नमस्कार - मेराे नाम कल्पना बुढा हाे। मैले अटाे चलाउन थालेकाे डेढ वर्ष भयाे। जुम्लामा अटाे चलाउने म एक्ली महिला हुँ। याे अवधिमा एकजना अटाे चलाउने महिला नथपिनुले पनि बताउँछ अटाेमा महिलाकाे आकर्षण छैन।
अटाेमा महिलाका आकर्षक नहुनुकाे पछाडिका कारण अनेक हाेलान। तर हामीले सहजै अनुमान लगाउन सक्छौं कि, ड्राइभिङ गर्ने, गाडी, घाेडा चलाउने सबै काम पुरुषकाे पेवा जस्ताे छ। समाजमा अरु यस्ता थुप्रै काम छन् जुन पुरुषले मात्र गर्छन्। महिलाले गर्दा राम्राे नजरले हेरिदैन।
त्यस्ता काम महिलाले गरेपछि हेला बन्नुपर्छ। उसाे त महिलाले मात्र गर्ने काम पनि पुरुषले गर्दैनन्। पुरुषले मात्र गर्ने काम महिलाले गर्दा पनि हेला हुनुपर्छ भने महिलाले मात्र गर्दै आएका काम गर्दा पनि महिला नै हेला हुनुपर्छ।
जस्तै पुरुषकाे काम महिलाले आँटे याे महिला कहीँ नभएकी, राक्षसनी वा बाेक्सिनी जस्ता आराेप लगाइन्छ भने पुरुषले महिलाको काम आँटेकाे खण्डमा महिलाले आफ्नाे काबुमा राखेकाे भनेर महिलालाई नै आराेप लगाइन्छ। सार्वजनिक स्थानलमा महिला हुनु भनेकाे महिलाले लाज पचाएकाे, बिग्रेकाे, याैन धन्दा नै चलाएकाे लगायतका आराेप सहनु सामान्य बनेकाे छ।
म हजार खप्की खाएर पनि अटाे चलाउने पेसामै छु। आज म आफ्नै बारेमा बाेल्न सक्ने अवस्थामा छैन। पेट दुखिरहेकाे छ। मिन्स भएकाे बेला अटाे चलाएर हाेला खप्न अलि गाह्राे भएकाे छ। तर पनि आफ्नै बारेमा बाेल्ने बेला आउँदा माैका किन गुमाउनु जस्ताे लागिरहेकाे छ। यसरी आफ्नाे बारेमा पत्रकारका अगाडि कहिले बाेल्न पाउँला र? पीडा र बेदना पाेख्ने चाैतारी यी पिज गरिएका सडक छेउमा छैनन्। जे भने पनि यही अटाे छ।
म अटाे चलाउने पेसासम्म आइपुग्नुका पछाडि अनेक कारण छन्। ती सबै बताउन लाग्याे भने कुरा मात्रै नाै ढाेका हाेलान। तीन दिन, तीन रात लाग्ला। त्यति समय न तपाइसँग छ, न मसँग। भन्नै पर्याे भने पनि भक्कानाे फुटेर आउँछ। गला अबरुद्ध हुन्छ।
मैले १० कक्षासम्मकाे पढाइ गाउँ नजिकैकाे स्कुुलमा सकाए। उमेर भनाैं वा बैंस मैले रहरैले बिहे गरे। कलिलाे उमेरमा बिहे गर्दा भविष्यमा पछुताे हुने रहेछ। पछुताे नै जीवनभर निकाे घाउ बन्दाे रहेछ। जति बिर्साैं भन्याे त्यति सम्झनामा आउने। अनि बेलाबेलामा झस्काइरहने रहेछ। मेराे जीवन नै अप्ठ्यारो सपना देखेपछि झस्किएर निद्राबाट बिउँझिएकाे मान्छेकाे हालत जस्ताे छ। एउटा डर र सन्त्रास बाेकेर हिडिरहेकी छु।
बिहे लगत्तै बच्चा भयाे। अहिले त बाबु नाै वर्षको भइसक्यो। बच्चाका आँखा जन्मजात कमजाेर थिए। आफ्नाे सन्तानलाई पालनपोषण गर्ने, मिठाे खुवाउने, राम्राे लगाइदिने चाहना कसकाे हुँदैन? मैले पनि राखे। तर दुखकाे कुरा त्यही बेला श्रीमानले मलाई छाेडेर अर्की श्रीमती लिएर इन्डिया गयाे।
मेराे सुरुकाे सपना भनेकाे श्रीमानले कमाएर ल्यावाेस्। म घरमा पकाउन लागु। भाडा माजु। कपडा धुन लागु। बाल बच्चा स्याहार गर्न लागु। चुलाे चाैकाेमा बसु। त्यत्ति थियाे। तर सयमले एकाएक काेल्टाे फेर्याे। मैले साेचेजस्ताे भएन। चुलाे चाैकाेबाट उठेर बाहिर निस्कनु पर्याे।
