बिल गेट्स र उनको कम्पनी माइक्रोसफ्टलाई आजको दिनमा कसैले चिन्दैन भन्छ भने कि ती मान्छे झुटो बोल्दैछन् वा उनी ढुंगे युगमै बाँचिरहेका छन्। विश्वमा एक अर्बभन्दा बढी मानिस हाल विन्डोज–१० को नयाँ भर्सन प्रयोग गरिरहेका छन्।
माइक्रोसफ्ट यस्तो कम्पनी हो, जसले टाइपराइटरको पुरानो युगबाट मानिसलाई कम्प्युटर युगमा प्रवेश गराएको थियो। अर्थात सूचना प्रविधिमा क्रान्ति ल्याउन यसको भूमिका विशेष मानिन्छ।
आजकै दिन ४ अप्रिल १९७५ मा केटाकेटीका साथी बिल गेट्स र पल एलनले कम्प्युटरको पहिलो सफ्टवेयर माइक्रोसफ्टको निर्माण गरेका थिए। यसअघि अत्याधिक अमेरिकी टाइपराइटरको प्रयोग गर्न विवश थिए।
सन् १९७९ मा न्यु मेक्सिकोबाट माइक्रोसफ्ट कम्पनी वासिङ्टन राज्यमा सरेपछि एउटा ठूलो उन्नत किसिमको प्रविधि कम्पनीको स्थापना भएको थियो। १९८७ मा माइक्रोसफ्टले सर्वसाधारणका लागि सेयर वितरण ग¥यो र ३१ वर्षको उमेरमा गेट्स विश्वको सबैभन्दा युवा अर्बपति बनिसकेका थिए।
गेट्स र एलनले माइक्रोसफ्टको सुरुवात गर्दा यसलाई पहिले माइक्रो–सफ्ट भनिन्थ्यो। अर्थात माइक्रोप्रोसेसर्स र सफ्टवेयरको पहिलो शब्द जोडेर बनाइएको थियो। यतिबेला पर्सनल कम्प्युटर (पीसी) अल्टएयर–८८०० का लागि सफ्टवेयर निर्माण गरिएको थियो।
एलनले बोस्टनमा प्रोग्रामरको जागिर र गेट्सले हार्वर्ड विश्वविधालयको पढाई छोडेर नयाँ कम्पनी निर्माण गरेका थिए। यतिबेला न्यु मेक्सिकोमा अल्टएयर–८८०० को निर्माता एमआइटीएसको काम भइरहेको थियो। सन् १९७८ को अन्त्यसम्म माइक्रोसफ्टको बिक्री १० लाख डलरभन्दा बढी भयो, जसका कारण यी दुबैले कम्पनी सारेर वासिङ्टन पुर्याएका थिए।
कम्पनीले आफ्नो ‘एमएस–डस’ अपरेटिङ सिस्टमलाई आइबीएमको पहिलो पर्सनल कम्पयुटरका लागि लाइसेन्स निकालेका थिए, जुन १९८१ मा गएर लञ्च भयो। यसपछि त अन्य कम्प्युटर कम्पनीले पनि ‘एमएस–डस’ प्रोग्राम खरिद गर्न थाले। यसमा ग्राफिकल इन्टरफेस थिएन, प्रयोगकर्ताले कमाण्ड टाइप गर्नुपथ्र्यो तर प्रोग्राम मजाले चल्थ्यो।
सन् १९८३ मा एलनले माइक्रोसफ्ट छोडे। यतिबेला उनलाई हाडकिङ्स लिम्फोमा डायग्नोज भएको थियो। केही समयको उपचारपछि उनी ठिक भए र अन्य व्यापार व्यवसायमा हात हाले तर माइक्रोसफ्ट फर्किएनन्। सन् १९८५ मा माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम प्रयोगमा ल्यायो। जसको नाम थियो–विन्डोज। यसमा ग्राफिकल इन्टरफेस थियो जसमा ड्रप–डाउन मिनु र अन्य फिचर पनि समावेश थिए। यसको अर्को वर्ष कम्पनीको कार्यालय वासिङ्टनको रेडमण्डमा सारियो। जसको एक कित्ता शेयर २१ अमेरिकी डलरमा निकालिएको थियो। यतिबेला कम्पनी ६१ मिलियन डलर संकलन गर्न सफल भयो।
१९८० को दशकमा माइक्रोसफ्ट बिक्रीको हिसाबले विश्वको सबैभन्दा ठूलो पर्सनल कम्प्युटर सफ्टवेयर कम्पनी बनिसकेको थियो। १९९५ पछि अफिस तथा घरमा पर्सनल कम्प्युटरको प्रयोग तीब्रगतिमा बढ्यो। गेट्सले विन्डोज–९५ को सुरुवात गरे। यसमा स्टार्ट मिनु पहिलो पल्ट प्रयोगमा आयो। विन्डोज–९५ बजारमा आएको पाँच सातामै ७० लाख कपी बिक्री भइसकेको थियो।
सन् १९९० को दशक विकासशील देशमा पनि इन्टरनेटको प्रयोग बढ्यो। यसैले १९९५ मा माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररको नाममा आफ्नो छुट्टै ब्राउजर पनि प्रयोगमा ल्यायो।
१९९८ मा अमेरिकाको कानुन मन्त्रालय र २० राज्यका महान्यायाधीवक्ताले माइक्रोसफ्टविरूद्ध ‘एन्टीट्रस्ट’ कानुन उल्लंघनको आरोप लगायो। माइक्रोसफ्ट माथि प्रतिस्पर्धी कम्पनीलाई प्रतिस्पर्धा गर्न नदिन बजारको मौजुदा अवस्थाको लाभ उठाएको आरोप लाग्यो। यद्यपि २००१ मा यो मुद्धाको फैसला निस्कियो। यसपछि त कम्पनीले एक्सबक्स कन्सोलसँग मिलेर भिडियो–गेम नै बजारमा प्रवेश गरायो।
अहिले माइक्रोसफ्ट कम्पनीलाई माइन्स गरेर कुनै कुराको कल्पना गर्न सकिन्न्। ४६ वर्षअघि गेट्स र एलनको सोचलाई हाल सारा विश्वले पछ्याइरहेको छ।