लेक न्याउला बासिजान्ना गुहेली पाकली
डाँडा कुइडो लोटिजालो म सम्राई लागली
वर्षौ अघि भएका घटनाहरुको बारेमा जान्न मन लाग्छ कहिलेकाहीँ। त्यो इतिहास पढ्न मन लाग्छ। तर अधुरो इतिहास, पूर्णरुपमा अध्ययन-अनुसन्धान हुन नसकेका तमाम कुराहरुले एक किसिमको खुल्दुली मचाइदिन्छ।
समय, परिवेश, स्थानसँगै मानव जिन्दगीको तीतो यथार्थ बताउछ त्यही विगतले। यस्तै केही खुल्दुली मेटाउन र केही मात्रामा खुल्दुली बढाउन तय गरिएको यात्रा थियो डोटीको दिपायलदेखि वायलसम्मको।
आषाढ सुरु नहुँदै अझ भनौं जेठको अन्तिम साता। भइसकेको छ वर्षायामको सुरुवात। बेलाबखत जब देखिन्छन् डाँडाकाँडातिर बिस्तारै उडिरहेको बादल। महाकवि कालिदाशद्वारा रचित मेघदूतका केही पंक्ति आइदिन्छन् सम्झना। कालिदाशले आषाढको पहिलो दिनलाई नै सम्बोधन गरेर लेखेका छन् :
तस्मिन्नद्रौकतिचिदबलाविप्रयुक्तः स कामी। नीत्वा मासान् कनकबलयभ्रशरिक्तप्रकोष्ठः।
आषाढष्य प्रथम दिवसे मेघमाश्लिष्ठसानुं। वप्रक्रीडापरिणतगजप्रेक्षणीर्य ददर्श।
(चित्रकुट पर्वतमा आफ्नी स्त्रीलाई सम्झेर दुब्लाएको यक्षले आषाढ सुरु हुने दिन पहाडको टुप्पोमा बादल लागेको देख्यो। मत्ता हात्तीले आफ्ना तेर्सा दाँतले पहाडको ढिस्को उधिने जस्तो थियो त्यो दृश्य।)
त्यस्तै दृश्यको खोजीमा थिए पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाही। बिहानभरि बर्सेर टलक्क टल्केको आकाश। बन्दाबन्दीको समय सुनसान देखिने दिपायल बजार। सुसाइरहेका थिए खोलानाला।
सिरानीका गीतका पंक्तिले भनेझैं डाँडामा हाम फालिरहेजस्ता देखिन्थे बादलका गुजुल्टाहरु। कालिदासले आफ्नी प्रियसी सम्झेझैं डेउडा गीतका माध्यमबाट सम्झे मध्य तथा सुदूरमा पनि कैयौं स्रष्टाहरुले आ–आफ्नी प्रियसीलाई।
यो मौसम र पहाडको बसाइले बेलाबखत मस्तिष्कमा सल्बलाइरहन्थे अनेक किसिमका सम्झनाका धर्साहरु। बाँसका चोया र मानेको पातबाट बनाइएका मुना अर्थात् घुम ओढेर निस्किन्थे मान्छेहरु काममा। केटाकेटीहरु रमाउँथे बर्सातमा। भ्याइनभ्याइ हुन्थ्यो कामले।
लेकमा गुहेला पाक्ने मौसम यही हो। खेतमा ढोल र दमहाका तालमा नाच्दै गाउँदै उल्लासपूर्ण ढंगले रोपाइँ गर्ने समय यही हो। यी सारा दृश्यहरु क्यामेरामा कैद गर्ने उद्देश्यका साथ हाम्रो यात्रा तय हुन्छ सेती किनारै किनार।
पहाडको कच्ची बाटो खाल्डाखुल्डी र हिलोमा मोटरसाइल हुँइक्याउनु चुनौतीपूर्ण थियो यात्रा। पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाही, क्यामेरा मेन अमित बिक र पत्रकार सागर परियार गरी हामी चार जनाको टोली यात्रारत थियौं।
