गण्डकी र सुदूर पश्चिम प्रदेशबाट माओवादी प्रदेश–प्रमुख बर्खास्त, गण्डकीमा सीता पौडेल र सुदूर–पश्चिममा गंगाप्रसाद यादव नियुक्त

सरकारले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश–प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले गण्डकीबाट अमिक शेरचन र सुदूर पश्चिम प्रदेशबाट शर्मिला त्रिपाठीलाई हटाएर सो ठाउँमा क्रमशस् पौडेल र यादवलाई नियुक्तिका लागि सिफारिश गरेको हो। 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार नियुक्त दुवै प्रदेश प्रमुखले सोमबारै अपरान्ह सपथग्रहण गरेका छन्। उनीहरुको सपथग्रहण केहीबेर अघिमात्र सकिएको छ  प्रदेश–प्रमुखले प्रदेशमा राष्ट्रपतिको प्रतिनिधिका रुपमा काम गर्ने छन्। प्रदेशसभा विघटन गरी राष्ट्रपतीय शासन लागू भएको अवस्थामा मुख्यमन्त्रीको  जिम्मेवारी समेत बहन गर्नुपर्ने छ। 

नवनियुक्‍त गण्डकी प्रदेशप्रमुख पौडेल चितवनकी हुन्। उनी यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकार थिइन् । पहिलो संविधानसभा सदस्य रहेकी उनी अविवाहित छिन्।

सुदूर पश्‍चिम प्रदेश प्रमुख गंगाप्रसाद यादव पूर्व उपसभामुख हुन्। उनी ओनसरी घर्ती सभामुख हुँदा उपसभामुख थिए।

राप्रपाको तर्फबाट दोस्रो संविधानसभा सदस्य रहेका उनी संविधान जारी भएर संविधानसभा संसद्मा रुपान्तरित भएपछि उपसभामुख भएका थिए। यादव २०७४ असोज २९ मा राप्रपा त्यागेर एमाले प्रवेश गरेका थिए। उनी सिरहा जिल्‍लाका स्थायी बासिन्दा हुन्।

प्रकाशित मिति: : 2021-05-03 17:38:00

प्रतिकृया दिनुहोस्