बिराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङ कानेपोखरी गाउँपालिका ६ र सुन्दरहरैचा नगरपालिका ४ का पुरुषको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो।
कलेजका प्रबन्धक नारायण दाहालका अनुसार कानेपोखरी गाउँपालिका ६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे मृत्यु भएको हो। मृतकमा ब्लड क्यान्सरको समस्या थियो।
सोमबार दिउँसो उपचारका लागि ल्याइएका उनलाई ज्वरोको पनि आएकाे थियो। पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका उनलाई कोरोना पुष्टि भएपछि आइसोलेसनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।
यता छ दिनअघि कोरोना पुष्टि भएका सुन्दरहरैचा नगरपालिका ४ का ४५ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको दाहालले बताए। मृतकमा मधुमेहको पुरानै समस्या थियो।