नक्सलवादी नेता हिडमा: जसको टाउकोको मूल्य २५ लाख तोकिएको छ

भारतको छत्तिसगढ राज्यको बिजापुरमा गत शनिबार नक्सली आक्रमणमा २३ सुरक्षाकर्मीले ज्यान गुमाए। यो घटनाको प्रमुख योजनाकार हिडमाको टाउकोको मूल्य भारतीय सरकारले  २५ लाख तोकेको छ। 

जिवित वा मरेको जुनसुकै अवस्थामा उनको टाउको ल्याउनेलाई यो पुरस्कार राशी उपलब्ध गराउने सरकारी निर्णयसँगै उनी भारत सरकारका लागि कति टाउको दुःखाईको विषय बनिसकेका छन् भन्ने प्रमाणित भएको छ। 

हिडमा नक्सलको पिपुल्स लिब्रेशन गोरिल्ला आर्मी (पीएलजीए) बटालियन १ का कमाण्डर हुन्। प्रहरीले केही दिनयता सुकमा जिल्लाको जोनागुडास्थित टेकलगुडुम र जिरागाउँमा हिडमा र उनको साथीहरू भएको गोप्य सूचना प्राप्त गरेको थियो। राज्य सरकारले उनीहरूलाई समात्न ठूलो योजना नै बनाएको थियो तर त्यो काम लागेन। उल्टै सुरक्षाबलतर्फ ठूलो क्षति भयो। 



अमेरिकाका ९१ वर्षीय प्रहरी (भिडियोसहित)



डिआरजी, एसटीएफ र सीआरपीएफका सुरक्षाकर्मी शनिबार नक्सली कमाण्डर हिडमा बसोबास गर्ने मुख्य क्षेत्रमा प्रवेश गरेका थिए। हिडमा सहभागी पहिलो बटालियन आधुनिक हतियारबाट सुसज्जित छ। 

सुरक्षाकर्मीसँग भएको दोहोरो भिडन्तमा २३ जना मारिए। प्रहरीको दावी मान्ने हो भने नक्सलीतर्फ पनि ठूलो क्षति भएको छ। प्रहरीका अनुसार यो घटनामा १२ नक्सली मारिएका छन्। घटनाको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बस्तर रेञ्जका आइजी सुन्दरराज पीले भने, ‘त्यो ठाउँमा नक्सली कमाण्डर हिडमा आएको जानकारी हामीले पाएका थियौं। मुठभेडमा मारिएका नक्सलीहरूको लास उनीहरूले तीन वटा ट्रयाक्टरमा राखेर लगेका छन्। हामी अझै हिडमाको खोजीमा छौं।’

को हुन्, हिडमा?

हिडमा दंडकारण्य विशेष क्षेत्रिय कमिटीका ठूला नक्सल नेता हुन्। चार वर्षअघि सुकमा भएको अपरेशनमा उनलाई गोली लागेको थियो। तर, उनी बाँचेर निस्किन सफल भए। उनीमाथि २५ लाख रुपैयाँ इनाम छ। हिडमा बस्तरमा बसोबास गर्ने एक्ला यस्ता आदिवासी हुन्, जो नक्सलीको सबैभन्दा बलियो बटालियनको नेतृत्व गर्छन। बाँकी सबै नेता आन्ध्र प्रदेशबाट प्रतिनिधित्व गर्छन। नक्सलीको ठूलाठूला योजनामा उनको हात हुने गरेको छ। 

यसअघि उनले सुकमामा प्रहरीमाथि आक्रमण गराएका थिए। यतिबेला १२ सीआरपीएफ जवान मारिएका थिए। २०१३ मा कांग्रेस नेताको गाडीमा आक्रमण हुँदा यसको योजनाकार पनि हिडमा नै थिए। यो घटनामा कांग्रेस नेतासहित ३० जना मारिएका थिए। २०१० मा चिन्तलनार नजिकै ताडमेटलामा सीआरपीएफका ७६ सुरक्षाकर्मी मारिएका थिए। यसमा पनि हिडमाको हात थियो। 



नेपालमा ‘विमान अपहरण’ पछि छुटेका उमर शहिद शेखलाई कडा सजाय हुनुपर्ने अमेरिकी विदेशमन्त्रीको दबाब



हिडमाको पुरा नाम माण्डवी हिडमा अर्थात इदमुल पोडियाम भिमा हो। उनी सुकमा जिल्लाको जगरगुण्ड क्षेत्र नजिक पुडअती गाउँमा जन्मिएका थिए। उनी स्कुल गएका छैनन्। अनपढ भएपनि अंग्रेजी राम्रो बोल्छन्। कम्प्युटरमा पनि दख्खल छ। 

गुरिल्ला युद्धका उनी विशेषज्ञ मानिन्छन्। उनको दुई जना श्रीमती छन्। दुबै श्रीमती नक्सल गतिविधिमै संलग्न छन्। हिडमाका तीन भाई छन्। जसमध्ये माण्डवी देवा र माण्डवी दुल्ला गाउँमा खेती किसानी गर्छन। तेस्रो भाई माण्डवी नन्दा गाउँमा नक्सलीहरूलाई पढाउने काम गर्छन। हिडमाको एउटा बहिनी भिमे दोरनापालमा बसोबास गर्छिन। 

भारतको नेशनल इन्टेलिजेन्स एजेन्सी (एनआइए) को रिपोर्टअनुसार हिडमाको उमेर ५१ वर्षको छ।


४६ वर्षको भयो माइक्रोसफ्ट !

प्रकाशित मिति: : 2021-04-06 08:27:00

प्रतिकृया दिनुहोस्