सरकारले एयर लिफ्टिङसम्बन्धी मापदण्ड जारी गरेको छ। कोरोना भाइरस संक्रमितको थप उपचारका लागि सहज पार्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एयर लिफ्टिङको मापदण्ड जारी गरेको हो।
मन्त्रालयले जारी गरेको मापदण्डमा गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमितलाई मात्र एयर लिफ्टिङ गरिने र साधारण र मध्यम प्रकृतिका बिरामीलाई नगरिने उल्लेख छ।
‘उपचाररत अस्पतालमा उपचार सम्भव नभएको भनी उपचाररत चिकित्सकले अनिवार्य रूपमा प्रेषण गरेको हुनुपर्नेछ,’ मापदण्डमा भनिएको छ।
मापदण्डमा अगाडि भनिएको छ, ‘विमान अवतरण गर्ने स्थानबाट बिरामीलाई अस्पतालसम्म पुर्याउनका लागि मापदण्ड पुरा गरेका एम्बुलेन्सलाई अग्रिम निश्चित गरेको हुनुपर्नेछ। यसको व्यवस्थापन सम्बन्धित अस्पतालले गर्नुपर्नेछ।’
यस्तै एयरलिफ्ट गर्दा विमानमा एक जना मेडिकल अफिसरसहित कम्तीमा दुई जना स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने व्यवस्था मन्त्रालयले गरेको छ। सोको ब्यवस्था सेवा प्रदान गर्ने कम्पनीले नै गर्नुपर्ने मापदण्डमा उल्लेख छ।
यता संक्रमितको थप उपचारका लागि एयरलिफ्ट गर्नुपरे एयर एम्बुलेन्स वापतको खर्च बिरामीका आफन्तले बेहोर्नुपर्ने मन्त्रालयले जनाएको छ।
‘ एयर लिफ्टिङका लागि चार्टर गरेको विमानको भाडा भुक्तानीको जिम्मेवारी बुकिङ गर्ने व्यक्ति वा उसको हेरचाह गर्ने व्यक्ति वा संस्थाको हुनेछ,’ मापदण्डमा भनिएको छ, ‘चालक दलका कर्मचारी तथा चिकित्सक, स्वास्थ्यकर्मिहरूको विमा तथा जोखिम भत्ताको ब्यवस्था खटाएको निकायले नै गर्नु पर्नेछ।’
यसरी तिर्नु पर्ने भाडा तोकिएभन्दा बढी विमान कम्पनीले लिन भने पाउने छैनन्।
एयर लिफ्टिङ गर्दा जनस्वास्थ्यका मापदण्ड अपनाइ विमान, हेलिकप्टर, एयर एम्बुलेन्सलाई कोरोना भाइरस संक्रमितहरूको ओसारपसार गर्न प्रयोग गर्न सकिने मापदण्डले ब्यवस्था गरेको छ।
विमानमा अक्सिजनका साथै लाइफ सेभिङ मेडिसिनहरू, पर्याप्तमात्रमा पिपिई, स्यानीटाइजर, डिसइन्फेक्टेन्टस् आदिजस्ता औषधि तथा औषधिजन्य सामाग्रीहरू अनिवार्य रूपमा उपलब्ध हुनुपर्ने उल्लेख छ।
विमान चालक दलका कर्मचारीहरू, स्वास्थ्यकर्मी, बिरामी तथा बिरामीका आफन्तले अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अपनाउनु पर्नेछ।
‘विमानबाट बिरामीलाई उतारी सकेपछि विमानलाई नि–संक्रमण गरेर मात्र दोस्रो उडान भर्नु पर्दछ,’ मापदण्डमा भनिएको छ।
सरकारले कोरोना भाइरस संक्रमितहरूलाई एयर लिफ्टिङ गर्न चाहने हवाइ/विमान कम्पनीहरूलाई मन्त्रालयले संक्षिप्त सूचना प्रकाशित गरी सूचिकृत गर्न सक्ने उल्लेख छ। त्यसका लागि मन्त्रालयले व्यवस्था गर्ने छ।
निजी कम्पनीले पनि एयरलिफ्ट गर्न सक्ने भए पनि सरकार मातहातमा रहेको नेपाली सेनाबाट सञ्चालनमा आएका हवाइ/विमान साधनलाई पहिलो प्राथमिकता दिई मन्त्रालय र सेनाको समन्वयमा जतिसक्दो छिटो बिरामीलाई एयर लिफ्टिङ गर्ने ब्यवस्था मिलाउनु पर्ने ब्यवस्थामा उल्लेख छ।