराको सुई घोपिन्छ, उसको मानसिकतामा ऊ सर्वोपरि छ भन्ने छाप बस्न पुग्छ। त्यसकारण, जब ऊ हुर्कँदै जान्छ, ऊ भित्र महिलालाई हेर्ने दृष्टिकोण छुट्टै हुन्छ। उसले महिलालाई सधैँ आफूभन्दा कमजोर ठान्छ अनि मनसाय सधैँ महिलालाई तल पार्ने हुन्छ। जे गरेपनि महिलाले केहि गर्न सक्दैनन् भन्ने सोचले ऊ महिलामाथि हिँसा गर्ने, शोषण गर्ने, दुर्व्यवहार गर्नेजस्ता कार्यमा अल्झिन थाल्छ।
समयक्रमसँगै विकास हुँदै आएको सञ्चार माध्यम आज ईन्टरनेटसम्म आइपुग्दा विश्व एउटा सानो गाउँमा रुपान्तरित भएको छ। ईन्टरनेटका देन थुप्रै छन् तर यहाँ पनि राक्षसी प्रवित्तिका मानिसको खाँचो छैन। माथि नै मैले केहि हदसम्म उल्लेख गरिसकेको छु। तर सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार दिनानुदिन बढिरहेको हुनाले यसबारे ध्यान दिनपर्ने समय आएको छ। महिलाहरु सामाजिक सञ्जालमै पनि सुरक्षित छैनन् भन्ने कुरा निम्न स्क्रिनशटहरुबाट प्रष्ट हुन्छन्।
सापेक्षहीन मेसेज र घिनलाग्दा अपशब्द प्राप्त नगर्ने सायदै कोहि महिला होलिन्। महिलाको दयालु स्वभावको फाइदा उठाएर भावनात्मक आक्रमण गरी स्वार्थ पूरा गर्न समेत कम छैनन्, ईन्टरनेटका 'पुरुष'। रोई-कराई गरेर मायाजालमा फँसाउने अनि महिलालाई पूर्ण रुपमा खोक्रो बनाई अर्धमृत स्थितीमा छोड्न 'पुरुष'हरु तल्लिन छन्, अर्को 'सिकार'को खोजीमा।
यसरी नै भावनात्मक रुपमा हिंसाको सिकार भएकी सुर्खेत कि १६ वर्षीया कृतिका ढुंगाना भन्छिन, ‘मलाई पहिला भिडियो कलमा अशलील कार्य गरौँ न भनेर मेसेज आयो। मैले त्यसविरुद्ध फेसबुकमा पोष्ट गरेँ। त्यसपछि उक्त मेसेज गर्ने व्यक्तिका साथिहरुबाट मेसेज आउन थाल्यो। मैले त्यस मान्छेलाई प्रहरीसम्म पुर्याउने सोचेकी थिएँ तर जब उसका साथीहरुले उसले आत्महत्या गर्ने कुरा बताए। म आत्तिएँ। अनि चुपचाप कुरा सेलाउन दिएँ। अहिले बुझ्दैछु- मेरो के गल्ति थियो र मैले डराउन पर्ने? त्यसबेला सोच्न सकिन तर अब यस बारे म बोल्नेछु। ममात्र हैन सबै दिदीबहिनीको हक छ आफूप्रति भएको दुर्व्यवहारविरुद्ध बोल्ने अनि उचित न्याय माग्ने।’
यस्तै सामाजिक सञ्जालमार्फत सार्वजनिक मानहानी सहेकी पीडित हुन्, काठमाडौँ निवासी १५ वर्षीया आयूषा ढकाल पनि। 'जस्ट नेपाली थिङ्ग्स' नामक फेसबुक पेज मार्फत 'नन-बाइनरी' जनसमुदायलाई आक्रामक पोष्ट भएको देखेपछि त्यसको निन्दा गर्दै आयूषाले उक्त पोष्ट शेयर गरिन्। लगत्तै उक्त पेजका एड्मीनले आयूषाको प्रोफाइल खोली, उनका तस्बिर केलाउँदै नचाहिँदा 'कमेन्ट' उनको 'सेमिङ' गरी त्यस रेकर्डिङलाई सार्वजनिक रूपमा पोष्ट गरे।
