नयाँ महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन्। ४८ वर्षीय अधिवक्ता बडालले आइतबार सपथग्रहण गरी जिम्मेवारी सम्हाल्ने छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता बडालकाे नाम महान्यायाधिवक्तामा सिफारिश गरिसकेको प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरे । राष्ट्रपति कार्यालयले आइतबार सपथग्रहणको कार्यक्रम राखेको छ।
सरकारकाे कानूनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता संवैधानिक अंगका प्रमुखहरुमध्ये एक हो। देशभरिका सरकारी वकीलहरु महान्यायाधिवक्ताको मातहत रहन्छन्।
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्ने कानूनी व्यवस्था छ। अग्नि खरेलले शुक्रबार महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए।
अधिवक्ता बडाल नेपाल ट्रेड यूनियन महासंघका उपाध्यक्ष एवम् विदेश विभाग प्रमुख हुन् । श्रम सम्बन्धी कानूनमा विशेष दक्षता राख्ने बडालले कानूनमा स्नातकोत्तर गरेका छन् । उनी संवैधानिक कानूनमा पनि दक्षता राख्छन् । पुर्ख्यौली थलो काभ्रे भएका बडाल हाल काठमाडौंको चावहिलमा बस्छन् ।
पञ्चायतकालदेखि नै वामपन्थी राजनीतिमा सक्रिय थिए । उनको परिवार नै पञ्चायतकालमा तत्कालीन मालेकाे राजनीतिमा संलग्न थियो।
नियुक्तिको सिफारिशलगत्तै बडालले बिएल नेपाली सेवासँग भने, 'प्रधानमन्त्रीले विश्वास गरेर जिम्मा दिनुभएको छ। म पदको गरिमा बढ्ने गरी काम गर्नेछु।'