नेपाली समाजमा अहिले पनि पढाई सकेपछि सरकारी जागिर खानुपर्ने मान्यता छ।
यसमा पनि रसायनशास्त्रमा स्नातकोत्तर (मास्टर्स) गरिसकेका व्यक्तिले के काम गर्लान? यो सबैका लागि कौतुहलताको विषय बन्न सक्ला।
सिरहा नगरपालिका-१७ का धीरेन्द्र साहले १७ वर्षअघि भारतको बिहार राज्यस्थित ललित नारायण मिथिला विश्वविधालयबाट रसायनशास्त्रमा स्नातकोत्तर गरे।
उनी २०६० सालमा पढाई सकेर घर फर्किदा नेपालमा माओवादी आन्दोलन उत्कर्षमा थियो। उनको घरजग्गा तत्कालीन माओवादीले कब्जा गरेको थियो।त्यसैले बीचको केही वर्ष उनी बेरोजगार बनेर दोबाटोमा रुमलिए। यसको तीन वर्षपछि माओवादी शान्ति प्रक्रियामा फर्कियो। यसपछि कब्जा भएको घरजग्गा पनि फर्कियो।
परिवारको कृषिमा राम्रो आम्दानी थियो। खेती पनि मनग्यै हुने। त्यसैले त उनले भारत पुगेर उच्च शिक्षा लिने अवसर प्राप्त गरे। सिरहामा अहिले पनि निकै कम युवाले कलेजको अनुहार देखेका छन्।
अध्ययन सकेर घर फर्किएपछि उनी पनि अरु जस्तै सरकारी जागिर खानेकी कृषि पेशा अंगाल्ने? दोधारमा थिए। उनले परिवारलाई नै साथ दिने अठोट गरे।
एका बिहान उनी कृषि कर्ममा व्यस्त हुन्थे। बाँकी समय घर नजिकैको प्रजु झपुराम उच्च माध्यमिक विधालयमा सानासाना नानीहरूलाई पढाउँथे।पढे-लेखेकै कारण धीरेन्द्रलाई गाउँमा हुने पञ्चायतमा बस्न पनि निम्तो आउने गर्दथ्यो। तर, उनी कहिल्यै यो काममा रमाएनन्। उनलाई यो काम फिटिक्कै मन पर्दैन्थ्यो। देशमा एउटा कानुन हुँदाहुँदै अर्को कानुनको अभ्यास गर्ने शिक्षा पनि लिएका थिएनन्, उनले।
धीरेन्द्र बिहान र साँझ कृषिको काम गरेर दिउँसो विद्यालय धाउँथे। यो क्रम करिब ८ वर्ष एकनासले चल्यो। यस अवधिमा धीरेन्द्रले शिक्षक र अभिभावकबीच समन्वय गराएर विधालयको पढाई सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरे।
उनी जिल्लाका विभिन्न सामाजिक कार्यमा पनि सहभागी हुन थाले। यसै क्रममा खुला दिसामुक्त अभियानसँग जोडिन पुगे। २०७२ सालमा सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडियो) विजय मानन्धरले ‘सिरहा सुवापोखरी सरसफाई अभियान’ सञ्चालन गर्दा उनी यो अभियानमा सक्रिय रूपमा सहभागी भए।
यही अभियानमा सहभागी भएपछि उनको परिचय फेरियो। हाल उनी जिल्लाकै सबैभन्दा प्रभावशाली सरसफाई अभियन्ता बनेका छन्।
उनी त्यो घटनालाई यसरी स्मरण गर्न चाहन्छन्, ‘अभियानको दिन जिल्ला प्रशासन कार्यालयमा सरसफाई कर्ताहरूको बैठक बस्यो। बैठकमा सिडियो बोलिरहनु भएको थियो। मैले प्रश्न गरे- अरुको जस्तै कुरा त होला नि। एक दिन लोकप्रिय काम गरेको भनेर हल्लाखल्ला गर्याे। भोलिदेखि सबै कुरा हराउँछ। तपाईले पनि त्यही त गर्ने होला नि?’