आयूषाकै अर्की साथी वर्षालाई त सोही एड्मीनले उनकै घर गएर बलात्कार गर्ने धम्की समेत दिएका थिए। यस विषयमा हामीले साईवर व्यूरोसँग छलफल पनि गरेका थियौँ तर परिवारको भयका कारण दुवै राजी नहुँदा दोषीमाथि कारवाही हुन सकेन।
फेसबूकमा #NamingAndShaming सहित यौन उत्पीडनका सिकार भएका महिलालाई एक आपसमा जोडी उत्पीडकविरुद्ध आवाज उठाउन साहस दिइरहेकी ब्रिगिड श्रेष्ठ बताउँछिन :
२० वर्षीया "मून" भने हिजोका दिन सम्झेर आफूमाथि परेको पीडा र आफूले भोग्नु परेको अत्याचार अरु कसैलाई नपरोस् भन्ने मनोकाङ्क्षासहित सम्पूर्णलाई जागरुक बनाउने ईच्छा बोकेर आफ्नो कहानी यसरी सुनाउँछिन्:
पुरुषको जीवन महिलामाथि निर्भर हुन्छ। पुरुष बिना महिला बाँच्न सक्छन् तर महिला बिना पुरुषलाई धेरै समय बाँच्न कठिन पर्छ। अनुसन्धान अनुसार पहिला श्रीमती मरेका श्रीमान केहि साल भित्रै मर्छन् तर श्रीमान मरेको पचासौँ वर्ष पनि महिला तन्दुरुस्त हुन्छिन्। यसको प्रमुख कारण महिलामा हुने आत्मबल र आत्मनिर्भरता नै हो। पुरुषले पुरातनवादी सोच बोकेर जति नै 'मै हुँ' भन्ने घमण्ड दर्साए पनि आखिर ऊ स्त्रीमै परनिर्भर हुन्छ।
अन्य विभिन्न मापनका इकाई प्रयोग गरी नाप-जोख गर्ने भए पनि महिला र पुरुषबीच भिन्नता पाइँदैन। महिला नै बरु पुरुषभन्दा माथि होलान्।
त्यसो हो भने पुरुष हुनुमा के को घमण्ड?
पुरुषत्वको अर्थ आफ्ना गिद्दे नजर महिलामाथि गाडेर शोषण गर्नु होइन। महिलाबिना जीवनको ज्योति नै निभ्छ भने किन त्यही महिलाको बाटो छेक्ने? किन त्यहि महिलालाई अनाहकमै आफ्ना आधारभूत हकबाट वञ्चित गर्ने? साधारण सम्मान र आदर समेत दिन सकिँदैन भने किन हरेक किसिमको पीडा दिने, शोषण गर्ने, शारीरिकदेखि मनोवैज्ञानिक पीडा दिने?
यदि फरक नै छुट्याउन सकिँदैन भने हिजो र आज भएको के अर्थ भयो? हिजोभन्दा आज विकसित हुनुपर्ने स्थानमा झन अवस्था बिग्रँदो छ। हिजोभन्दा आज महिला भयभित छन्। कसले कुन बेला बलात्कार गर्ने हो, एसिड हान्ने हो वा ईन्टरनेटमा के भन्ने हो? यसै भयका साथ महिला जिउन बाध्य छन्। आखिर यी सबै समस्याको जड को हो त ?
समाज पितृसत्तात्मक होस् या मातृसत्तात्मक, मलाई खासै फरक पर्दैन। तर यस्ता असामाजिक तत्वहरुका कारण छोरी-चेली, आमा-दिदी वा अरु कोहि हुन्, सुरक्षित साथ आफ्नो कार्य सम्पन्न गर्न, निस्फिक्री भई हिँडडुल गर्न र मनमा कसैको नियतप्रति आशंका नगरी साथ माग्न वा दिन असमर्थ छन् भने विकासको खोक्रो नारा लाएको के अर्थ भयो?
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया