प्रशासकीय अधिकृतको भण्डाफोरः सम्पन्न नभएका योजनाको बिल बनाउँदै पैसा पचाउँदै

तेजन खड्का

उर्लाबारी

छिमेकी नगरपालिकामा तीन पटक प्रमुख प्रशासकीय अधिकृत सरुवा भइसक्दा पनि टसमस नगरी पथरीशनिश्चरे नगरपालिकामा बसेका प्रशासकिय अधिकृत अम्विकाप्रसाद धमला भ्रष्टाचार फन्दामा परेका छन्।

उनीसँगै  उनका प्रमुख मतियार इन्जिनियर कृष्ण कोइराला र सव इन्जिनियर लीलाराज भट्टराई पनि भ्रष्टाचारमा संलग्न रहेको खुलासा भएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धमलासहित इन्जिनियर कोइराला र सबइन्जिनियर भट्टराई तथा चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नवीन ढकाल र कोषाध्यक्ष विनिता देवानविरुद्ध २४ लाख २७ हजार बिगो कायम गरी विहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पोखरी निर्माणको काम सम्पन्न नभई रकम भुक्तानी भएको अनुसन्धानबाट खुलेको छ। उक्त कुराको खुलासा भएपछि कारबाही प्रक्रिया अगाडि बढाइएकोअख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

धमला, कोइराला र भट्टराईले पोखरी निर्माण भइसकेको भनेर गलत कार्यसम्पन्न प्रतिवेदन तयार तथा स्वीकृत गरेको, नगरपालिकाको योजना तथा गलत प्रतिवेदन पेस तथा जाँचपास गरेको, झुटा बिल बनाई स्वीकृत गरेको आरोप छ। यसैगरी, समितिका तीन पदाधिकारीले निर्माण सम्पन्न भएको झुटो विवरण पेस गरी भुक्तानी लिने काममा सहयोग गरेर लाभ लिएको खुल्न आएको छ। 

इन्जिनियर कोइराला करारका कर्मचारी हुन्। उनले कुनैपनि काम सम्पन्न नगरी उपभोक्तालाई पैसा दिन बल प्रयोग गर्ने गरेको पाईन्छ। कोइरालाको जागिर बचाउन प्रमुख प्रशासकीय अधिकृत धमलाले लोक सेवा आयोगसँग दरबन्दी माग गरेको जानकारहरू बताउँछन्।

स्थानीय निकाय गठन भएपछि सबै  पालिकाहरूले अस्थायी इन्जिनियरको दरबन्दी ब्यबस्थापन गरि करारमा कर्मचारी नियुक्ति गरेका थिए।छिमेकी पालिकाहरूले आयोगसँग स्थायी इन्जिनियर माग गरेपछि करारमा नियुक्त भएका सबै इन्जिनियरलाई छुट्टी दिइएको थियो।

पथरीशनिश्चरे नगरले मात्र अस्थायी इन्जिनियरबाट काम चलाइरहेको छ। दरबन्दी माग गर्ने बेलामा धमलाले कोइरालाको बचाउ गरिदिने सर्तमा राम्रै आर्थिक हमला गरेको चर्चा चलेको थियो।

धमलाले छैटौं तहको अधिकृत तारा ढकाललाई वडा कार्यालयमा पठाएका छन् भने नायव सुब्बा सरहका कर्मचारीलाई शाखा प्रमुखको जिम्मेवारी दिएका छन्। वडा नं.१० का सचिव ढकालसँग सामान्य मतभेद हुँदा धमलाले ढकाललाई दरबन्दी नै नभएको वडा कार्यलयमा जान जबरजस्ती पत्र थमाएको कर्मचारीहरूले नै बताएका छन्।

धमलाको बदमाशी यत्तीकैमा सकिएको छैन्।

नगरको ठुलो खर्चमा उनका लागि घर भाडा व्यवस्था गरिएको भएपनि उनी दैनिक जसो विराटनगरस्थित घरमा  जाने आउने गर्छन्। उता प्रत्येक काममा उपभोक्ता समितिसँग  नगद असुल्न थालेपछि सव इन्जिनियर लीलाराज भट्टराईलाई वडा सचिव बनाएर वडा नं. ८ मा पठाइएको छ।

नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बिएल नेपाली सेवासँग भनेका छन्, 'धमलालाई कर्मचारी सरुवा गर्न कुनै कानुन चाहिदैन।'

धमलाले आफ्नो परिवारका दुई जनालाई पनि जागिर लगाईदिइ सके।अर्का एक जनापनि लाइनमा छन्। सबै क्षेत्रमा व्यापक अनियमितता हुँदा पनि नगरका प्रमुख, राजनीतिक दलका नेताहरू भने भागबण्डाको लाभमा तै चुप मै चुप अवस्थामा छन्। 

प्रकाशित मिति: : 2021-04-02 10:24:00

प्रतिकृया दिनुहोस्