म्यान्मारमा जारी सैन्य दमनविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ।
म्यान्मारको नेपालस्थित दूतावास अगाडि मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा म्यान्मारमा भइरहेको हत्या र दमनविरूद्ध प्रदर्शन भएको हो।
राजनीतिक बन्दीको रुपमा सैन्य हिरासतमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलगायतको विना सर्त अविलम्ब रिहाई गर्नसमेत माग गरिएको छ।
मानव अधिकार र लोकतन्त्रको बहालीका लागि म्यान्मार दूतावास अगाडि प्रदर्शन गरिएको मानवअधिकारकर्मीहरूले बताएका छन्। सैन्य ‘कू’को विरोध प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाकार उत्तम पुडासैनीलगायत नागरिक अगुवाहरूको सहभागिता रहेको छ।