श्रीमान्सँग डिभाेर्स दिनु बाहेक मसँग विकल्प थिएन। मैले श्रीमान्को घरकाे सम्पत्तिमा कुनै दाबी नगरिकन डिभाेर्स दिए। त्यसबेला मलाई लागेकाे थियाे। समाजले सम्पत्ति लिएर अर्को पाेइ खाेज्न लागि भन्ने आराेप लगाउला भन्ने। उसै त आराेप सहनुबाहेक हामीले गर्न सक्ने केही हुँदैनथ्याे। अचानाेले चाेट सहनु र हामी भनाइ सहनु उस्तै हाे। तर आजभोलि छाेराकाे लागि भएपनि अंश दाबी गर्नुपर्ने रहेछ भन्ने लाग्छ।
त्यसपछि मैले जे गरे सबै छाेरालाई बढाउन र पढाउनका लागि गरे। के के गरे सबै भन्न सकिदैन। कमाइ गर्ने ठाउँ कति खाेजे कति, तर कतै पाइएन। मुटुमाथि ढुंगा राखेर कति काम गर्नुपर्याे। त्यसबेला छाेराे सम्झेर गरे। हाेटलमा बसे। अरुकाे घरकाे खाना पकाउन लागे। भाडा माझ्न लागे। पसलमा काम गरे। उभाे लागिने मेसाे कहिँ फेला परेन। बाध्यताका अगाडि शरीर बेच्नु पनि महिलाकाे लागि फिक्का हुने रहेछ। हजार हन्डर खाएर अगाडि बड्दा कहिले निकै थाकेकाे जस्ताे मान्छु।
तर, म थाक्नु हुन्न भन्ने लाग्छ। बेलाबेला थकाई मार्छु तर आफू मर्दिन। आफू मरे छाेराकाे भविष्य मर्छ। त्यसैले मेरा अगाडि पहाडै आएपनि फाेड्छु भन्ने साहस बटुलेकी छु।
जुम्लामा केही समय हाेटेल गरे। हाेटेल गर्दा पनि चरित्रसँग जाेडियाे। उदाराे खानेले पैसा दिएनन्। उल्टाे थर्काए। बाहिर यीनीहरु याैन धन्दा गर्छन् भनेर आराेप लगाए। त्यसपछि याे ठिक पेसा हाेइन भन्ने लागेर हाेटेल छाेडे। सबैतिरबाट अलिअलि गरेर जम्मा गरेकाे पैसा र ऋण दान गरेर विदेश जानुपर्छ भनेर काेरियन र जापनिज भाषा सिक्न लागे। मेराे पढाइ नभएकाेले स्टुडेन्ट भिसामा जाना नपाउने। वर्किङमा जान पाइन्छ कि भन्ने आश थियाे। त्याे पनि भएन।
विदेश जान ऋण गर्नुपर्ने। त्याे भन्दा कम ऋणमा अटाे आउने। अटाे आएपछि कमाइ राम्रै हाेला भन्ने लागेर नै किने। आफन्त, दिदीबहिनीकाे पैसाले अटाे आयाे। तर अटाे चलाउन पनि सजिलाे त कहाँ छ र? मैले अघि नै भने ड्राइभिङ पुरुषकाे काम भनेर समाजले बुझेकाे छ। समाजकाे विरुद्ध महिला जानु भनेकाे बाेक्सिनी, अलछिनी, राक्षसनी हुनु हाे। समाजकाे यस्तै चस्मा लाएकाे छ। उसकाे चस्माबाट हामी देखिने त्यही हाे। यी सबै सहेर पनि म अटाे चलाउन लागे।
किनकि मैले लगानी गरेकाे सम्पत्ति हाे अटाे। मेराे लागि सबैभन्दा मूल्यवान सम्पत्ति पनि यही अटाे नै हाे। सुरुमा अटाे चलाउने पुरुषले याे महिला अटाे चलाउन जान्दिन भनेर हल्ला फैलाए। त्यही बीचमा जुम्ला बजारदेखि कुडारी सम्म यात्रुहरुलाई सकुशुल पुर्याए। ओहोरदोहोर गराए।
