कविता

साथ

छायाँको जस्तो अटुट साथ दिन्छु भनेर
प्रेम प्रस्ताव राख्ने 
ए प्रीय मान्छे !
अटुट साथ दिने भए मलाई  
त्यो छायाँको जस्तो साथ त पटक्कै नदिनु, 
छायाँको साथ त 
प्रकाश रहुन्जेल सम्म मात्र हुन्छ।
 
साथ नै दिने भए मलाई,
बरू त्यो आँशुको जस्तो साथ दिनु 
जो हुन्छ 
- सुखमा पनि सँगै।
- दु:खमा पनि सँगै।

मलाई माया गर्ने 
ए प्रीय मान्छे !
यदि आँशुले जस्तो अटुट साथ दिन्छौ भने,  
तयार छु म 
तिम्री वराङ्गना बन्न।

सक्छौ के तिमी 
आँशुले जस्तो साथ दिन ?

सक्छौ भने यदि,
मङ्गलबार आउनु तिमी त्यहीँ पल्पसा क्याफेमा 
जहाँ तिम्रो र मेरो मङ्गलबारकै दिन
पहिलो भेट भएको थियो,
र त्यहीँ दिन मङ्गलकार्यका निम्ति मङ्गलडाँडामा 
एक/एक वटा 'वर पिपल'का बिरुवा रोपेर 
गरौला तिम्रो र मेरो
नवीन सम्बन्धको शिलान्यास।

प्रकाशित मिति: : 2021-04-24 06:23:00

प्रतिकृया दिनुहोस्