काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याइएको छ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साताका लागि थप गर्ने निर्णय गरेको हो।
कारोना संक्रमणको दर नघटेपछि उपत्यकामा जारी निषेधाज्ञालाई थप्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
उनका अनुसार निषेधाज्ञामा तरकारी, फलफूल, माछामासु, दूध र ग्यासको पसल बिहान ९ बजेसम्म पसल खोल्न पाइनेछ। तर किराना पसल र डिपार्टमेन्टल स्टोर भने खोल्न पाइने छैन।
दोस्रो लहरको संक्रमण बढ्दै गएपछि उपत्यका प्रशासनले वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेको थियो।
त्यसपछि निषेधाज्ञा एक हप्ता थप गरेर वैशाख २९ गतेसम्म पुर्याइएको थियो । त्यसपछि पनि पुनः दुई साताका लागि थपिएको थियो।
तर यो अवधिमा पनि संक्रमण दर नघटेपछि फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको हो।