गर्वको जीवन, सन्तुष्ट निधन

हिमाल खबर

काठमाडौं

२२ फागुन २०७४ मा इन्द्रबहादुर राईको देहावसानपछि बीबीसी नेपाली सेवा ले उहाँसितको पोहोर सालको कुराकानी उद्धृत गरेर समाचार बनायो। “... मेरा सबै कृति प्रकाशित छन् वा हुनेवाला छन्, र म एक प्रकारले खुशी व्यक्ति जाँदैछु।

मर्नुभन्दा अघि सन्तुष्ट व्यक्ति पाउनु कठिन छ। म चाहिं त्यो व्यक्ति हुँ, म सक्छु”, सेवा भट्टराईसँगको कुराकानीमा उहाँले भन्नुभएको रहेछ।

मलाई उहाँको निधनको समाचार सुनेर ‘दुःख’ लागेन। ‘उहाँलाई आफ्नो विश्वासको परमधाम मिलोस्’ भन्ने भाव मात्र आयो। बीबीसी अनलाइन मा समाचार पढेपछि त दुःख नलाग्नुको औचित्य पुष्टि भए झैं लाग्यो।

औसतभन्दा बढी बाँचेर, संसारलाई सक्ने जति दिएर र पाउनुपर्ने जति पाएर, जीवनप्रतिको सन्तुष्टि र मृत्युप्रतिको स्वाभाविक विचार सार्वजनिक रूपमा अभिव्यक्त गरेर जानु भनेको सानो कुरा हो र ? उहाँ हामी सबैलाई गर्व लाग्ने जीवन बाँच्नुभएको थियो, जाँदा पनि उमेरका कारण हुने दुःखबिमार बाहेक शानदार तरीकाले नै जानुभयो। उहाँको महाप्रस्थानलाई ‘सुखद निधन’ भने हुन्छ। मैले त भनेँ।

लाग्दैछ, मान्यजनहरूले हामीलाई लामो आयुको आशीर्वाद दिएको वा मान्छेले दीर्घ जीवनको रहर गरेको धेरै वर्षसम्म बाँच्न मात्र होइन। धेरै बाँच्नुको अर्थ हो, लामो समयसम्म संसार देख्नु, हेर्नु, बुझ्नु र बुझेका कुरा अरूलाई भन्नु।
‘दीर्घजीवी हुनू’ भन्ने आसिक हामीले धेरै थरी शब्दमा धेरै पटक पाएका छौं।

अरूलाई पनि दिएका छौं। दशैंको ‘आयुद्रोणसुते...’ देखि ‘चिरायु होस्’, ‘बीसासय वर्षको आयु होस्’ वा अरू शब्दमा र अनेक भाषामा पाइने/दिइने यस्ता आशीर्वादको अर्थ अहिले आएर, खासगरी इन्द्रबहादुर राईको निधनपछि खुले–खुले जस्तो लाग्दैछ मलाई । जीवन हुनु त यस्तो पो हुनु (र जानु त यस्तो सन्तुष्ट भएर पो जानु) !

लाग्दैछ, मान्यजनहरूले हामीलाई लामो आयुको आशीर्वाद दिएको वा मान्छेले दीर्घ जीवनको रहर गरेको धेरै वर्षसम्म बाँच्न मात्र होइन। धेरै बाँच्नुको अर्थ हो, लामो समयसम्म संसार देख्नु, हेर्नु, बुझ्नु र बुझेका कुरा अरूलाई भन्नु।

मान्छेको सभ्यता तयार भएको पनि एउटा पुस्ताले सिके–जानेका, देखे–बुझेका कुरा अर्को पुस्तालाई सचेत रूपमा र अभिलेख रहने गरी भन्न जानेर नै हो।
 

प्रकाशित मिति: : 2021-03-06 08:50:00

प्रतिकृया दिनुहोस्