इरानका सर्वोच्च नेतालाई ‘मार्ने’ आदेश, ट्रम्पले रोके, कहाँ छन् उनी?

इजरायल र इरानबीच चौथो दिन पनि एकअर्काको भूमिमाथि मिसाइल प्रहार जारी छ। दुबै राष्ट्र एकअर्कालाई ‘सिध्याइदिने’ अघोषित युद्ध लडिरहेका छन्। यो बीचमा इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनेईको हत्या गर्न आदेश दिएको समाचारहरूसँगै मध्यपूर्वसहित पूरै विश्व तरंगित भएको छ। 

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार इजरायलको त्यो योजनालाई भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिधै हस्तक्षेप गरेर रोकिदिएका छन्। अहिलेको अवस्थामा खामेनेईको ‘हत्या’ राम्रो उपाय नभएको भन्दै उनले इजरायली प्रधानमन्त्री नेतन्याहूलाई उक्त योजना रोक्न भनेका हुन्। 

यद्यपि यसबारे ट्रम्पले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। एउटा पत्रकार सम्मेलनमा इजरायलका प्रधानमन्त्री नेतन्याहूले पनि यसबारे जवाफ दिएनन्। 

ह्वाइट हाउसले अहिलेको आक्रमणलाई मात्रै इरानका आणविक परियोजनाहरूलाई नष्ट गर्नमा केन्द्रित गर्न पनि भनेका छन्। 

इरानमा आक्रमण गर्नुअघि नेतन्याहूले इरानी नागरिक आफ्नो दुश्मन नभएको भन्दै बरु इरानी जनताकै दुश्मनलाई नष्ट गर्ने आफ्नो योजनामा साथ दिन उनीहरूलाई आह्वान गरेका थिए। र इरानको सत्ता परिवर्तनका लागि तयार रहन पनि इरानी जनतालाई भनेका थिए। 

इजरायलले आक्रमण सुरु गरेसँगै इरानी सर्वोच्च नेता खामेनेईलाई देशकै सबैभन्दा सुरक्षित बङ्करभित्र राखिएको छ। उनको सुरक्षा पनि पहिलाभन्दा निकै कडा पारिएको छ। इजरायले आक्रमण सुरु गरेपछि खामेनेईले इतिहासकै सबैभन्दा खराब परिणामका लागि तयार रहन इजरायललाई धम्की दिएका थिए। 

यसअघि पहिलो इजरायलको पहिलो आक्रमणमै इरानका रिभोलुशनरी गार्डस्‌का प्रमुख हुसेन सलामी समेत मारिएका थिए। त्यस्तै इरानका बरिष्ठ परमाणु बैज्ञानिकहरू फिरेदून अब्बासी र मोहम्मद मेहदी पनि इजरायलको आक्रमणमा मारिएका छन्। अब्बासी इरानको परमाणु उर्जा संगठनका पूर्व प्रमुख हुन् भने मेहदी स्वतन्त्र इस्लामिक विश्वविद्यालयका अध्यक्ष हुन्। 

इजरायली आक्रमणमा मारिएका हुसेन सलामी अहिलेसम्मकै सबैभन्दा उच्च पदस्थ व्यक्ति हुन्। उनी सन् १८० मा इराकसँग युद्ध हुँदा उक्त रिभोल्युशनरीमा प्रवेश गरेका थिए। त्यसपछि उनी त्यही संगठनको प्रमुखसम्म भएका थिए। त्यस्तै आइतबारको आक्रमणमा इरानका अर्का बरिष्ठ अधिकारी पनि मारिएका छन्। इस्लामिक रिवोल्यूशनरी गार्ड्स कोर (आईआरजीसी)का गुप्तचर प्रमुख मोहम्मद कामेजी पनि इजरायलको आक्रमणमा मारिएको इरानले पुष्टि गरेको छ। 
हालसम्म इजरायलको आक्रमणबाट कम्तीमा १५० इरानी सैनिकसहित २५० भन्दा धेरै नागरिकको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्। इजरायलमा पनि दर्जनौं व्यक्ति मारिएका छन्।  
 

प्रकाशित मिति: : 2025-06-16 09:39:00

प्रतिकृया दिनुहोस्