‘पेडल फर एडुकेसन’ का अभियन्ता बस्न्यातद्वारा दोलखादेखि दिपायलसम्म साइकल यात्रा पूरा 

बिएल संवाददाता

काठमाडाै‌ं

‘पेडल फर एडुकेसन’ नाराका साथ साईकल यात्रामा निस्केका प्रख्यात साइक्लिष्ट एवम् वातावरणविद् देवेन्द्र बस्न्यातले १२ सय किमीको साइकल यात्रा शुक्रवार पूरा गरेका छन्।

दोलखादेखि दिपायलसम्म करिब १२ सय किलोमिटर यात्रामा निस्केका उनी शुक्रबार साँझ डडेल्धुराबाट डोटीको दिपायल हुँदै सिलगढी पुगेर यात्रा टुङ्ग्याएका छन्।

सिलगढीको शैलेश्वरी मन्दिरमा पुगेर मनोकांक्षा पुगेकोमा खुशी व्यक्त गरेका थिए। ‘शैलेश्वरी माताको आशीर्वाद लिएँ। अनि औपाचारिक रुपमा यात्रा पूरा गरेँ’ उनले बिएल नेपाली सेवालाई बताए।

दोलखा बजारबाट फागुन २९ गते एक्लै साइकल यात्रामा निस्केका बस्न्यातले धुलिखेल, काठमाडौं, मकवानपुर, चितवन, बुटवल, लालमटिया, लमही, अमेलिया, कुसुम, कोहलपुर, नेपालगञ्ज हुँदै आठौँ दिन चिसापानी पुगेका थिए। 

नवौँ दिनमा चिसापानी, लम्की, अत्तरिया, धनगढी हुँदै साइकल गुडाउँदै पुगेका थिए। अर्को दिन अत्तरिया हुँदै बुडर पुगेका थिए भने ११औँ दिनमा डडेल्धुरा पुगेका थिए।

साइकलयात्री डडेल्धुरामा नगरपालिकाका उप(मेयर संगीता भण्डारीले स्वागत तथा सम्मान गरेकी थिइन्। 

डडेलधुरामा कार्यक्रम एक दिन लम्बिएकोले १३औ दिनमा दिपायल हुँदै शैलेश्वरी मन्दिरको दर्शन गरेर यात्राको औपाचारिक टुंगिएको थियो।  

दिपायल–सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले स्वागत तथा समापन कार्यक्रममा दोसल्ला, ढाकाटोपी र मायाको चिनोले सम्मान गरेका थिए। 

१२ दिनको यात्रामा साइकलयात्री बस्न्यातले दोलाखादेखि दिपायलसम्मको करिब १२०० किमी दूरीको यात्रा साइकल कुदाएर पूरा गरेका छन्।  

उनले औसतमा दैनिकको १०० किमीको दूरी पार गरेको जानकारी दिए। यात्राका क्रममा ठाउँ–ठाउँमा विभिन्न गाउँपालिका, नगरपालिका, संघ–संस्था, क्लब, साइकलप्रेमीहरु, साथीभाइ,  भावनात्मक तथा समाजसेवामा आर्थिक सहयोग गर्ने सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिए। 

'हेल्प नेपाल नेटवर्क' को आयोजनामा गरिएको साइकल यात्राको मुख्य उद्देश्य दोलखाको राजकुलेश्वर विद्यालय र डडेलधुराको बहादुर खडक स्मृति पुस्तकालय भवन निर्माणका लागि सहयोग जुटाउनु हो। 

साइकल यात्री बस्न्यातलाइ फागुन २८ गते काठमाडौंबाट संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशी तथा संस्थाका सल्लाहकार एवम् पूर्वअर्थमन्त्री तथा साहित्यकार शंकर कोइराला, विजय राजभण्डारीले बस्न्यातलाई बिदा गरेका थिए।

दोलाखाबाट २८ फाल्गुणमा सुरु भएको साइकल यात्रा १३ चैतमा दिपायालमा पुगेर टुंगिएको छ। 

‘यात्रा साहसिक थियो,  चुनौतीपूर्ण पनि  तर बाटोमा धेरैको साथ सहयोग पाएकोले थप उर्जा र जोश जागरले यात्रा सफल भयो’ उनले भने, ‘यात्रा निकै रमाइलो भयो, पहाड–तराईको भूभाग छिचोल्दै अनुभव बटुल्न पाइयो।  हरेक ठाउँको अनुभव र मानिस भेटघाट हुने अवसर मिल्यो।’

उनले अरुलाई पनि घुमघाम गर्न सल्लाह दिँदै उनले एक भेगको मान्छे अर्को भेकमा भेट्घाट गर्दै अनुभव साटासाट गर्दै सहयोगको भावनाको (सेन्स अफ च्यारिटी) विकास गर्न पर्ने सुझाव दिए। 

उनले थपे, ‘उमेर छँदै मनमा लागेको र आँटेको काम गर्नुपर्छ ता कि जिवनको उत्तरार्द्धमा पछुताउनुपर्दैन।’

संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीले यात्राको बारेमा निकै चिन्ता र यात्राबारे चासो लिएकोले उनलाई भेट्ने कार्यक्रम पनि रहेको बताए। 

साइकलयात्री आजै दिपायलदेखि काठमाडौं फर्किंदै छन्। काठमाडौंमा थप केही दिन थप कार्यक्रम हुने र यात्राको अनुभव बाँड्ने र औपचारिक रुपमा शैक्षिक अभियान समापन हुने जानकारी उनले गराए।

याे पनि :



१२ सय किलोमिटरको साइकल यात्रामा निस्केका देवेन्द्र बस्न्यात नेपालगञ्ज पुग्दै

साइकलयात्री बस्न्यातलाई काठमाडौंमा भव्य स्वागत तथा बिदाइ (फोटो फिचर)

शिक्षाको लागी १२ सय किमी साइकल यात्रा गर्दै बस्न्यात

 

प्रकाशित मिति: : 2021-03-26 16:30:00

प्रतिकृया दिनुहोस्