घाम नभएको भए के हुन्थ्यो होला ?
बादलहरु नभएको भए के हुन्थ्यो होला ? या खोला, नदी, जगंल नभएको भए के हुन्थ्यो होला ?
मानिलिउँ कि, एकैछिन पृथ्वीले नै घुम्न बिर्सिदियो ! के हुन्थ्यो होला ?
यस्ता अराजक थुप्रै प्रश्नहरुको जुलुस छ, मसँग। पहिले थिएन। अहिले छ। अहिले मतलब उसँग भेट भएपछि। 'उ' अर्थात् मध्यरातमा ढोका नक् नक् गर्ने युवती (प्रेमात्मा)।
म उहीँ सुन्दर किचकन्या-प्रेमात्माको कुरा गरिरहेको छु।
अब तपाईले गर्दै गरेको कामलाई एकछिन रोक्नुहोस्। पाँच मिनेटको लागि काम पोष्टपोन्ड गरिदिनुहोस्।
सरकारी अफिसमा हुनुहुन्छ भने, तपाईको सेवाग्राहीलाई एकछिन रोक्नुहोस्। चिया मागाइदिनुहोस्, उसको लागि। उ खुशी हुनेछ। (चियाकाे पैसा भने आफ्नाे खल्तीबाट निकाल्नु पर्नेछ।)
अब यो पढेर सुनाउनुहोस्। जुन मैले लेखिरहेको छु। तपाईले पढिरहनु भएको छ।
कुनै गिफ्ट पसलमा हुनुहुन्छ भने ती उपहारका सामाग्रीलाई आराम गर्न दिनुहोस्, एकछिन्। कुनै प्रेमिल जोडीकाे हत्केलाहरुबाट बचाउनुहोस्। उपहारहरु खुशी हुनेछन्। पाँच मिनेट भए पनि ती उपहारहरु र्याकमै बस्न चाहन्छन्।
कुनै यात्रामा हुनुहुन्छ भने आफ्नै पैतलामाथि दया गर्नुहोस्। कुनै समुद्र छेउमा हुनुहुन्छ भने छालहरुमा आफ्ना गोडा भिजाउनुहोस्। र यो कथा पढेर सुनाउनुहोस्, अघिल्तिरकाे उदास-उदास क्षितिजलाई।
खैर, अब उसको नामको खोजी गरौँ।
मलाई कतै जानु छ, आज। दुई साता भइसक्यो- निमन्त्रणा पत्र आएको। पत्रमा म पुग्नुपर्ने ठेगाना 'बिलासा बगैँचा' उल्लेख गरिएको छ।
बिलासा बगैँचा कता पर्छ ? (यो मलाई थाहा छैन। तर पनि म जादैछु)
निमन्त्रणामा भनिएको छ कि 'निमन्त्रणा पत्र'ले नै 'बिलासा बगैँचा'सम्म पुर्याउछ।
...
म तयार भइसकेँ।
पत्र आफै उड्न थाल्यो। हिँड्न थाल्यो। ( कुनै जादुयी पत्रजस्तो)
मैले उसलाई पछ्याउन थालें। पत्रले विस्तारै मुख्य राजमार्ग छाड्न थाल्यो। मैले पनि छाड्न थालें। मैले पत्रलाई पछ्याइरहेँ। पछ्याइरहेँ। पछ्याइरहेँ।
अन्ततः जंगलभित्र एउटा नयाँ बस्ती भेटियो।
जंगलभित्र बस्ती ? (अचम्म नपर्नुहोस्। तपाई पढ्दै जानुहोस्।)
हो ! जंगलभित्र एउटा सुन्दर र अनौठो बस्ती भेटियो। त्यो बस्ती मानिसको जस्तो सामान्य बस्ती थिएन। बस्तीमा रुखहरु आवाज निकालेर बोलिरहेका थिए। सुकेका पत्करहरु संवाद गरिहरेका थिए। भुँइफूलहरु नयाँ गीतको अभ्यास गरिरहेका थिए। हांगाहरु नयाँ पालुवाहरुलाई जीवनको मार्ग प्रशस्त गर्दै थिए।
मैले सोचेको थिए कि, बिलासा बगैँचा यही हुनुपर्छ। तर होइन रहेछ। यो केवल आकस्मिक रुपमा भेटिएको बस्ती रहेछ। पत्र हावामा अझै अगाडि बढ्यो। म पनि अगाडि बढेँ।
त्यसपछिको जंगल झन्, सुन्दर थियो। अनौठो पनि। (कुनै फ्यान्टासी जस्तो)
अक्सर म शान्त जंगलमा हिँडिरहदा आफैसँग डराउछु। आफ्नै पैतलाहरुको आवाजसँग डर लाग्छ। जंगली किराहरुको खस्र्याक-खुस्रुकसँग डर लाग्छ। डर त मलाई हर-चिजसँग लाग्छ। तर चिन्ता नगर्नुहोस्, तपाई डराउनु पर्दैन। तपाई यतिबेला जंगलमा हुनुहुन्न। तपाई त्यहीँ हुनुहुन्छ, जहाँ तपाई हुनुहुन्छ।
पत्र हावामा उडिरहकै छ। म पछ्याइरहेकै छु। मेरा खुट्टाहरु थाक्न लागिसकेका छन्। मलाई हिँड्न विस्तारै अल्छी लागिरहेको छ। मेरो थकानलाई पत्रले पनि राम्ररी बुझिरहेको छ।
केही गुफाहरुको बाटो भएर हिँडे म, पत्रसँगै। गुफाहरुमा चमेराको साम्राज्य पनि देखेँ। अलि पर हिँडेपछि एउटा अग्लो झरना भेटियो। जहाँ इन्द्रेणीहरु झरनाको फेदीमा बसेर नमाज पढिरहेका थिए। (मस्जिदमा पढ्नुपर्ने नमाज किन जंगलमा? तपाई सोध्न सक्नुहुन्छ। तर म भन्न सक्दिनँ। किनकि यही प्रश्न मेरो पनि हो।)
झरनाको सामुन्नेमा भएको ठूलो ढुंगामा म थचक्क बसे। पत्रले म तिर पुलुक्क हेर्यो। मेराे थकान र अल्छीपनलाई सायद पत्रले बुझेछ। उ पनि छेउमै आएर बस्यो। र भन्यो:
- माइ डियर, थकाई लाग्यो?
