के उमेर पुगेका पुरुष र महिलाबीच यौनबाहेकको सम्बन्ध स्थापित हुनसक्दैन?

करिब तीस वर्षदेखी सम्पर्कबिहिन बनेका मेरा दुई अभिन्न मित्रलाई केही समयअघि फेसबुकले जोडिदियो। 

सामाजिक सञ्जालको सहयोगले सम्पर्कमा आउने ती दुई मित्र हुन, फ्लोरिडा निवासी रमेश थापा र अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका मेरा बालसखा तथा महिला साथी कल्पना केसी (परिवर्तित नाम)। 

पुनः भेटघाट हुने आशा छोडिसकेका यी साथीलाई तीन दशकपछि पुनः फोनबाट कुरा गर्न पाउनु वास्तवमै भाग्यको कुरा हो। लामो ग्यापमा धेरै कुरा परिवर्तन भइसकेको हुन्छ। तर, एकअर्काबीचको भावना गलत छैन भने सम्बन्ध जुन बिन्दुबाट अवरूद्ध भएको छ, त्यही बिन्दुमा आएर पुनः जोडिने रहेछ। यसको ज्वलन्त उदाहरण मेरा यी दुबै साथी भएका छन्। 

यतिबेला पुराना साथीसँग सम्पर्क भएको घटनाले मलाई निकै भाबुक बनाएको छ। उत्साहित पनि छु। मैले यो प्रसंग सरोकार नभएका व्यक्तिहरूसँग पनि गर्ने गरेको छु। तर, अचम्मको कुरा, रमेशसँगको हकमा मानिसहरूले केही प्रतिक्रिया दिँदैनन्। तर, कल्पनाको विषय उठ्यो कि प्रायः मानिसहरू मसँग यौनको विषयलाई जोडेर प्रश्न गर्न थाल्छन्। 

यसले मलाई धेरै नै ‘डिस्टर्ब’ गरेपछि केही समय आफै भित्र घोत्लिए। वास्तवमा मैले यो कुरा तपाईहरूसँग सेयर गर्न खोजेको पनि यो कारणले हो– के उमेर पुगेका पुरुष र महिला राम्रो साथी बन्न सक्दैनन्? हरेक कुरा कामोत्येजनामा ल्याएर किन जोड्ने गरिन्छ? 

मेरो अन्तरआत्माले उमेर पुगेका महिला र पुरुष राम्रो साथी बन्नसक्छन् भन्छ। तर, अरूले के सोच्छन्, त्यो मेरो टाउको दुःखाईको विषय पनि होइन। उमेर पुगेको पुरुष तथा महिलाबीच नातेदारी बाहेक केवल यौनको मात्र सम्बन्ध हुन्छ भन्ने हो भने नातेदारबीच पनि अवैध सम्बन्ध स्थापित भएको थुप्रै उदाहरण छन्। यो कुरा धेरैलाई अपच लाग्नसक्छ। तर, यो यथार्थ हो। 

प्रसिद्ध यौन मनोबिद् सिग्मन फ्रायडको सिद्धान्तलाई विश्वास गर्ने हो भने सबैभन्दा पहिलो यौन आकर्षण आमासँग हुन्छ। 

कालान्तरमा आमासँग छोरा र बाबुसँग छोरी नजिक हुने कारण बिपरित लिङ्गी प्रतिको यौन आकर्षणलाई नै मान्ने गरिन्छ। यद्यपि यो पवित्र सम्बन्ध हो। यस्तो सम्बन्धमा कुनै किसिमको खोट खोज्नु महापाप हो। 

अपवाद्को रूपमा बाबु–छोरीबीच यौन सम्बन्धको समाचार बेलाबखत नआउने होइन। तर, यसले समाजको समग्र रूपलाई परिभाषित गर्दैन।   

फ्रायडवादी धारलाई पछ्याउने लाउरा ब्रेमन, रे ब्रयानचर्ड, मार्टिन पी काफ्का जस्ता यौन मनोविद् हरेक विपरित लिङ्गप्रति कुनै न कुनै रूपमा यौन आकर्षण हुने दावी गर्छन। उनीहरू विपरित लिङ्गीबीच हुने कुराकानी र अन्य गतिविधिलाई पनि यौन कै रूपमा परिभाषित गर्छन। 

शारीरिक सम्बन्धलाई मात्र यौन मान्न नसकिने कुरामा विश्वास गर्ने फ्रायडवादी धारका यौन मनोविद्का अनुसार यौन शब्द आफैमा अश्लिल नभएको कुरा बताउँछन्। यौनलाई अश्लिल मान्नुको कारण यौनजन्य अनैतिक गतिविधिलाई गोप्य राख्न समाजका ठालुहरूले गरेको षड्यन्त्र मात्र रहेको उनीहरूको विचार छ। 

यौनलाई जति दबायो, त्यति बाहिर मुखरित हुने कारण यसलाई खुला बहस गर्नुपर्ने उनीहरूको सोचाई छ। यद्वपि यो खुलापनाको पनि मूल्य, मान्यता र सीमा नभएका होइनन्।

यस्तै फ्रायडवादी धारलाई अस्वीकार गर्ने यौन मनोविद्हरु साण्ड्रा लेलब्लम, हेलन काप्लन, सु जोन्सनहरू भने यौन र यौनजन्य गतिविधि गोप्य नै हुनुपर्ने विचार राख्छन्। 

गोत्र एउटै भए विवाह नहुने, बाबुपट्टिको सात पुस्ता र आमापट्टिको छ पुस्ताबीच विवाह गर्न नहुने, हाडनाता विवाह गर्न नहुने, पूर्वीय संस्कृति सुन्दर भएको र यो नै एकमात्र उचित प्रचलन भएको कुरामा विश्वास राख्ने फ्रायडवादी धारको विपरित धारका यौन मनोविद्को विचार छ। उनीहरूका अनुसार यौन अत्यावश्यक तर गोप्य क्रियाकलाप हो।

हरेक महिला र पुरुषको सम्बन्धलाई यौनजन्य गतिविधि कै रुपमा मात्र हेर्नु बिमारी मानसिकताको उपज भएको र विपरित लिङ्गीको पनि पवित्र मित्रता हुने कुरालाई नकार्न सकिदैन। यद्वपि व्यक्ति, समाज र वातावरण अनुसार यस्तो सम्बन्धका आफ्नै गरिमा र सीमा नभएका होइनन्। सबैभन्दा पहिलो र मुख्य कुरा भनेको नियत हो। एउटा उखान छ नि–आफू भलो त् जगत भलो।
 

प्रकाशित मिति: : 2020-11-25 19:59:00

प्रतिकृया दिनुहोस्