कुनै जादुगरले जादु गरेजस्तो घरि-घाम घरि-बादल, यस्तै थियो मौसम। मौसमजस्तै त छन् जीवनका पाटा पनि। मनका तृष्णा पनि।
विकटका कुनाकाप्चातिर पनि देखिएकै थिए घरहरु। मानव बस्ती। कुन जमानामा कसरी यस्ता ठाउँमा बसोवास गर्न आइपुगे पूर्खाहरु ठानेर बेलाबखत सोचमग्न भैदिन्थ्यो मन। रहस्यले भरिएको प्राणी न हो मानव। कहाँ–कहाँ पुगिरहेको हुन्छ।
मान्छे जहाँ पुगे पनि पहाडको जिन्दगी आत्मीय, लोभ लाग्दो र अर्थपूर्ण देखिन्छ। आफै पहाड जस्तो बनिरहेको जिन्दगीले पाहाडका गौडाहरुमा पाइला चाल्दाको अनुभव छुट्टै थियो। खेती-किसानीमा व्यस्त मनहरु हेरिरहेका थिए 'ड्राेन क्यामेरा' उडाएको दृश्य। गोब्रेकीराझैं आवाज छोड्दै उडिरहेको ड्राेन उनीहरुका लागि अनौठो थियो।
डोटीको नारी दाङ क्षेत्रमा ६४ वर्षीया रामबहादुर बमको सानो चियापसलमा विश्राम गर्दै एकोहोरो हेरिरहन्छु – सेतीमा माछा मार्न जाल बोकेर हिँडिरहेका युवालाई। पुरानो समयको सामान बोक्ने जाबो देख्न पाइयो धेरै वर्षपछि। जुन निकै टिकाउ पनि हुन्छ। कतै मान्छेको काँधमा त कतै घरको निदालमा झुण्डिरहने जाबो जस्तै झुण्डिरहेकै त छ मान्छेको जिन्दगी पनि आशा, कल्पनामा, सम्झना, माया मोह आदिमै।
नारीदाङ त्यो ठाउँ हो जहाँ वि.संं. १८४६ सालमा गोर्खाली फौज र डोटेली सेनाबीचमा घमासान युद्ध भएको थियो। जसको पूर्ण इतिहास लेखिएको छैन। गहन ढंगले अध्ययन र अनुसन्धान हुन सकेको छैन।
मधुवा आउजीले विगुल र नरसिंहाको अन्तिम धुन निकालेको ठाउँ हो, नारी दाङ। यतिखेर कल्पिन्छु मधुवा आउजीको अनुहार। त्यो युद्धको कथा। कल्पना केवल कल्पना मात्र न हो।
डुम्राकोटको चैत पढ्दा धेरै कुरामा तर्क वितर्क गर्न मन लाग्छ। कतिपय अनुमान लगाउन मन लाग्छ। डोट्याली भाषामा व्यक्ति वा घटनाको चरित्र चित्रण गरी सिर्जना गरिएका गीतलाई चैत भनिन्छ। उक्त युद्धको वर्णन गरिएको चैतमा भनिएअनुसार थाहा हुन जान्छ मधुवा आउजीको कथा। नारी दाङको लडाइको कथा।
भानु रे नरसिङु लेई मधुवा आउजी आयो
मधुवा आउजी ले बिकुल बोलायो
मधुवा आउजी ले नरसिङु फुक्यो
बडा राजा रुपा शाहीको बेतकाणु फुट्यो
(भानु, नरसिंहा र विकुल बाजा लिएर रणमौदानमा पुगेका मधुवा आउजीले जब विकुल बजायो। नरसिंहा फुक्यो तब बढा राजा रुपा शाहीको अङ्गमा काँडा फुटे अर्थात जोस बढ्यो।)
कथा भन्छ – हातहतियारले सुसज्जित बहादुर शाहका सेनासँग युद्धमा हामफालेका थिए डुम्राकोटी ठकुरीले। उक्त युद्धमा प्रयोग गरिएका थिए घारका माहुरी, राँगा, गोरु आदि पनि। जहाँ आफ्नो पक्षका लडाकुको मनोबल बढाउन हौसला प्रदान गर्ने हेतुले नरसिंहा र विगुलसहित उपस्थित थिए मधुवा आउजी पनि।
