
बिएल संवाददाता
पूर्वसभामुख ओनसरी घर्ती र पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुन 'अनन्त'को गाउँ हो– माडिचौर।
उनीहरू दम्पतिपनि हुन्। त्यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सांसद दिपेन्द्र पुन 'सिजल'को गाउँ पनि हो– माडिचौर। जिल्लामा सबैभन्दा धेरै तरकारी उत्पादन हुने ठाउँ पनि हो– माडिचौर। र जिल्लाकै समथर भु–भागपनि।
तर माडिचौर चिन्तामा छ– गाउँले नेतामात्र जन्मायो, विकास जन्माएन भनेर।
‘पूर्वसभामुख र पूर्वअर्थमन्त्रीको गाउँ’ भनेर झ्वाट्ट माडिचौरको नाम सुन्दा निकै विकसित गाउँको दृश्य आउँछ। तर यर्थाथमा केही छैन, त्यस्तो।
गाउँ, समाज र देशको विकास गर्ने आश्वासन दिएर चुनाव जितेका नेताहरूसँग माडिचौरवासीको दुखेसो छ। माडिचौरबाटै नेताहरू देशको अग्रस्थानमा पुगे। तर गाउँको विकासले भने गति लिन सकेन।
शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतका विभिन्न पुर्वाधारका विकासको आधारमा मै गाउँको विकास मापन गरिन्छ। ती सबै पक्षहरूमा माडिचौरको अवस्था अपेक्षाजनक छैन।
स्वास्थ्य
माडिचौरमा अर्को समस्या भनेको अस्पतालको अभाव हो।
जंकोट क्षेत्रमा एउटा मात्र स्वास्थ्य चौकी छ, जुन माडिचौरवासीको लागी टाढा छ। स्वास्थ्य चौकी पुग्नलाई माडिचौरवासीलाई साढे एक घण्टा भन्दा बढि उकालो चढ्नुपर्छ। स्वास्थ्य चौकीपनि गाउँभन्दा माथि डाँडाँमा भएकाले बरु कुरेली र कोर्चावाङ लगाएतका जनतालाई पायक पर्दछ।
स्वास्थ्य चौकी टाढा भएकाले माडिचौरवासी स्वास्थ्य सेवा लिनकै लागी सदरमुकाम कुद्नुपर्छ। यसैपनि जंकोटको उक्त स्वास्थ्य चौकीको अवस्था आफैमा नाजुक छ। स्वास्थ्य चौकीमा महिलाहरूलाई सुत्केरी गराउँदा आवश्यक पर्ने पर्याप्त सामाग्रीहरू छैन।कोहि बिरामी परिहाल्यो भनेपनि माडिचौरवासी कुद्ने भनेकै सदरमुकाम हो। त्यसैमाथि झन् सडकको समस्याले कुनै सवारी साधनको पक्का छैन।
यातायात
सदरमुकामबाट माडिचौरको सम्मको दुरी १३ कि.मी मात्रै छ। तरपनि पक्की हुन सकेको छैन। घामलाग्दा धुलो र पानी पर्दा हिलोको अवस्था छ। पूर्वसभामुख र पूर्वअर्थमन्त्रीको गाउँ भन्दापनि लाजै लाग्ने अवस्था छ।
हिजोआज धुलोले हिँड्न सकिदैन। बर्षातको समयमा झन् हिँड्न गाह्रो हुने स्थानीयहरूको गुनासो छ। वर्षातको समयमा तरकारी बेच्नकै लागी कृषकहरू लुखुर–लुखुर १३ कि.मी हिडेर सदरमुकाम लिवाङसम्म पुग्नुपर्ने बाध्यता छ। सिमलवाङसम्म पक्की र अरु सबै कच्ची बाटो छ। घर आगँनबाटै तरकारी गाडिमा हालेर सदरमुकामसम्म पुर्याउने कृषकहरूको सपना छ।
