नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ। गएको २४ घण्टामा एक हजार पाँच सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ९० हजार आठ सय १४ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लाे २४ घण्टामा ११ हजार ४७ जनाकाे नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५१ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार तीन सय ४० जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ६७ हजार पाँच सय ४२ पुगेको छ ।
अब नेपालमा २२ हजार सात सय नाै जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय २१ जना क्वारेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौं उपत्यकामा थप १०१७ जना
काठमाडौंमा ७८३ सहित उपत्यकामा थप १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार काठमाडौंका ७८३, भक्तपुरका ११६ र ललितपुरका ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।