सडकका गतिविधिबाट अदालत प्रभावित हुँदैन: प्रधानन्यायाधीश

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने बताएका छन्।

बुधबारको सुनुवाइमा रिट निवेदकसमेत रहेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले संसद पुनर्स्थापना हुनै सक्दैन भनी सार्वजनिक कार्यक्रमहरुमा प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति आइरहेकामा त्यसलाई रोक लगाउन माग गरेका थिए।

रिट निवेदकले उठाएको प्रश्नमा प्रधानन्यायाधीश जबराले बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताएका हुन्।

‘उहाँको भनाइले जनतामा भ्रम सिर्जना गर्‍यो। अदालतको क्षेत्राधिकार नाघ्यो। कार्यपालिका प्रमुखले शक्तीपृथकीकरणको सिद्धान्त विपरीत बोल्न हुँदैन,’ न्यौपानेले भने।

उनलाई रोक्दै प्रधानन्यायाधीश जबराले भने, ‘बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ? हुनुहुन्न भने हामी पनि हुन्नौं।’

न्यौपानेले भने, ‘म त छैन।’ जवाफमा संसद विघटनसम्बन्धी रिटमा बहस भइरहेकाले कसले के भन्यो भन्ने कुराले महत्त्व नपाउने उल्लेख गरे।

बुधबार वरिष्ठ अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारीलगायत ६ जनाले संसद पुनर्स्थापना हुनुपर्ने तर्कहरु पेश गरेका थिए।

बुधबारको इजलास पनि हेर्दाहेर्दैमा सकिएको छ। बिहीबार संसद विघटनसम्बन्धी मुद्दा निरन्तर अगाडि बढ्नेछ।

प्रकाशित मिति: : 2021-01-20 16:00:00

प्रतिकृया दिनुहोस्