लडाइँ अवधिभर विगुल र नरसिंहा फुकिरहे मधुवा आउजीले। डोटेली सेना सबै काटिएपछि रणमैदानको केही परको ढिस्कोबाट एकोहोरो शत्रुलाई हेरिरहेका मधुवाले सोचेहोलान्, ‘अब मलाई पनि यिनले बाँकी राख्दैनन्। यिनका हातबाट मर्नुभन्दा आफै सेतीमा हाम फालेर मर्छु।’
मधुवा आउजी हातमा बाजा बोकेरै गए सेतीको गहिराइमा। बीच नदीमा पुग्दा जब बग्ने आभास पाए तब हातको नरसिंहा पारिपट्टी किनारमा फाल्न खोज्दा बीचबाट नरसिंहा फुत्केर एक टुक्रा नदीपारि एक टुक्रा नदीवारि खसेछ।
सेतीका छालसँगै बग्दै गएका मधुवा मात्र रहे सम्झनामा। शत्रुका सामु आत्मसमर्पण गर्न चाहेनन् उनले पनि। इमान्दारीता, स्वाभिमानीपन र साहसका बिम्व पनि हुन् मधुवा आउजीहरु। जसले अभावमा जिन्दगी बिताए पनि जानेनन् बेइमानी गर्न।
आफ्ना सन्ततिले भेटाउलान् र लैजालान् भन्ने उद्देश्यका साथ फ्याँकिएको उक्त बाजा उनका सन्ततिसँग हुनसक्ने कुरा बताउँछन् लेखक नेत्रबहादुर शाही। आफूले सुनेको मधुवाको कथा गाउँघरतिर सुनाउँछन् पुराना बृद्धबृद्धाहरु। तर लेखिदैनन् तिनका कथा। युद्धमा मधुवा आउजी जस्ता अरु कति थिए भेटिदैनन् कुनै प्रमाण।
उक्त रणमैदान (जसलाई बाउजेलाको गडो भनिन्छ) छोडेर हामी पुग्छौं माथि डाँडामा अवस्थित बासुदेवीको देउरडी बजारमा।
गाउँमा नयाँ मान्छे आउँदा चाखपूर्ण ढंगले हेर्ने परिपाटी उस्तै थियो। बन्दाबन्दीको समय भए पनि थिएन डर कसैलाई। माक्स लगाएका थोरै अनुहार भेटिन्थे। अधिकांश मानिस निर्धक्कसँग हिँडिरहेका थिए। भोलिपल्ट रोपाइँ गर्नलाई बिउँ उखेलिसकेर खेतका गरामा बसी रोटी चपाइरहेका अनुहार देख्दा याद आइरहन्थ्यो विगतमा त्यसै गरी रोटी चपाएको।
देउरडी बजार व्यापारिक केन्द्र पनि हो। जहाँ अमित बिकले ड्राेन क्यामेरा उडाउन थाल्दा देखापर्छन् एकजना गणेश नामका मायालु बालक। अति नै जिज्ञाशु ती बालक मसँग भनिरहेका हुन्थे, ‘छर मु पनि चिलगाडी चढिबर दिपायल जाने हुँ हाइ। अर्थात म नि चिलगाडीमा चढेर दिपायल जान्छु है सर।’
म त्यो उमेरमा आकाशमा चिलगाडीको आजाज सुन्दा मात्र पनि डरले भित्र लुक्न जाने गर्थें। विगतका दिन सम्झिदै बालकसँग घण्टौँसम्म कुरा गर्न मन थियो तर थिएन समय। हामीले पुग्नुपर्ने थियो मधुवा आउजीको गाउँ।
डा.के.आई. सिंहले बाल्यकाल बिताएको घर, डुम्राकोटस्थित कोट र नवनिर्मित के.आई.सिंह संग्रहालय लगायत बाँकी नै थिए थुप्रै हेर्न लायक ठाउँहरु।
एकातिर जतिजति अघिबढ्यो उति नै सुन्दर दृश्य देखिन थालेका थिए। अर्कोतिर बालकले हल्लाइरहेका थिए हात। बालकको बोली र मुहार सम्झिदा प्रियसीलाई घर छोडी यात्रा गर्दाको जस्तो भैरहेको थियो मन।
अस्तु !
हेमन्त विवसका थप लेखहरु