धीरेन्द्रको कुरा सिडियो मानन्धरको मनमा बिझेछ क्यार! उनले सरसरफाई अभियानलाई सक्रिय पार्ने आश्वासन दिए। सिडियोसँगको सहकार्यपछि धीरेन्द्र सरसफाई अभियानमा सक्रिय हुन थाले। यहीबाट सुरु भयो-३८ वर्षीय यी अभियन्ताको यात्रा।
उनी भन्छन्, ‘पहिले मेरो ध्यान आफ्नो जिल्ला कसरी सफा बनाउने भन्ने भयो। यसपछि जिल्लाभरी स्थानीयको सहभागितामा सरसफाई अभियान चलाए। त्यसको केही महिनामै सिरहा खुला दिसामुुक्त घोषणा भयो।’
सिरहा खुला दिसामुक्त जिल्ला बनेपछि उनले आफ्नो अभियानलाई अन्य जिल्लामा फैलाए। उनी यो अभियानलाई अन्य जिल्लामा पु¥याउनुको कारण रोचक रहेको बताउँछन्।
२०७७ सालमा काकीलाई क्यान्सर भएपछि धीरेन्द्र भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगेका थिए। यहाँ उनले लामो समय बिताउनु प¥यो। क्यान्सर पिडित काकीलाई किमो दिनुपथ्र्यो।
बिहान करिब एक घण्टा अस्पतालमा काकीलाई किमो दिएपछि धीरेन्द्र दिनभरी होटलमा खाली बस्थे। उनी लामो समय बिना काम होटेलमा बस्न सकेनन्।
त्यसैले उनले सोही क्षेत्रका स्थानीय युवाहरू बटुलेर क्यान्सर अस्पताल क्षेत्रमा सरसफाई अभियान सुरु गरे। वास्तवमा जिल्ला बाहिर धीरेन्द्रको त्यो नै पहिलो सरसफाई अभियान थियो। उनको यो कार्यको ठूलो प्रसंसा भयो। ‘क्यान्सर अस्पताल क्षेत्रमा विरामीका कुरुवाले फोहोर फालेर दुर्गन्धित बनाउँथे। त्यही फोहोरबाटै अरु रोग लाग्ने जोखिम हुने भएकोले स्थानीयलाई बोलाएर सरसफाई अभियान चलाए,’ धीरेन्द्र भन्छन्।
उनको कामको विरोध गर्ने नभएका होइनन्। केहीले उनलाई अर्को जिल्लाबाट आएर हाम्रो जिल्ला सफा किन गरिस् भनेर धम्काउन पनि खोजे। तर, उनले हिम्मत हारेनन्। फेरि राम्रो कामको जहाँ पनि मूल्यांकन त भइहाल्छ नि।
‘त्यतिबेला भरतपुर महानगरपालिका-७ पूर्ण सरसफाईयुक्त क्षेत्र भनेर घोषणा गरिएको थियो। त्यस कारण फोहोर छ भनेर सरसफाईमा लाग्नु लगत भएको भन्दै स्थानीयले विरोध जनाएका थिए’, उनी सम्झन्छन्।
भरतपुरबाट फर्किएलगत्तै उनले जनकपुरमा पनि सरसफाई अभियान चलाए। यस काममा पनि उनले स्थानीयसँग सहकार्य गरेर रेल्वे क्षेत्रमा भएको फोहोरको व्यवस्थापन गरे।
‘केही महिनामा रेल चल्छ भन्दै हल्ला चलिरहेको थियो। तर, त्यो क्षेत्र भने निकै फोहोर थियो। रेल चल्न थालेपछि विदेशी नागरिक आउँदा नकारात्मक सन्देश प्रवाह होला भन्ने मनमा लाग्यो। त्यसैकारण रेल्वेको सरसफाई गर्याै,’ धीरेन्द्र बताउँछन्।
उनको अभियान हाल देशव्यापी बनेको छ। उनी काठमाडौंमा चल्ने धेरै अभियानमा सहभागी भइसकेका छन्। आफ्नो नेतृत्वमा पनि अभियान चलाएका छन्। हाल उनी तीनकुने सरसफाई अभियानमा सक्रिय छन्।
फोहोर व्यवस्थापनमा नेपालीको बानी निकै खराब भएको उनको अनुभव छ। यो उनको लामो सरसफाई अभियानको अनुभव पनि हो। विशेष गरी सडक छेउमा बढी फोहोर हुने उनको निचोड छ।
‘गाडीबाट मानिसले जथाभावी फोहोर फाल्छन्। त्यसको व्यवस्थापनमा कसैको ध्यान जादैन,’ उनी भन्छन्, ‘अझ सबैभन्दा बढी फोहोरमैला पढेलेखेका मानिस बस्ने ठाउँमा भएको पाइएको छ। शिक्षित मानिस फोहोर व्यवस्थापनमा अनिच्छुक देखिनु सबैभन्दा खराब कुरा हो।’
धीरेन्द्रले अभियानमा हुने खर्च पनि आफै व्यवस्थापन गर्दै आइरहेका छन्। ‘स्थानीय निकायसँग सहयोग माग्दा हामीलाई दिएको रकमभन्दा बढीको बिल बनाएर पेश गर्छन। त्यस्तो अनियमितामा हामीलाई जोडिनु छैन,’ उनले भने, ‘सामाजिक काममा पैसा चाहिन्छ भन्ने छैन। यसमा सबै मानिसले साथ दिए पुग्छ।’
उनलाई अभियानको सुरुका दिन परिवार र समाजबाट राम्रो सहयोग प्राप्त भएन। उनको परिवारले फोहोर व्यवस्थापन गर्ने काम अनपढहरूले गर्ने हो भन्दै उनलाई ‘कन्भिन्स’ गराउन खोज्थे। समाजका अन्य मानिस पनि कुरा काट्थे।
चौतर्फी अवरोध आएपनि उनले आफ्नो अभियानलाई निरन्तर राखे। त्यसैले अहिले विभिन्न संघसंस्थाबाट उनको कामको उच्च मूल्यांकन भएको छ।
उनलाई थुप्रै संस्थाले सम्मान पनि गरेका छन्। परिवारको धारणा पनि विस्तारै परिवर्तन हुन थालेका छन्। पहिले छोरो बिग्रियो भन्ने परिवार अहिले उनको कामबाट गर्वान्वित महसुस गर्न थालेको छ।
आफूले हात हालेको ठाउँमा देखा पर्न थालेको परिवर्तनले उनलाई थप उत्साहित बनाएको छ।