डा.मिनेन्द्र रिजाल भन्छन्, ‘ओलीको सर्वसत्तावाद धेरै टिक्दैन’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा।मिनेन्द्र रिजालले प्रधानन्त्री केपी शर्मा ओली तानाशाह बन्न खोजेको बताएका छन्। 

शनिबार नेपालगञ्ज नगर कमिटीद्धारा आयोजित सभालाई सम्बोधन गर्दै रिजालले सत्ता टिकाउनको लागि प्रधानमन्त्रीले संसद विघटन गरेको बताए।

‘ओली अहिले काम चलाउ भइसके। संसद पुनःस्थापना र चुनाव जे पनि ओलीको सर्वसत्तावाद सकिन्छ। यो धेरै समय टिक्नेवाला छैन,’उनले भने।

सन्की प्रवृत्तिका ओलीलाई अब कांग्रेस सडकबाटै घुँडा टेकाउने पनि उनको दावी छ।विधान निर्माण कांग्रेस नै पालामा भएको पनि उनले बताए।  

‘अब संविधानको रक्षा गर्ने जिम्मेवारी पनि कांग्रेस कै काँधमा आएको छ।  सत्ता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अप्ठ्यारोमा पारेका छन्,’उनले भने।

संविधान जोगाउन निकै मुस्किल अवस्था सिर्जना भएको पनि उनले उक्त अवसरमा बताएका थिए।   

शनिबार बाँकेका आठ वटै पालिकामा विरोध प्रदर्शन गरिएको थियो।   नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले जिल्लाका आठ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरिएको बताइन्। 

कांग्रेसको केन्द्रीय कार्यक्रमअनुसार नै बाँकेसहित देशभरका पालिकाहरुमा शनिबार विरोध प्रदर्शन गरिएको हो। 

बाँकेका नेपालगन्ज, खजुरा, कोहलपुर, डुडुवा जानकी लगायतका पालिकाहरुमा काँग्रेसले संसद विघटनको विरोधमा प्रदर्शनसहित विरोध सभा गरेको थियो।

प्रकाशित मिति: : 2021-01-16 19:02:00

प्रतिकृया दिनुहोस्