विराटनगरमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको बिहिबार उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार विराटनगर–१० का ५१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार राती करिब ८ बजे मृत्यु भएको हो।
विरामीमा उच्च रक्तचापको समस्या पहिलेबाटै रहेको बताएका आचार्यले असोज २० गते उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। उनलाई असोज २३ गते न्यूरोमा उपचारका लागि भर्ना गरेको उनले बताए।
उपचारकै क्रममा स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबार दिउँसो ३ बजेतिर उनलाई आईसीयूमा भर्ना गरिएको थियो। आईसीयूमा समेत स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरमा राखेर उपचार गराउने क्रममा उनको मृत्यु भएको आचार्यले जानकारी दिए।