यतिका पुरुषहरु भएकाे ठाउँमा एक्लै अटाे चलाउने याे महिला बिग्रेकोकी हाे भन्छन्। एक सय बीस जना अटाे चलाउने छाैं। त्यसमध्ये दुइ तीन जना बाहेक सबैकाे साेचाइ मप्रति राम्राे छैन। उनीहरु नै मेराे विषयमा नराम्रो हल्ला फैलाउँछन्। मेराे बदनाम गराउँछन्। महिला राम्ररी अटाे चलाउन नजान्ने भए सुर्खेत पुगेर ट्रायल पास गरेर लाइसेन्स कसरी ल्याउँथे? त्यसबेला जुम्लाका चार जनाले मात्र लाइसेन्स पायाैं। त्यसमध्ये म एक हुँ।
एउटै पेसामा भएपछि हामी एउटै परिवारका जस्ता हुनुपर्ने हाे। एक अर्काेबीच आफन्त नातागोता जस्ताे राम्राे सम्बन्ध हुनुपर्ने हाे। आपत विपतमा सहयाेय आदानप्रदान हुनुपर्ने हाे। त्यस्ताे केही हुँदैन। कहिलेकाहीँ बाटाेमा अटाे बिग्रन्छ। आफूले नसकिने पनि हुन्छ। अरुकाे मद्दत माग्नुपर्ने हुन्छ। त्यस्तो बेला अटाे चलाउने पुुरुषकै साहारा चाहिन्छ। महिला छैनन्। सहयाेग उनीहरुकै माग्नुपर्ने हुन्छ। तर उनीहरु याैन आसय राखेर सिधै भन्छन्, 'म त तिम्राे काम गर्दिउँला, तिमी मलाई के दिन्छौ?' कसैले हामीलाई सहयोग गरेकाे बदलामा याैन सम्पर्क गर्न दिनुपर्छ? के हामी पुरुषलाई अरु कुनै माध्यमबाट सहयोग गर्न सक्दैनौं?
यस्ता एकमात्र हाेइन अनेक घटना छन्। हेर्दा सामान्य लाग्ने तर घरमा आएपछि निद्रा नलाग्ने घटना हरेक दिन जसाे भइराख्छन्। अस्ति भर्खरैकाे कुरा हाे। म चारजना प्यासेन्जर लिएर जाँदैथिए। अटाे एकदम कन्डिसनमै थियाे। एक जना अर्काे अटाेवाला आएर ठुलाे स्वरले करायाे, 'बहिनी तिम्राे अटाेकाे चक्का फुत्किन लागेकाे छ। तिम्राे अटाे त एक्सिडेन्ट् हुनेवाला छ।' त्यसपछि प्यासेन्जर एकदम आत्तिए। डराए। उनीहरु निराश भए। उसले जिस्काएकाे हाे। तपाईंहरु नआत्तिनुस् भने। धन्न प्यासेन्जरलाई सान्त्वना दिन सकियाे। नत्र गाह्रो हुने थियोे।
ममाथि यस्ताे भइरहेको छ। धेरैले नराम्रो साेचेपनि एक दुइ जना राम्राे भन्छन्। उनीहरुकै प्रेरणाले म अगाडि बढिरहेकी छु। कम्तीमा मलाई राम्राे साेच्ने त काेही रहेछ जस्ताे लाग्छ। त्यसैलाई मार्गदर्शन मानेकी छु। अब हन्डर खान्छु तर हार खान्न।
सुरुसुरुमा महिलाले राम्ररी चलाउन सक्दैनन् भन्ने हल्ला फैलाउन थालेपछि मैले पुरुषले लगाउने कपडा लगाए। मुख, कपाल सबै छाेपेर पनि अटाे चलाए। तर याे लाइनमा नकराइ प्यासेन्जर पाइदैन। त्यसपछि डर पनि मुर्खकाे डायरीमा मिल्काइदिए।
अझै पनि मलाई कतिले याे। हिजडा हाे की महिला हाे भन्छन्। तर मलाई उनीहरुकाे बाेलीले फरक पार्दैन। म अटाेमै सन्तुष्ट छु। आफ्नाे सम्पत्तिमा कसलाई सन्तुष्टि मिल्दैन हाेला र?
अटाे चलाउन सुरु गरेकाे केही समय राम्राे कमाइ भयाे। पछि लकडाउनकाे बेला कमाइ पुरै राेकियाे। त्यतिबेला नराेकिएकाे भए कमाइ राम्राे हुने थियाे। आजसम्म ऋण सबै फाइनल भइसक्ने थियाे। केही छैन अब तिरिहाल्छु। पहिला भन्दा कमाइ घटेकाे छ। पहिला महिनामा पचास, साठी हजार कमाइ हुन्थ्यो, अहिले तीस चालिस हजार मुस्किलले पुग्छ। तर अहिले मलाई पहिला भन्दा अलि सहज भएकाे छ। याे एक विद्राेह रहेछ, एकएक पाइला गर्दै सफलता मिल्ने। म सफलताको शिखरतिर उन्मुख छु जस्ताे लाग्छ। जसले मेराे छाेराकाे भविष्य सुनिश्चित गरिदिनेछ।