लैङ्गिक समानताको लागि मौन क्रान्ति- 'सेल्फी विथ डटर'

हेटौंडाकी २२ वर्षीया प्रकृति ढुङ्गेलले भारतको बीबीरपुरमा मुखियाको घरमा छोरीको जन्म हुँदा समाजमा देखिने नकरात्मक सोचको कारणबारे भिडियो बनाइन्। जुन भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो।

लैङ्गिक समानताको पक्षमा बोलेर प्रकृतिले बनाएको उक्त भिडियो टिकटकमा झण्डै एक करोडले हेरिसकेका छन्। भिडियो लामो समयसम्म टिकटकको ट्रेन्डीङमा चल्यो।

प्रकृतिले महिला सशक्तिकरण तथा लैङ्गिक समानताका लागि सुरु भएको अभियान ‘सेल्फि विथ डटर’का बारेमा बनाएकी थिइन्।

लैङ्गिक समानताको बारेमा बोलेकै कारण उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल मात्रै भएन। प्रकृतिलाई ‘सोसियल मिडिया स्टार’ समेत बनायो। प्रकृति नेपालबाट पहिलो पटक ‘सेल्फी विथ डटर’को ‘सोसियल मिडिया स्टार’ बनेकी हुन्।

भारतको बैंङ्गलोर युनिभर्सिटीमा बिबिएसम्मको अध्ययन पूरा गरेकी प्रकृति बाल्यकालदेखि नै छोरा र छोरीबीच हुने विभेदको घोर विरोध गर्थिन्। १२–१३ वर्षको उमेरमा नै विद्यालयमा हुने वक्तृत्वकलाहरुमा लैङ्गिक समानाताको बारेमा खुलेर बोल्थिन्।

घरदेखि समाजसम्म हुने विभिन्न प्रकार लैङ्गिक विभेदले उनको मनमा छुट्टै तरङ्ग पैदा गथ्र्याे। त्यसैले समाजमा लैङ्गिक विभेद अन्त्यको लागि जनचेतना फैलाउनेदेखि बालबालिकालाई सामाजिक कार्यमा सक्रिय गराउने गर्थिन्।

उनी आफै पनि एक उदाहारण हुन्। छोरी भएर सामान्य कुरामा रुमालिनुको साटो आफ्नै योजनामा अध्ययनको लागि भारत पुगिन्। भारत अध्ययनका क्रममा उनले नेपालको तर्फबाट धेरै कुराहरुमा अग्रसरता लिइन्।

प्रकृतिले आफ्नै घरमा पनि लैङ्गिक विभेदका कुरा धेरै पटक सुनिन्। उनकी हजुर आमाले छोरा (प्रकृतिका बुवा)ले लगातर तीन ओटी छोरी जन्माएको भनेर चिन्ता व्यक्त गर्थिन्। घरमा यही विषयले विवाद चलिरन्थ्यो।

उनीहरुको घरमा प्रकृतिको भाइ जन्मिएपछि हजुर आमाको गुनासो समाप्त भयो। तर लैङ्गिक विभेद कायम थियो। त्यसैले प्रकृतिले लैङ्गिक विभेद अन्त्यको लागि केही गर्न चाहन्थिन्। लैङ्गिक समानताको लागि अवाज उठाइरहेका उनी जस्तै धेरैका लागि सन् २०१५ बाट सुरु भएको ‘सेल्फी विथ डटर’ अर्काे राम्रो ‘प्लेटफर्म’ बन्यो।

‘सेल्फी विथ डटर’ लैङ्गिक समानताको लागि सुरु गरिएको एउटा अभियान हो। यसमा छोरीसँग खिचिएको फोटो प्रतिस्पर्धाको लागि सहभागी गराइन्छ। जसमध्ये तीन वटा उत्कृष्ट फोटो ‘सेल्फी विथ डटर’ बनाइने गरिन्छ। यसको तात्पर्यता आफ्नो घरमा छोरीको जन्म हुँदा अभिभावकमा देखिएको खुशीलाई समाजमा देखाउनु तथा छोरा र छोरीबीच समानता कायम गर्नु हो।

