बेलायतमा कोरोना संक्रमितको संख्या बढ्दै, सरकारले घाेषणा गर्‍याे नयाँ प्रतिबन्ध

बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनसम्बन्धी नयाँ प्रतिबन्ध घोषणा गरेको छ।  

सोमबार ब्रिटिस संसद् हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमणको जोखिम र संक्रमण दरका आधारमा मध्यम, उच्च र अति उच्च (टियर वान, टु एण्ड थ्री) गरी तीन तहको लकडाउन लागू गरिने घोषणा गरेका हुन्।

बेलायतमा सोमबारमात्र १३ हजार ९ सय ७२ नयां संक्रमित थपिएका छन् भने ५० जनाको ज्यान गएको छ।

बेलायत कोरोना भाइरसको हिसाबले गत साता विश्वमा चौंथो नम्बरमा थियो। विश्व स्वास्थ्य संगठनका डा मार्गरेट हयारिसका अनुसार संक्रमण दरमा बेलायत भारत, अमेरिका र ब्राजिलपछि रहेको हो। गत सातामात्र बेलायतमा एक लाख १० हजार ८ सय २७ नयाँ केस थपिएको थियो।

साँझ ७ बजे उनले टेलिभिजन सम्बोधनमा पनि नयाँ प्रतिबन्धबारे जानकारी गराएका थिए। यद्यपी लकडाउनका नियममा हरेक महिना पुनर्विचार गरिनेछ।  

मध्यम जोखिम भएका ठाउँमा हाल जारी ‘रुल अफ सिक्स’ अर्थात् बाहिर र घरभित्र ६ जनासम्म भेला हुन पाइन्छ भने पब, बार तथा रेस्टुरेन्टहरु राति १० बजेभित्र बन्द गरिसक्नु पर्नेछ। 

अति उच्च जोखिम भएका स्थानमा भने पब, बार, रेस्टुरेन्टलगायत हस्पिटालिटी क्षेत्रहरु बन्द गरिनेछन्। तर पसल, स्कुल तथा विश्वविद्यालय भने खुल्ला रहनेछन्। 

यसैगरी उच्च जोखिम भएका स्थानमा हाल जारी नियमका साथै आफ्नो परिवार बाहेकका मानिससँग भेटघाट गर्न प्रतिबन्ध लगाइनेछ।

इंग्ल्याण्डका धेरैजसो स्थानहरु ‘मध्यम’ जोखिममा रहेको बताइएको छ भने लिभरपुललाई बुधबारदेखि अति उच्च जोखिम क्षेत्रको रुपमा घोषणा गरिने भएको छ। 

संक्रमण बढिरहेको लिभरपुल सिटी क्षेत्रमा करिब १५ लाख मानिसको बसोबास छ।

प्रकाशित मिति: : 2020-10-13 12:19:00

प्रतिकृया दिनुहोस्