- मैले टाउको मात्र हल्लाएँ। (थकानले बोल्न पनि अल्छी लागिरहेको थियो।
- थकानहरुसँग नथाक। (पत्रले फेरि भन्यो।)
- थकानहरु निकै दुःख दिन्छन्। कहिलेकाहीँ थकानलाई विश्राम दिनुपर्छ।
- होइन्, थकानले अल्छी बनाउँछ। र अल्छीपन सबैभन्दा कुरुप चरित्र हो। अँ साच्ची, अल्छीको एउटा कविता सुनेका छौ ?
- अल्छीको कविता?
- हो अल्छीको कविता।
- अल्छीले कुन जाँगरमा कविता लेख्नसक्छ?
- अल्छीले लेखेको हैन। अल्छीहरुको लागि लेखिएको हो, अल्छीको कविता। सुन्न चाहन्छौ ?
- सेयोर! सुन्न चाहन्छु। सुनाउ।
- ल सुन। कविता यस्तो छ:
पहिले मान्छेहरु खुब दौडिन्थे-
भिरहरुमा। पहाडहरुमा। जंगलहरुमा।
विस्तारै मान्छेहरु अल्छि बन्दै गए,
र बाटो बनाएर हिँड्न थाले- गोरेटा र गल्लीहरुमा।
उनीहरु अल्छि बन्न छाडेनन्,
र आफैलाई बोकि हिँड्ने साधन बनाए-
एक पाङ्ग्रे, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे।
उनीहरु निरन्तर अल्छि मात्रै बन्न थाले,
र बनिरहे पनि।
यहाँ सम्म कि,
उनीहरुलाई धैर्य गर्नसमेत अल्छि लाग्न थाल्यो,
अल्छि गर्न पनि अल्छि लाग्न थाल्यो,
र फेरि बनाए, आफैलाई बोकी हिँड्ने विमानहरु।
यो श्रृखंला यसरी बढिरहेको छ कि,
मान्छेहरु भोली झन्-झन् अल्छि बन्दै जानेछन्,
अर्थात नयाँ-नयाँ चमत्कार गर्दै जानेछन्।
यही बीचमा मान्छेहरुको चमत्कारिक अल्छिपना देखेर
कुनै दिन हावाले बहन अल्छि गर्यो भने?
सुर्यले उदाउन अल्छि गर्यो भने?
वा पृथवीले नै घुम्न अल्छि गर्यो भने?
- यो कविताले त प्रश्न मात्रै गर्यो। जवाफ दिएनी न !
- तिमीले सही भन्यौ। यो कविता लेख्नेलाई पनि जवाफ लेख्न अल्छी लागेको रे। यो विश्रामलाई यत्रै छाडौँ। अघि बढौँ, अब। उठौँ। हामीलाई बगैँचा पुग्नुछ।
- अब कति हिँड्नुपर्छ ?
- अब थोरै मात्र। हामी केही मिनेटमै गन्तव्यमा पुग्नेछौ।
- देन ओक्के, लेट्स गो !
झरनाभन्दा अघि लाग्यौँ। केही समय हिँडेपछि हामी सामुन्ने एउटा अस्पष्ट प्रवेशद्वार देखियो। पत्रले मलाई जानकारी गरायो, 'यही हो हाम्रो गन्तव्य- बिलासा बगैँचा।'
- यो कस्तो प्रवेशद्वार हो? पर्खाल बिनाको।
- यो बगैँचाको प्रवशद्वार हो। यो वायुशक्तिमा अडिरहेको छ।
- वायुशक्तिमा ?
- हो वायुशक्तिमा। धेरै प्रश्न नगर। प्रवेशद्वार भित्र छिर बरु।
म अब गन्तव्यमा आइपुगेको छु। जहाँ मलाई पुग्नुपर्ने थियो। जहाँबाट मलाई निमन्त्रणा दिइएको थियो। (पक्कै तपाईंलाई लागिरहेको होला कि, ती सुन्दर युवती (प्रेमात्मा) को थियो? जसले मलाई मध्यरातमा निमन्त्रणा दिएको थियो।)
प्रिय पाठक, बिलासा बगैँचा पुगेपछिको किस्सा म तपाई अर्को साता सुनाउनेछु। म बगैँचाकाे कवच भित्र छिर्दैछु।
उसको नाम के हो? म सोध्नेछु।