भारतलाई आक्रमणको जवाफ दिन पाकिस्तानी सेनाले ‘अपरेशन बुनयान मरसुस’ सुरु गरेको छ। त्यसलाई उसले भारतको ‘अपरेशन सिन्दूर’को बदला भनेको छ।
मे ७ मा भारतले यही अपरेशनअन्तर्गत पाकिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गरेको थियो। त्यसमा कैयौं आतंककारीहरू मारिएका थिए। यद्यपि त्यसअघि र पछि पनि दुबै सेनाबीच गोली हानाहान भइरहेको छ।
दुबै देशका सेनाले एकअर्को देशमाथि ड्रोन र क्षेप्यास्त्र हानिरहेका छन्। तर त्यसको यकीन विवरणहरू भने दुबैले सार्वजनिक गरिसकेका छैनन्। दुबैले एकअर्काका लडाकु बिमान र ड्रोनहरू नष्ट गरेको जनाएका छन्।
गत अप्रिल २२ मा भारत प्रशासित जम्मु कश्मिरको पहलगाममा आतंककारीहरूले एकजना नेपालीसहित २६ जना पर्यटकको हत्या गरेपछि दुबै भारत र पाकिस्तानीबीच तनाव चुलिएको थियो।
यसबीचमा पाकिस्तानी सेनाका एकजना प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले भारतका तीन सैन्य हवाई शिबिरहरूमा क्षेप्यास्त्र हानेको बताएका छन्।