आकस्मिक बाहेकका अन्य अप्रेशनहरु हाललाई नगर्नू: स्वास्थ्य मन्त्रालय
सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ।
सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार ब्रिफिङमा सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने बताए।
‘काठमाडौं उपत्यका भित्रका सबै किसिमका सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा व्यवस्था गरी हाललाई स्वास्थ्य सेवा विभागसँग रहेका आइसियू, भेन्टिलेटर, अक्सिजन आदि सघन उपचारका लागि आवश्यक सरसाग्रीहरु उपत्यकाका अस्पतालका लागी व्यवस्थापन गर्ने निर्णय गरेका छाैं,’ उनले भने।
यस्तै अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि उनले बताए। यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन।
यस्तै उनले काठमाडौं उपत्यकाका सबै अस्पतालहरुलाई आकस्मिक बाहेकका अन्य अपरेशन नगर्न निर्देशन दिएका छन्।
प्रवक्ता डा गौतमले भने, ‘आकस्मिक बाहेकका नियमित अप्रेशनहरु हाललाई नगर्न र संक्रमणको अवस्था नियन्त्रण भएपछि मात्रै गर्न उपत्यकाका सबै अस्पतालहरुलाई निर्देशन दिइएको छ।’
उनले यसले कोभिडका विरामीहरुलाई बेडको उपलब्धता, आइसियू र भेन्टिलेटर केही उपलब्ध हुन सक्ने विश्वास रहेको बताए।