उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेता राजेन्द्र महतोलाई गोली हान्ने धम्की दिएका मधेसी रैथाने समाजका अध्यक्ष उमेश मण्डलसहित ५ जना आइतबार पक्राउ परेका छन्।
उपप्रधान तथा शहरी विकाश मन्त्री नियुक्त भएलगत्तै महतोले संविधान विपरित नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आन्दोलन जारी रहने प्रतिक्रिया दिएका थिए।
महतोको भनाईको देशव्यापी विरोध भएको थियो। मधेसी रैथाने समाजका अध्यक्ष मण्डलले महतोले देशद्रोही वक्तब्य दिएको भन्दै उनको ज्यान लिने धम्की दिएका थिए। उनले महतोको नागरिकताको विषयमा पनि प्रश्न उठाएका थिए।
सिरहा प्रहरीले आइतबार उनीलगायत ५ जनालाई पक्राउ गरेको हो। उनीहरूलाई राष्ट्रिय अनुसन्धान विभागको सूचनाको आधारमा पक्राउ गरिएको श्रोतले बतायो।