बाजुराको बुढीगंगा नगरपालिकाले ‘समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी’ भन्ने नारासहित तीन दिने विकास बहसको कार्यक्रम गर्न लागेको छ।
बैशाख २७ देखि २९ गतेसम्म नगरपालिकाको केन्द्रमा आयोजना हुने कार्यक्रममा राजनीतिक दलहरूबीचको सहकार्य, स्थानीय तहको समृद्धि र दिगो विकासका विषयमा व्यापक बहस गरिनेछ।
नगर प्रमुख रामबहादुर बानियाँले नेपाल न्यूज बैंकसँग कुरा गर्दै यो कार्यक्रम बुढीगंगाको समृद्धि र विकासका लागि नयाँ अभ्यासको रूपमा सुरु गरिएको बताए।
प्रमुख बानियाँले भने, ‘बाजुरामा समस्या मात्रै छैन, सम्भावना पनि उत्तिकै छ, विभेद र विवाद मात्र होइन, एकता र अपनत्व पनि छ । संकट मात्रै होइन, अवसरहरू पनि प्रशस्त छन्। यस्तै यथार्थ उजागर गर्न कार्यक्रम आयोजना गरिएको हो ।’
कार्यक्रमको उद्देश्य जिल्लाका सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याएर साझा दृष्टिकोण विकास गर्नु हो। तीन दिनसम्म चल्ने कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा सुरक्षित पूर्वाधार जस्ता पाँच मुख्य क्षेत्रका सम्भावना र चुनौतीबारे गहिरो बहस गरिने जनाइएको छ ।
कार्यक्रमको पहिलो दिन पालिकाबाट ६ वटा विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । प्रस्तुत विषयहरूमा क्षेत्रगत विज्ञ, बुद्धिजीवी र सरोकारवालाहरूले विश्लेषण र छलफल गर्नेछन् । दोस्रो दिन पालिकामा निर्माण सम्पन्न संरचनाहरूको उद्घाटन गरिनेछ ।
तेस्रो दिन कार्यपालिका भवनको उद्घाटनसँगै, बहसका क्रममा आएका सुझाव र टिप्पणीहरूलाई संकलन गरी घोषणापत्र तयार पारिने र त्यसको पुनः लेखन गरिनेछ ।
पालिका उपप्रमुख माया खड्का कुवँरले प्रमुख राजनीतिक दलका सांसद, पूर्व मन्त्री, प्रदेश सभा सदस्य, बुद्धिजीवी, समाजसेवी, पत्रकार, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू सहभागी हुने जानकारी दिइन्।
कार्यक्रममा पूर्व प्रदेश प्रमुख देवराज जोशी, पूर्व मन्त्री कर्णबहादुर थापा, पूर्व सांसद लालबहादुर थापा, संविधान सभा सदस्य पेम्वा गुरुङ भोटे, प्रदेशसभा सदस्य पदम शाही लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ।
स्थानीय तहको विकासका प्राथमिकता, आवश्यकता र समस्यालाई पहिचान गरी त्यसको यथार्थमा आधारित समाधानको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम बाजुरामा विकास र समृद्धिको साझा एजेन्डा निर्माणतर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।