९ जुन, २०१५ मा भारतको बीबीरपुरका सुनिल जंगलानको घरमा छोरीको जन्म भयो। सुनिलले अरुभन्दा फरक सोच राखे। छोरी नन्दनीसँग सेल्फी खिचेर पोष्ट गर्दै अरुलाई पनि पोष्ट गर्न आग्रह गरे। त्यसपछि ‘सेल्फी विथ डटर’ सामाजिक सञ्जालमा एउटा अभियानको रुपमा सुरु भयो। त्यसबेला अभियानमा २९४ वटा सेल्फी आए। जुन हरेक सेल्फीमा यो थियो की, म मेरो छोरीको बाबा–आमा हुनुमा गर्व गर्छु। छोरा र छोरीलाई समान व्यवहार गर्छु, भन्ने हेतुले सुरु भयो।

भारतको एक सामान्य गाउँबाट सुरु भएको यो अभियान अहिले  विश्वका ९२ देशहरुमा निक्कै प्रचलित बनिसकेको छ। विश्वका धेरै मानिसहरु यसमा सहभागी भएका छन्।

सुरुमा यो अभियान हिन्दीमा ‘बेटी बचाओ, सेल्फी बनाओ’ नामले चिनिन्थ्यो। यो अभियान महिला सशक्तिकरणको नविन्तम माध्यम भएको भन्दै धेरैले प्रशंसा गर्दै अभियानमा सहभागीसमेत बने।

२८ जुन २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त अभियानको तारिफ गर्दै जनतालाई यसमा सहभागी हुन समेत अनुरोध गरेका थिए। प्रधानमन्त्री मोदीले यसको खुलेर प्रशंसा मात्रै गरेनन्, ‘मौन क्रान्तिको’ नाम समेत दिए।

९ जुन २०१६ हरियाणका स्वास्थ्य मन्त्री अनिल विजले 'अनलाईन म्यूजियम' तथा 'एप्स'काे सुरुवात गरे। ९ जुन २०१७ मा राष्ट्रपति भवनमा तत्कालिन राष्ट्रपति प्रणब मुखर्जिले यसको बारेमा प्रशंसा गर्दै ‘सेल्फी विथ फाउन्डेसन’को सुरुवात पनि गरे।

त्यस्तै, २०१८ मा यसको वेबसाइट बनाएर महिला अधिकार तथा लैङ्गिक समानताका बारेका सामाग्री राखियो। जुन महिलाका हक अधिकारबारे बुझ्न जोकोहीले पनि यसको प्रयोग गर्न मिल्थ्यो।

नेपालमा भने यसको सुरुवात आजभन्दा एक महिना अगाडि वैशाख २६ गते अन्तर्राष्ट्रिय मातृ दिवसको अवसरमा सुरु भएको थियो।

यसले भारतमा आन्दोलनको रुप लिइसकेको छ। जसका कारण दुर्गम गाउँहरुमा पनि छोरी तथा महिलाहरुमा परिवर्तन आउनुका साथै अवसरहरु पनि पाउन थालेका छन्। विश्वका विकसित देशसहित नेपाल जस्ता देशहरुमा पनि यसले केही परिवर्तन ल्याएको छ।

नेपालमा यसलाई व्यापक रुपमा संचालन गर्न सकेको खण्डमा केही परिवर्तन अवश्य पनि ल्याउने छ। प्रकृति जस्ता लैङ्गिक समानता पक्षमा उभिएका धेरै महिलाको लागि यो अभियान एउटा सशक्त माध्यम बनेको छ। घरमा छोरीको जन्म हुँदा समाजमा खुशी साट्ने गतिलो माध्यम बनेको छ। (सबै फाेटाे सेल्फी विथ डटरकाे फेसबुकबाट)

(आजबाट यो अभियानले ६ वर्ष पूरा गरेको छ। जसको अवसरमा भारत र नेपालसहित विश्वभर भर्चुअल कार्यक्रम गरेर वार्षिकोत्सव मनाइदैँछ।) 

प्रकाशित मिति: : 2021-06-09 17:00:00

प्रतिकृया दिनुहोस्