नेपालमा प्रचूर संभावना भएको साइकल पर्यटनलाई राज्यले प्रवर्द्धन गर्नुपर्छ: देवेन्द्र बस्न्यात (भिडियोसहित)  

साइक्लिष्ट तथा वातावरणविद् देवेन्द्र बस्न्यातले भर्खरै १२ सय किलोमिटर लामो साइकल यात्रा पूरा गरेर फर्केका छन्। ‘प्याडल फर एजुकेशन’ अभियानमा दाेलखादेखि दिपायलसम्मको यात्रामा उनले थुप्रै अनुभव बटुले। 

१२ दिने उक्त साइकल यात्रामा गर्दा उनले दैनिक करिब सय किलोमिटर साइकल कुदाएका थिए। यात्राका क्रममा धेरै मानिसबाट हौसला पाएको बस्न्यात सुनाउँछन्। उनीले भने, ‘ठाउँ–ठाउँमा विभिन्न नगरपालिका, गाउँपालिका, संघ संस्था, क्लब, साइकलप्रेमी, सञ्चारकर्मी साथीभाइहरुको राम्रो साथ पाएँ। त्यसले मलाई झन उत्साह दियो।’ 


शैक्षिक अभियानलाई ‘हेल्प नेटवर्क’ ले आयोजना गरेको थियो भने प्रवद्र्धनमा सहयोग ‘स्टोरी साइकल’ ले गरेको थियो।

एक हजार दुई सय किलोमिटर लामो साइकल यात्राको उद्देश्य थियो– भूकम्पले भत्काएको दोलखाको राजकुलेश्वर विद्यालय पुनर्निर्माण र डडेलधुराको बहादुर खड्क स्मृति पुस्तकालयको भवन निर्माणका लागि सहयोग जुटाउनु । उनले भने, ‘शिक्षाको लागि साइकल यात्रा गरेको हुँ। धेरै साथीहरुले आर्थिक र भावनात्मक सहयोग गर्नुभयो। म आभारी छु।’

बस्न्यातले आफ्नो स्वर्ण जन्मोत्सवको अवसरमा सामाजिक उद्देश्यका लागि उक्त साइकल यात्रा गरेको जानकारी दिए । फोटोग्राफीका सौखिन बस्न्यात यात्रा–संस्मरण पनि लेख्ने गर्छन् ।


साइकल यात्रा सुरु गर्दा फागुन २८ गते उनलाई संस्कृतिविद् तथा शताब्दीपुरुष सत्यमोहन जोशी, संस्थाका सल्लाहकार तथा पूर्वअर्थमन्त्री शंकर कोइराला लगायतले शुभकामना दिएर बिदाइ गरेका थिए। 

उनले यात्रामा भोगेका नयाँ–नयाँ अनुभव सुनाए, ‘यात्रा साहसिक र चुनौतीपूर्ण थियो। बाटोमा पाएको शुभेच्छुकको हौसलाले १२ सय किलोमिटरको यात्रा पनि जोशमै पूरा भयो । पहाड र तराईको यात्रा भएकाले विभिन्न जातजाति, भेषभुषा, थरिथरिका जीवनशैलीसँग साक्षात्कार भयो । नयाँ अनुभव पनि सँगाल्न पाएँ। यात्रा रोमाञ्चक भयो।’

पहाडी भूभागमा उकालोओरालो पर्ने भए पनि हावापानीका कारण साइकल हाँक्दा आनन्द आउने उनको अनुभव छ । ‘नेपालमा साइकल पर्यटनको प्रचूर संभावना छ । यसलाई सरकार र जनस्तर दुवै तहबाट प्रवद्र्धन गरिनुपर्छ’, उनले सुनाए, ‘तराईमा भू–भाग समथर हुन्छ । एकनाशले प्याडल चलाइरहनुपर्छ जसले गर्दा शरीर निकै थाक्छ। तर, पहाडमा केही समय उकालोमा ज्यान थाके पनि ओरालोमा शरीर पुनः सन्तुलनमा आउँछ।’ 

दाेलखादेखि दिपायलसम्मको १२ सय किलोमिटर लामो साइकल यात्रा पूरा गरेर राजधानी फर्किएका साइक्लिष्ट देवेन्द्र बस्न्यातले बिएल नेपाली सेवाका सुरेन्द्र रानासँग साटेको विस्तृत अनुभव :



‘पेडल फर एडुकेसन’ का अभियन्ता बस्न्यातद्वारा दोलखादेखि दिपायलसम्म साइकल यात्रा पूरा 

१२ सय किलोमिटरको साइकल यात्रामा निस्केका देवेन्द्र बस्न्यात नेपालगञ्ज पुग्दै

साइकलयात्री बस्न्यातलाई काठमाडौंमा भव्य स्वागत तथा बिदाइ (फोटो फिचर)

शिक्षाको लागी १२ सय किमी साइकल यात्रा गर्दै बस्न्यात

प्रकाशित मिति: : 2021-04-06 14:14:00

प्रतिकृया दिनुहोस्