एनआरएनए युएईका अध्यक्षले नक्कली बिल बनाएर श्रमिककाे नाममा आएको २० लाख रकम खाएको पुष्टि

कोरोना महामारीका बेला नेपाली श्रमिकहरुको उद्दारका निम्ति अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बाट एनआरएनए युएईलाई प्राप्त रकममा २० लाख हिनामिना भएको पुष्टि भएको छ।

कोभिड १९ को प्रकोपका कारण समस्यामा परेका नेपालीहरुको उद्दारका लागि अन्तर्राष्ट्रिय श्रम संगठनले एनआरएनए आईसीसी मार्फत युएईमा चार चरणमा गरि युएई दिराम २ लाख १६ हजार ५ सय ९१ (नेपाली करिब ७० लाख रुपैयाँ) पठाएको थियो। 

उक्त रकममा युएई दिराम ६२ हजार ७ सय (नेपाली करिब २० लाख) अनियमितता भएको छानबिन समितिले निष्कर्ष निकालेको हाे।

आईसीसीबाट प्राप्त रकममा ठूलो अनियमितता भएको आरोप लागेपछि एनआरएनए केन्द्रिय समितिले गएको १९ फेब्रुअरीमा छानबिन समिति गठन गरेको थियो। 

आईसीसी सदस्य राजु केसीको संयोजकत्वमा गठन गरिएको ६ सदस्यीय छानबिन समितिले गएको आइतवार आईसीसीलाई गोप्य रुपमा छानबिन प्रतिवेदन पठाएको थियो। एनआरएनएका केन्द्रीय पदाधिकारीलाई मात्रै उपलब्ध गराइएको उक्त प्रतिवेदन मंगलबार ‘लिक’ भएको थियो।

छानबिन समितिको प्रतिवेदनमा आईएलओ मार्फत प्राप्त भएको रकममा एनआरएनए युएईका अध्यक्ष प्रकाश कोईरालाले विलहरुको किर्ते तथा छली गरी अनियमितता गरेको उल्लेख छ। परियोजनाको शुरूवातका लागि आवश्यक ल्यापटप, प्रिन्टर, माउस आदि खरिदमा समेत उनले यी सामग्री बिक्रीवितरण नै नगर्ने पसलको बिल बुझाएको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ।

यसैगरी कोइरालाले आफन्त पर्ने प्रवीण पोखरेललाई मासिक ९ सय डलर तलब हुनेगरी स्वयंसेवक संयोजक नियुक्ति गरेका थिए भने अन्य ४ जनालाई मासिक ६ सय डलर पारिश्रमिक दिएर खटाएको प्रतिवेदनमा उल्लेख छ। 

परियोजना संचालनका क्रममा भएका आर्थिक गतिविधिहरुमा उपाध्यक्ष पासाङ शेर्पाको नाम जोडिएको भएपनि अनियमिततामा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाई छ। 

यता एनसिसीका अन्य पदाधिकारीहरु भने आफुहरुलाई आईएलओको परियोजनाको विषयमा अध्यक्षले कुनै जानकारी नै नदिएको बताउँदै आएका छन्।

एनआरएनएको अस्तित्वमा प्रश्न

प्रतिवेदन बाहिरिएपछी युएईमा एनआरएनएको भुमिका र आवश्यकताका विषयमा प्रश्न उठ्न थालेको छ।

निर्माण, सुरक्षा एवम् अन्य सेवामुलक क्षेत्रमा गरि झण्डै ४ लाख नेपाली कार्यरत युएईमा सन २००५ देखि एनआरएनए क्रियाशील छ। संस्थाले यसबिचमा अप्ठ्यारोमा परेका कैयन नेपालीको उद्दार गरेको भए पनि पछिल्लो समय नेतृत्वमा रहेकाहरुको बदमासीका कारण यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको हो। 

एनआरएनए युएईमा अध्यक्षको एक कार्यकाल पूरा गरिसकेका नेपाल एसोसिएसनका वर्तमान अध्यक्ष रमेश श्रेष्ठ पछिल्लो समय एनआरएनएका पदाधिकारीहरु व्यक्तिगत स्वार्थपुर्तिमा लिप्त हुँदै गएको बताउँछन्। संस्थाको अपारदर्शी गतिविधिका कारण युएईमा यसको औचित्य समाप्त हुँदै गएको उनको भनाई छ।

दुबईमा व्यवसायसगैँ सामाजिक गतिविधिमा सक्रिय स्याङ्जाकी आरती शर्मा भन्छिन– “संस्थामा दलाल र मानवतस्करीमा संलग्नहरु हावी हुँदै गएका छन्, यसलाई कसरी सामाजिक संस्था मान्नुर? ”

त्यसो त संस्थाकै जिम्मेवार तहमा रहेका व्यक्तिहरू समेत नेतृत्वको मनोमानीका कारण दिक्क भएको बताउँछन्। एनआरएनए एनसिसिका महासचिव निश्चल दाहालले भने, ‘संस्थामा जे भईरहेको छ, ज्यादै नराम्रो र अशोभनीय हो। तर छिटै हामी यसलाई शुद्धीकरण गरेर अगाडि बढ्छौं। एनआरएनएलाई हामी सबै नेपालीले अपनत्व गर्ने साझा संस्था बनाउँछौँ।’

रोजगारसँगै युएईमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्दै आएकी बुटवलकी  मोनिका नगरकोटी युएईमा एनआरएनए आवश्यकता नै नरहेको बताइन्। एनआरएनएका पदाधिकारीहरु पछिल्लो समय पीडितहरुको उद्दारमा भन्दा आर्थिक उपार्जनमा केन्द्रित भएको उनले बताइन्।
 

प्रकाशित मिति: : 2021-04-05 21:18:00

प्रतिकृया दिनुहोस्