स्थानीयको गुनासो
पवित्रा खड्का भन्छिन्– ‘वर्षमान पुन र ओनसरी घर्ती मेरो भतिज र भतिजी हुन्। वि.सं ०५३ सालतीर संकटकाल बेला लडाँइ छ भन्दै लुकिछिपी हिड्थे। अचेल अनुहार देखाउँदैनन्। ०६२–६३ साल तीरको आन्दोलपछि उनीहरूले गाउँ नै छाडेर काडामाडौँ गए। काठमाडौँ गएको ४–५ वर्षयता सम्मपनि कहिलेकाहीँ आउने गर्दथे। तर, त्यसयता खासै गाउँ आउदैनन्। आएपनि हेलिकप्टरबाट आउँछन्। हामीलाई के वास्ता? सदरमुकाम जानलाई राम्रो बाटो छैन। बालबच्चाहरू एस.एल.सी दिन बित्तिकै बाहिर पढ्न गइहाल्छन्। गाउँ सुनसान छ।’
रुपा डाँगी भन्छिन्– ‘अहिले त ठुल्ठुला पदमा छन् रे भन्ने सुनेका छौ। गाउँ बिर्सिसके। खासै आउदैनन्। मेरो पेशा भनेको नै कृषि हो। बारीमा टन्न आलु, काउली, टमाटर र खुर्सानी लगाउछु। तर, बजार सम्म पुर्याउनै गाह्रो छ। तरकारी बजारसम्म पुर्याउन दुःख धेरै गर्नुपर्छ। र पनि हातमा भने जस्तो आम्दानी पर्दैन। भन्न त सबैले नेताको गाउँ भन्छन्, बाहिर–बाहिर।’
जगतबहादुर डाँगी भन्छन्– ‘गाउँको समस्या त थुप्रो छ। शिक्षा, स्वास्थ्य, यातायातको समस्या धेरै छन्। एकातीर स्कुलको कक्षाकोठा भवनहरू पुरानो भएका छन्। अर्कोतिर, यहाँ अधिकाशं मान्छेहरू कृषिमा निर्भर छन्। किसानहरूले तरकारी उत्पादन गरिसकेपछिपनि तरकारीलाई बजारसम्म पुर्याउनै कठिन छ। जिल्लाबाट कुन कार्यक्रम कहाँ पर्छ, कति बजेट पर्छ भन्नेमा हाम्रो पहुँच पर्दैन। हामिलाई थाहापनि हुदैन। जिल्लाबाट आएका ठेकेदारहरूलेपनि जहाँ मान्छे बस्ने घर छ, त्यसकै जगलाई असर पुर्याउने गरी नाली खनिदिएका छन्। बर्षातको समयमा घरनै ढल्ला भन्ने डर छ। जसको शक्ति, त्यसकै भक्ति भने जस्तै भएको छ। नेताको गाउँ भनेर के गर्नु? गाउँको बाटो त बनाउन सकेका छैनन्, के देश बनाउँलान्?’
पर्शुराम पुन भन्छन्– ‘हामी सर्वसाधाराणलाई स्वास्थ्यपोचारको लागिपनि सदरमुकाम नै जानुपर्छ। सरकारले पनि स्वास्थ्य चौकी भवनमाथि डाँडाँमा किन बनाएको हो कुन्नी? समस्या त थुप्रै छन्। मान्छेहरू बाहिरबाट नेता नेत्रीको गाउँमा घुम्नलाई आउछन्, तर सधैँ यस्तै हाम्रा दुःख व्यथा सुनेर फर्किन्छन्।’
देशकै अग्रस्थानमा पुगेका व्यक्तिहरूले आफ्नै गाउँको राम्ररी विकास गर्न नसक्दा समग्र देशको विकास गर्छन् भन्नेमा आफन्तीहरूलाई नै विश्वास छैन। गाउँले नेता र नेत्रीमात्र जन्माएको तर विकास जन्माउन नसकेको माडिचौरवासीको गुनासो छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया